लघुकथा: चिताग्नि
“को आएछ?”
“थाहा पाउनु भएन, ऊ त हाँस्दै आएछ। घरआँगन, चोक अनि गल्ली-गल्लीमा कति मीठो मुस्कान, झोलाभरि खुसीको इत्तर छर्दै आएछ। सुगन्ध आएन र?” उनले उपहास गरिन्।
“हैन, के भन्छे यो? को आयो, खै खै?” आमाले पर क्षितिजतिर नजर दौडाउनुभयो।
“पीडामा मलम लगाउन, थकित मनलाई केही विश्राम दिन, दुःख बिर्साउन संस्कृतिको उपमा लिएर ऊ आएछ,” उनले फेरि लिङ्गे पिङमा नजर अड्याइन्।
आमाले भेउ पाउनुभयो र भन्नुभयो, “कति घुमाउरो पाराले भनेकी, अलि छर्लङ्ग भने भइगो त! बुझें क्या, दशैँ भन न दशैँ।” उहाँको ओठमा मन्दहास आयो।
उनले अवगत गराउँदै भनिन्, “आज चाँडै नै भान्सा सकेर मञ्चन हेर्न जानुपर्छ है, बडो कलात्मक हुन्छ। कृत्रिम पात्र उभ्याएर गरिएको नाटक, देवी दुर्गाले असत्यमाथि सत्यले कसरी विजय गरेकी थिइन्? अनि भगवान् श्रीरामले रावणमाथि गरेको विजयको धार्मिक प्रसङ्ग देखाइन्छ।”
उहाँले उत्सुकताले भरिएको नजरले हेर्नुभयो र विचारशील हुँदै भन्नुभयो, “रावण दहनको कार्यक्रममा प्रमुख अतिथि को रहेछन्, हँ?” आमाले जिज्ञासा प्रकट गर्नुभयो।
उनले पुलुक्क हेरिन् र धीर स्वरमा भनिन्, “नेता रे क्या! चिताग्नि त आफ्नैले दिन्छन्।”
त्यसपछि उनी मौन भइन्।
No ads found for this position




Facebook Comment