दैनिक एभोकाडो र आँप खाँदा मुटुको स्वास्थ्यमा उल्लेख्य सुधार: अध्ययन
काठमाडौँ । दैनिक एउटा एभोकाडो र एउटा आँपको सेवनले मुटुको स्वास्थ्यमा सकारात्मक सुधार ल्याउन सक्ने एक वैज्ञानिक अध्ययनले देखाएको छ।
अमेरिकाको इलिनोइस इन्स्टिच्युट अफ टेक्नोलोजीका अनुसन्धानकर्ताहरूले गरेको अध्ययनअनुसार यी दुई फलफूलको नियमित सेवनले रक्तनलीको कार्यक्षमता र रक्तचाप नियन्त्रणमा उल्लेखनीय योगदान पुर्याउँछ।
‘अमेरिकन हार्ट एसोसिएसन’को जर्नलमा प्रकाशित उक्त अनुसन्धानमा प्रि-डायबिटिज (मधुमेह हुनुअघिको अवस्था) भएका तथा तौल सामान्यभन्दा बढी रहेका २५ देखि ६० वर्ष उमेर समूहका ८२ जना वयस्कहरूलाई सहभागी गराइएको थियो।
आठ हप्तासम्म सञ्चालित अध्ययनमा सहभागीहरूलाई दुई समूहमा विभाजन गरी एउटा समूहलाई दैनिक एउटा ह्यास एभोकाडो र एक कप ताजा आँप तथा अर्को समूहलाई सोही बराबर क्यालोरी भएको कार्बोहाइड्रेटयुक्त खाना दिइएको थियो।
अध्ययनको नतिजाअनुसार एभोकाडो र आँप खाने समूहमा रक्तप्रवाहका क्रममा रक्तनलीैलिन सक्ने क्षमता (एफएमडी) ६.७ प्रतिशत पुगेको थियो भने अर्को समूहमा यो सूचक घटेर ४.६ प्रतिशतमा झरेको थियो। यसैगरी, नियन्त्रण समूहका पुरुषहरूमा केन्द्रीय रक्तचाप बढेको पाइयो भने फलफूल सेवन गर्ने समूहका पुरुषहरूमा रक्तचाप घटेको देखियो।
अध्ययनकी प्रमुख अनुसन्धानकर्ता प्राध्यापक ब्रिट बर्टन-फ्रिम्यानका अनुसार एभोकाडोमा पाइने असन्तृप्त बोसो र पोटासियमले खराब कोलेस्ट्रोल एवं रक्तचाप नियन्त्रणमा सहयोग पुर्याउँछन्। त्यसैगरी, आँपमा उपलब्ध भिटामिन ‘सी’ र फाइबरले अक्सिडेटिभ क्षतिबाट जोगाउँदै पाचन र रगतमा चिनीको मात्रा व्यवस्थापनमा मद्दत गर्छन्।
तौल नबढाईकन मुटु तथा रक्तनलीसम्बन्धी रोगको जोखिम घटाउन दैनिक खानपानमा एभोकाडो र आँप समावेश गर्नु सहज र उपयोगी उपाय हुन सक्ने अनुसन्धानकर्ताहरूको निष्कर्ष छ।
No ads found for this position



डिसी नेपाल
Facebook Comment