पार्टी र सरकारबीच समन्वय अभाव छैन, आवश्यक परे खबरदारी गर्छौँ : रवि लामिछाने
चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टी र सरकारबीच कुनै पनि किसिमको समन्वय अभाव नरहेको बताएका छन् । उनले पार्टीले सरकारलाई स्वतन्त्र रूपमा काम गर्न दिने नीति लिएको स्पष्ट पारेका छन् ।
बिहीबार राति सञ्चारकर्मीसँग कुरा गर्दै लामिछानेले पार्टी र सरकारबीच आवश्यकताअनुसार हुने छलफल, सुझाव र स्पष्टता माग्ने अभ्यासलाई असमझदारीका रूपमा बुझ्न नहुने बताए ।
‘समन्वयको कुनै पनि कमी छैन । सरकारलाई मजाले काम गर्न दिनुपर्छ भन्ने पार्टीको धारणा हो,’ उनले भने ।
लामिछानेले सरकार टिकाउन वा पार्टीभित्र एकता कायम राख्न प्रधानमन्त्रीसँगै अर्को व्यक्तिलाई राखेर काम गर्ने अभ्यास आफ्नो पार्टीमा नरहेको पनि स्पष्ट पारे । पार्टी र सरकारले आ–आफ्नो जिम्मेवारीअनुसार काम गर्नुपर्ने उनको भनाइ छ ।
सरकारका निर्णयमा प्रश्न उठेमा पार्टीले स्पष्टता माग्नु स्वाभाविक भएको उल्लेख गर्दै उनले सबै निर्णयमा पार्टीले सहमति जनाउनुपर्ने बाध्यता नरहेको बताए । सरकारका निर्णयको औचित्य पुष्टि गर्ने जिम्मेवारी सरकारकै हुने उनको भनाइ थियो ।
प्रहरी महानिरीक्षक (आईजीपी) को जिम्मेवारी हेरफेरलगायत विषयमा पार्टीले सरकारसँग स्पष्टता मागेको प्रसङ्गमा लामिछानेले सुरक्षा निकायसँग सम्बन्धित निर्णय संवेदनशील हुने भएकाले सरकारले उपयुक्त समयमा त्यसको औचित्य पुष्टि गर्ने बताए ।
सरकारका कामकारबाहीमा सुधार आवश्यक देखिए पार्टीले खबरदारी गर्ने पनि उनले बताए । तर, त्यसलाई पार्टी र सरकारबीचको विवादका रूपमा व्याख्या गर्न नहुने उनको आग्रह छ ।
लोकतान्त्रिक मूल्य र मान्यताप्रति पार्टी स्पष्ट रहेको बताउँदै लामिछानेले आवश्यक पर्दा सरकारलाई सही बाटोमा ल्याउन पार्टीले भूमिका खेल्ने उल्लेख गरे ।
उनले प्रहरी प्रशासन, अदालत, प्रेस काउन्सिल र राष्ट्रिय मानवअधिकार आयोगजस्ता राज्यका संस्थालाई बलियो बनाउनुपर्नेमा जोड दिए । राज्यका निकायलाई संविधान र कानुनले दिएको अधिकारअनुसार काम गर्न दिनुपर्ने तथा अनुसन्धानका विषयमा संस्थागत प्रक्रियामाथि विश्वास गर्नुपर्ने उनको भनाइ थियो ।
No ads found for this position



डिसी नेपाल
Facebook Comment