बैकिङ संकट र जनआक्रोशबीच पाराग्वेका राष्ट्रपति सान्टियागो पेनाद्वारा राजीनामा

डिसी नेपाल
२० कार्तिक २०८३ ११:३७

असुनसियोन। पाराग्वेमा चर्किएको गम्भीर बैकिङ संकट र ३० लाखभन्दा बढी निक्षेपकर्ताको बचत जोखिममा परेपछि उत्पन्न तीव्र जनआक्रोश र महाभियोगको दबाबबीच राष्ट्रपति सान्टियागो पेनाले पदबाट राजीनामा दिएका छन्।

यद्यपि, संसद्ले उनको राजीनामा औपचारिक रूपमा स्वीकृत नगरेकाले उनी हाल पदमै कायम रहेका छन् भने उनीविरुद्ध महाभियोग प्रक्रिया अघि बढाइएको छ।

संकटको सुरुवात पाराग्वेको केन्द्रीय बैंकले गम्भीर पुँजी अभाव देखिएपछि राष्ट्रपति पेनासँग प्रत्यक्ष सम्बन्ध रहेको ‘युएनो बैंक’ लाई आफ्नो नियन्त्रणमा लिएपछि भएको हो। बैंक नियन्त्रणमा लिएसँगै पेन्सनभोगीहरूसहित लाखौँ साना तथा ठूला निक्षेपकर्ताहरू आफ्नो बचत रकम झिक्नबाट पूर्ण रूपमा वञ्चित भएका छन्।

यस घटनापछि क्रुद्ध बनेका हजारौँ नागरिकहरूले राजधानी असुनसियोनस्थित संसद् भवनबाहिर उत्रिएर लगातार विशाल प्रदर्शन गर्दै आफ्नो रकम अविलम्ब फिर्ता गर्न माग गरिरहेका छन्। प्रदर्शनका क्रममा प्रहरी र सर्वसाधारणबीच झडप हुँदा स्थिति नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास र पानीको फोहोरा प्रयोग गरेको थियो।

संसद्का सांसदहरूले बैंकिङ क्षेत्रमा राष्ट्रपति पेनाको प्रत्यक्ष स्वार्थको द्वन्द्व रहेको र उनले पदको दुरुपयोग गरेको गम्भीर आरोप लगाउँदै उनीविरुद्ध सर्वसम्मतिले महाभियोग प्रक्रिया अगाडि बढाएका हुन्।

चौतर्फी दबाबपछि राष्ट्रपति पेनाले सामाजिक सञ्जालमार्फत सार्वजनिक रूपमा जनतासँग माफी माग्दै निक्षेपकर्ताको बचत सुरक्षित राख्नु नै आफ्नो पहिलो प्राथमिकता भएको स्पष्ट पारेका छन्।

बढ्दो तनाव र विवाद समाधानका लागि केन्द्रीय बैंकका अध्यक्ष कार्लोस कार्भालोले पदबाट राजीनामा दिइसकेका छन् भने निक्षेपकर्ताको रकम फिर्ता गर्न पाँच दिनको समयसीमा तोकिएको छ। तर, यी कदमहरूले पनि जनआक्रोश मत्थर पार्न सकेको छैन।

पाराग्वेको संसद्ले शुक्रबारदेखि राष्ट्रपति पेनाविरुद्ध औपचारिक रूपमा महाभियोग सुनुवाइ प्रारम्भ गर्ने तयारी गरेको छ। यदि महाभियोग वा राजीनामा स्वीकृति पछि राष्ट्रपति पद रिक्त भएमा संवैधानिक व्यवस्थाअनुसार उपराष्ट्रपति पेड्रो एलियानाले देशको कार्यवाहक नेतृत्व सम्हाल्नेछन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *