युवालाई स्वदेशमै उद्यमशीलतामा जोड्न पोखराबाट ‘स्टार्टअप नेपाल समिट-२०२६’ सुरु
पोखरा। युवालाई वैदेशिक रोजगारीबाट रोकी स्वदेशमै उद्यम गर्न प्रेरित गर्ने तथा स्थानीय स्रोतसाधन र जनशक्तिको सदुपयोग गर्दै रोजगारी सिर्जना गर्ने प्रमुख उद्देश्यका साथ ‘स्टार्टअप नेपाल समिट–२०२६’ को प्रदेशस्तरीय अभियान पोखराबाट औपचारिक रूपमा सुरु भएको छ।
‘नेपालमा बसौँ, नेपालमै उत्पादन गरौँ र रोजगारी सिर्जना गरौँ’ भन्ने मुख्य नाराका साथ आयोजित यस समिटले सातवटै प्रदेशका व्यावसायिक सम्भावनाहरूको पहिचान गरी स्थानीयस्तरमा उद्यमशीलताको विकास गर्ने लक्ष्य लिएको छ।
समिटकी अध्यक्ष शोभा ज्ञवालीले युवाहरूलाई जागिर खोज्ने परम्परागत मानसिकता त्यागेर अरूलाई पनि रोजगार दिने ‘उद्यमी’ बनाउने अभियानको थालनी गरिएको बताइन्। युवाहरूसँग नवीन सोच र सीप भए पनि लगानी, सही मार्गदर्शन र बजारमा पहुँचको अभावले धेरै सम्भावनाहरू सुरुवातमै टुट्ने गरेको उनले औंल्याइन्।
साथै, उनले व्यवसाय दर्ता प्रक्रियालाई थप सरल बनाउन, स्टार्टअप कर्जा सहज रूपमा उपलब्ध गराउन तथा उत्कृष्ट व्यावसायिक योजना भएका तर धितो नभएका युवाहरूका लागि सहज वित्तीय पहुँचको व्यवस्था मिलाउन सरकारसँग जोडदार आग्रह गरिन्।
कार्यक्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सरकारले प्रदान गर्ने अनुदान र विभिन्न सहयोगलाई अब प्रत्यक्ष रूपमा उत्पादन तथा रोजगारी सिर्जनासँग आबद्ध गर्नुपर्नेमा जोड दिए।
त्यसैगरी, पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले महानगरले युवा लक्षित विभिन्न तालिम, ‘सिड मनी’ (बीउ पुँजी) र व्यावसायिक परामर्श सेवाहरू नियमित रूपमा उपलब्ध गराउँदै आएको जानकारी दिए।
महोत्सवमा बैंक तथा वित्तीय संस्थाका प्रतिनिधिहरूले पनि स्टार्टअप व्यवसायमा वित्तीय पहुँच सहज बनाउने उपाय र सबल व्यावसायिक योजनाको महत्वबारे आफ्ना धारणा राखेका थिए।
देशभरका सातै प्रदेशबाट उत्कृष्ट ४ देखि ५ वटासम्म सम्भाव्य स्टार्टअपहरू छनोट गरी काठमाडौँमा एक भव्य केन्द्रीय सम्मेलनमार्फत उनीहरूलाई प्रोत्साहन गर्ने योजना आयोजकले बनाएको छ।
No ads found for this position



डिसी नेपाल
Facebook Comment