बूढानीलकण्ठमा कृषक सम्मेलन सुरु

डिसी नेपाल
२० कार्तिक २०८३ २२:४५

काठमाडौं। काठमाडौंको बूढानीलकण्ठमा दुईदिने ‘कृषक सम्मेलन तथा कृषि पशु उत्पादन प्रदर्शनी मेला’ सुरु भएको छ। बूढानीलकण्ठ नगरपालिकाको आयोजनामा स्थानीय कृषि तथा पशुजन्य उत्पादनको प्रवर्द्धन, बजारीकरण र उपभोगलाई प्रोत्साहन गर्ने उद्देश्यले आजदेखि दुईदिने कृषक सम्मेलन तथा कृषि तथा पशु उत्पादन प्रदर्शनी मेला सुरु भएको हो।

मेलाको आज बूढानीलकण्ठ नगरपालिकाका प्रमुख मिठाराम अधिकारीले उद्घाटन गरे। कार्यक्रममा उनले चाडपर्वलाई लक्षित गरी बूढानीलकण्ठ नगरपालिकाभित्रका कृषकबाट उत्पादित वस्तुलाई प्रदर्शनी गर्नुका साथै कृषक सम्मेलन आयोजना गरिएको जानकारी दिए।

नगरप्रमुख अधिकारीले नगरपालिकाभित्र उत्पादित स्थानीय तथा रैथाने कृषि र पशुजन्य उत्पादनको प्रवर्द्धन गर्ने उद्देश्यले कृषक सम्मेलन तथा प्रदर्शनी आयोजना गरिएको बताए। मेलामा स्थानीय कृषक तथा उत्पादकले उत्पादन गरेका फूल, फलफूल, तरकारी, दुग्धजन्य पदार्थलगायत विभिन्न कृषि तथा पशुजन्य सामग्रीको प्रदर्शनी तथा बिक्री गरिएको छ।

बूढानीलकण्ठ नगरपालिकाकी उपप्रमुख अनिता लामाले बूढानीलकण्ठ नगरपालिकाले लघु तथा साना कृषक उद्यमीको पक्षमा काम गरिरहेको बताए। उनले कृषकलाई अनुदान प्रदान गर्नेदेखि स्वस्थ्य कृषक कार्यक्रमसमेत नगरपालिकाले अगाडि सारेको उल्लेख गरे।

उनले किसानबाट उत्पादित रैथाने खानाको प्रवर्द्धनमा नगरपालिकाको सहयोग रहने बताए। मेलामार्फत स्थानीय उत्पादनको अवलोकन तथा खरिद गरी स्थानीय कृषक र उत्पादकलाई प्रोत्साहन गर्न नगरपालिकाले नगरवासी तथा सम्पूर्ण उपभोक्तालाई आग्रह गरेको छ। मेला शनिबारसम्म सञ्चालन हुनेछ।

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *