शैलेन्दुप्रकाश नेपालको छन्द कविता ‘युगको यात्री’
नेपाली साहित्यका विविध विधामा निरन्तर समर्पित प्रा.डा. शैलेन्दुप्रकाश नेपाल एक जना परिष्कृत कवि, खण्डकाव्यकार, महाकाव्यकार, बालसाहित्यकार, समालोचक एवं कुशल सम्पादक हुन्।
शास्त्रीय छन्दको साधना, प्राज्ञिक अनुसन्धान र साहित्यिक आन्दोलनमा उनको भूमिका विशिष्ट मानिन्छ। उनको बहुआयामिक योगदान र हालै प्रकाशित छन्दोबद्ध कवितासंग्रह ‘युगको यात्री’ का विषयवस्तुहरूलाई पाठकीय हेराइ र बुझाइबाट यहाँ सिलसिलाबद्ध रूपमा उल्लेख गर्ने कोसिस गरिएको छ।
प्रथमतः अनुज स्रष्टाप्रति उनको स्नेही भाव र सम्पादकीय योगदानको सन्दर्भ सबैभन्दा पहिले मेरा मस्तिष्कमा आउँछ। यसैबीच ‘संवेदनाका स्वरहरू’ संयुक्त निबन्ध संग्रहको ऐतिहासिक सन्दर्भ यहाँ जोडिन्छ। २०५२ सालमै प्रकाशित हुनुपर्ने सो संयुक्त निबन्ध संग्रह प्रकाशनमा ढिलाइ हुन गयो।
यसको कारण थियो सम्पादन र भूमिका लेखनको दायित्वको अभाव। यद्यपि ‘संवेदनाका स्वरहरू’ को भूमिका लेखन र सम्पादनको महत्त्वपूर्ण जिम्मेवारी सम्हालेर उनले चार जना समकालीन निबन्धकारहरू (श्रीओम श्रेष्ठ रोदन, युवराज नयाँघरे, भीष्म उप्रेती र ज्ञानेन्द्र विवश) लाई ठूलो गुन लगाउनुभएको थियो।
साहित्यिक सहकार्य र निरन्तरताको क्रममा २०५४ सालमा प्रकाशित उक्त ऐतिहासिक कृतिको २५औँ वार्षिकोत्सव (रजत महोत्सव) मनाइँदासम्म पनि उनीप्रतिको श्रद्धा र सम्मान उत्तिकै जीवन्त रहेको छ।
यसले नयाँ र समकालीन स्रष्टाहरूलाई प्रोत्साहन गर्ने, अभिभावकत्व प्रदान गर्ने र साहित्यिक सहकार्यमा सधैँ तत्पर रहने उनको उदार व्यक्तित्व हो भन्ने पुष्टि गर्छ। यहाँ यो कुरा किन पनि उल्लेखनीय हुन आउँछ भने उनको यही सहयोगी भावना, अनुज पुस्ताप्रति दर्शाएको प्रेम र लिएको जिम्मेवारी स्मरणीय रहिरहनेछ।
यति कुरा उल्लेख भइसकेपछि अब उनको नयाँ कृति ‘युगको यात्री’ कविता संग्रहमाथि केही समीक्षात्मक टिप्पणी पेस गर्दैछु। छन्दोबद्ध काव्य सिर्जनामा कमै संलग्नता रहिआएको सन्दर्भमा यो कृति निकै गहकिलो ओज र अस्तित्वका साथ सार्वजनिक भएको छ। प्रस्तुत ‘युगको यात्री’ सङ्ग्रहको कवितासूची (८० भन्दा बढी शीर्षकहरू) अध्ययन गर्दा उनको काव्यचेतना विविध आयामहरूमा बाँडिएको पाइन्छ।
राष्ट्रप्रेम, प्रकृति र माटोप्रतिको अनुराग कवि शैलेन्दुप्रकाशमा भरमार छ। उनी यति कोमल, कमनीय भावधारामा सरस, सरल र प्राञ्जल मृदु मुस्कानमय शब्द–व्यञ्जन पस्किँदै पाठकको मन जित्न अग्रसर हुन्छन्। उनका काव्यपंक्तिमा भेटिने सुस्वादु शब्दचयन र तिनमा अनुभूतिको मिठास चखिलो लाग्छ। हरेक काव्यानुभूति हृदयको धडकन बनेर सम्प्रेषित छन्। ती मन र मुटुबाट अभिव्यक्त भएका छन्।
राष्ट्रिय भावनामा भाँती पुर्याएर छन्दको उठान र शब्दको मिलन गरिएको छ। जहाँ पाठकले पढ्नुको आनन्द र शब्द–संसारको सानो झ्यालबाट विश्व चियाउन सक्छ। यसरी ‘मेरो देश र म’, ‘प्यारो गोरखा’, ‘माटाको माया’, ‘युवा उद्गार’, ‘नेपाली आकांक्षा’, ‘मेरो भोजपुर’, ‘मेरो झण्डा’, ‘स्वाभिमान’, ‘भाषा’ र ‘नयाँ नेपाल’ जस्ता शीर्षकहरूमा स्रष्टाको जन्मभूमि, प्रकृति प्रेम, देशको भूगोल र राष्ट्रिय अस्मिताप्रतिको अगाध प्रेम छचल्किएको छ।
यसैगरी कवि शैलेन्दुप्रकाश नेपालको सामाजिक चेतना, राष्ट्रियता र युगबोधजन्य कविताको ताँती पनि लामै छन्। ‘युवा, राष्ट्रको ज्योति’, ‘युगको यात्री’, ‘श्रमिक’, ‘लोकतन्त्र र निरंकुशता’ र ‘राष्ट्रियता’ जस्ता कविताहरूले समकालीन समाज, राजनीतिक अवस्था र युगका चुनौतीहरूलाई सम्बोधन गर्दै युवा वर्गलाई दायित्वबोध गराएका छन्। उनका कविताका यी भावनामा अनुभूतिको गहिराइ भेटिन्छ। समयको चेतना पाइन्छ। साधनाको प्रखर भाव र सिर्जनाको जीवन्त पहिचान देखिन्छ।
यसैगरी मानवीय संवेदना, जीवनदर्शन र आत्मानुभूति जनाउने उनका कविताले जीवनको सत्य सुझाउँछन्। जीवनधर्म र कर्मको सन्देश प्रदान गर्छन्। आजको आवश्यकता भन्नु पनि यही मानवीय संवेदनाको हो।
किनभने हिजोआज मानवीय संवेदना मर्दै गएको छ। अहम्, घृणा, आक्रोश र विद्रोहको भावका साथै मान्छेले मान्छेलाई नचिन्ने, नगन्ने स्वभाव विकसित भइरहेको छ। यस सन्दर्भमा उनको काव्यचेत एक फड्को चेतनाको बीउ छर्न अग्रसर हुन्छ।
यसबाहेक पारिवारिक सम्बन्ध र आत्मीयताको विषयगत सन्दर्भमा समेत काव्यिक अनुभूतिको प्रकाश जाज्वल्यमान भएर फैलिएको छ। जस्तै- ‘छोरीप्रति’, ‘प्रिय साथी’, ‘श्रद्धाञ्जली’, ‘बधाई नवप्रसूतालाई’ र ‘फूल र मान्छे’ जस्ता शीर्षकहरूमा पारिवारिक स्नेह, संवेदना र मानवीय सम्बन्धका कोमल पक्षहरूको सुन्दर अभिव्यक्ति छ।
यसरी नै कला, सिर्जना र सांस्कृतिक धरोहरका विषयमा पनि उनको काव्यचेत प्रबल रूपमा अभिव्यक्त छ। ‘मेरी कविता’, ‘सिर्जनाको गीत’, ‘भाषा’, ‘पृथ्वीनारायण’ र ‘बुद्ध-सन्देश’ जस्ता रचनाहरूले साहित्य साधना, भाषाप्रतिको समर्पण र ऐतिहासिक-सांस्कृतिक गौरवको स्मरण गराउँछन्।
अन्ततः प्रा.डा. नेपालको ‘लेखकीय’ मन्तव्यमा भएझैँ ‘कविता जीवनको लयात्मक अनुभूति हो’ भन्ने मान्यतालाई ‘जिन्दगी’, ‘पानी’, ‘बाँच्नुपर्छ’, ‘मान्छे बन्न सकिन्छ’ र ‘जीवन’ जस्ता शीर्षकहरूले चरितार्थ गरेका छन्। यिनमा जीवनका आन्तरिक सत्य र दार्शनिक चिन्तन पाइन्छन्।
वास्तवमा छन्दोबद्ध कविता लेख्नुभनेको सामान्य सिर्जना होइन, हुँदैन। तर उनले यही विधालाई आत्मसात् गरी छन्दमय भावधारामा सरल किसिमले अनुभूतिको नदी बगाएका छन्। अनुष्टुप, शार्दूलविक्रीडित र उपजाति छन्दमा बढी कविता रचिएका छन्।
यीबाहेक मौक्तिकमाला, पञ्चचामर, भुजङ्गप्रयात, मन्दाक्रान्ता, प्रिया, द्रुतविलम्बित, स्रग्विणी, इन्दिरा, इन्द्रवज्रा जस्ता छन्दमा लेखिएका कविता पनि उत्तिकै सशक्त छन्। हुन तो कविता पढ्नुभन्दा सुन्नुको आनन्द बेग्लै हुन्छ। त्यसमाथि छन्दमय भावमा रचित कविता पढ्नुको तृप्ति पनि कम मीठो हुँदैन।
अपितु, संस्थागत तथा अनुसन्धानमूलक नेतृत्वमा समेत उनको संलग्नता, सहभागिता यहाँ उल्लेखनीय हुन्छ। ‘पूर्णप्रकाश नेपाल यात्री अध्ययन तथा अनुसन्धान केन्द्र’ को संस्थापक अध्यक्षका रूपमा प्राज्ञिक खोज–अनुसन्धानलाई अघि बढाउनुका साथै ‘हिमाली सौगात’ पत्रिकाको सम्पादन/प्रकाशनमार्फत उनले साहित्यिक पत्रकारितामा समेत स्थायी छाप छोड्दै आएको कुरा स्मरणीय हुन्छ।
प्रा.डा. शैलेन्दुप्रकाश नेपाल एकतिर शास्त्रीय छन्दको उँचो साधना गर्ने र विधागत विविधता (कविता, बालसाहित्य, समालोचना) मा कलम चलाउने सशक्त स्रष्टा हुन् भने अर्कातिर अनुज स्रष्टाहरूका लागि गतिलो जग हाल्दिने प्रेरक सम्पादक र मार्गदर्शक पनि हुन्। ‘संवेदनाका स्वरहरू’ देखि हालै प्रकाशित ‘युगको यात्री’ सम्म आइपुग्दा उनको साहित्यिक यात्रा निरन्तर निष्ठा, आत्मीयता र सिर्जनात्मक ऊर्जाले ओतप्रोत देखिन्छ।
यस्ता आदरणीय स्रष्टाको कलमबाट अरू धेरै छन्द कविताको निरन्तरताको कामना गर्नु अहिले समीचीन लाग्छ। हार्दिक बधाई छ प्रा.डा. शैलेन्दुप्रकाश नेपाल! यहाँको सिर्जनात्मक कर्म अझ सशक्त रहिरहोस्।
No ads found for this position




Facebook Comment