काठमाडौंमा ‘जापानिज फुड फेस्टिभल’ सुरु, असीमित शुशीको स्वाद लिन सकिने
काठमाडौं। जापानी खाना पारखीहरूलाई लक्षित गर्दै काठमाडौंको लाजिम्पाटस्थित पाँचतारे होटल र्याडिसनमा ‘जापानिज फुड फेस्टिभल’ उत्साहजनक रूपमा सञ्चालन भइरहेको छ।
नेपाल–जापान कूटनीतिक सम्बन्ध स्थापनाको ७०औं वर्ष र नेपालमा जापानी स्वाद पस्कँदै आएको ‘होक्काइडो ग्रुप’ को सातौं वार्षिकोत्सवको अवसर पारेर यो विशेष महोत्सव आयोजना गरिएको हो।
नोभेम्बर ३ देखि सुरु भएको यो महोत्सव ९ नोभेम्बरसम्म हरेक दिन साँझ ५ बजेदेखि बेलुका ८ बजेसम्म सञ्चालन हुनेछ।
अन्लिमिटेड शुशी र विशेष मेनु
महोत्सवको मुख्य आकर्षण ‘जापानिज डिनर बुफे’ रहेको छ, जहाँ ग्राहकले असीमित (अनलिमिटेड) शुशीको मजा लिन सक्नेछन्। प्रतिव्यक्ति ३ हजार रुपैयाँ तोकिएको यस प्याकेजमा असीमित शुशीका साथै एउटा जापानी डिजर्ट र सफ्ट ड्रिंक समावेश गरिएको छ।
शाकाहारी ग्राहकलाई लक्षित गर्दै एभोकाडो र तोफु लगायतका सामग्रीबाट तयार पारिएका ‘भेज शुशी’ को समेत व्यवस्था छ। त्यसैगरी परिवारसहित आउने ग्राहकको सहजताका लागि ६ देखि १२ वर्षसम्मका बालबालिकालाई ५० प्रतिशत छुट दिइएको छ।
होक्काइडो ग्रुपका संस्थापक अर्जुन अधिकारीका अनुसार यो फेस्टिभल व्यापारमुखी मात्र नभई ७ वर्षसम्म साथ दिने सम्पूर्ण ग्राहकप्रति कृतज्ञता व्यक्त गर्ने अवसर पनि हो।
“म सन् २००१ मा पहिलो पटक जापान गएको थिएँ। होक्काइडोमा मैले जापानी खानाको संस्कृति, आत्मीय आतिथ्य र हरेक काम ध्यान दिएर गर्ने शैलीको अनुभव गरेँ,” अधिकारीले भने, “त्यो अनुभव नेपालका मानिसहरूसँग पनि बाँड्न चाहन्थें। यही सोचबाट सन् २०१९ मा पार्क भिलेजबाट हामीले होक्काइडो ग्रुपको यात्रा सुरु गरेका हौं।”
कार्यक्रम स्थलको क्षमता १ सय जनाभन्दा बढीको भए पनि खानाको गुणस्तर र ग्राहकको सहजतालाई ध्यानमा राख्दै आयोजकले दैनिक ७० जनाका लागि मात्र सिट सीमित गरेको छ।
“भिडभाड गरेर व्यापार मात्र बढाउनुभन्दा पनि आउने अतिथिहरूले शान्त वातावरणमा खानाको आनन्द लिन सकून् भनेर हामीले सिट सीमित गरेका हौं,” अधिकारीले थपे, “सबैतिरका ग्राहकलाई पार्किङ र आउजाउमा सहज होस् भनेर र्याडिसन होटल छनोट गरिएको हो।”
फेस्टिभलमा जापानी र नेपाली सेफहरूले सँगै काम गरिरहेका छन्। यसले एकअर्काबाट सिक्ने र नयाँ परिकार विकास गर्ने अवसर मिलेको आयोजकको भनाइ छ।
अधिकारीका अनुसार होक्काइडो ग्रुपका ९५ प्रतिशत ग्राहक नेपाली छन्। त्यसैले जापानी परिकारको मूल मर्म नबिगारी नेपाली जिब्रोलाई सुहाउने स्वाद दिन उनीहरू सफल भएका छन्। खानाको प्रामाणिक स्वाद जोगाउन सस, स्टक, वासाबी लगायत ९५ प्रतिशतभन्दा बढी अत्यावश्यक सामग्री सिधै जापानबाटै आयात गरिन्छ।
होक्काइडो ग्रुपका १० आउटलेट
सन् २०१९ देखि सेवा सुरु गरेको होक्काइडो ग्रुपले हाल काठमाडौं, पोखरा र चितवनमा गरी १० वटा आउटलेट सञ्चालन गरिरहेको छ। नेपालमा जापानी फुड कल्चर र वर्क कल्चरलाई स्थापित गराउन यो ग्रुप अग्रणी मानिन्छ।
यो महोत्सव ९ नोभेम्बरसम्म मात्र सञ्चालन हुने र दैनिक ७० जनाका लागि मात्र सिट उपलब्ध रहेकाले सहभागी हुन चाहनेहरूलाई समयमै टेबुल रिजर्भ गर्न आयोजकले अनुरोध गरेको छ।
No ads found for this position



डिसी नेपाल
Facebook Comment