कांग्रेस नेता बिष्टको आग्रह- पार्टीको गुमेको साख फर्किने गरी काम गरौं
काठमाडौं । नेपाली कांग्रेसका नेता आनन्द बिष्टले पार्टीको गुमेको साख फर्किने गरी काम गर्न कार्यकर्ताहरूलाई आग्रह गरेका छन्। आफ्नो निर्वाचन क्षेत्र कैलाली-४ ले शुक्रबार दसैँ, दिपावली तथा छठ पर्वको अवसरमा आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रमलाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथिसमेत रहेका नेता बिष्टले निराश नभएर पार्टीको गुमेको साख फर्किने गरी काम गर्न नेताकार्यकर्ताहरूलाई आग्रह गरेका हुन्।
‘कैलाली-४ मा पार्टीका नेताकार्यकर्तामा जुन एकता देखिएको छ, यसले मलाई निकै खुसी तुल्याएको छ। पार्टी महाधिवेशनका क्रममा देखिएको एकताले आगामी स्थानीय र प्रदेश निर्वाचनमा हाम्रो प्रभावशाली उपस्थिति रहेमा म विश्वस्त छु,’ उनले भने।
यसका साथै उनले पार्टीभित्रका गुटउपगुट नजिक नभइ जनतामाझ भिजेको व्यक्तिलाई कांग्रेसले टिकट दिनुपर्ने धारणा राखेका छन्। ‘गुटको नजिकका व्यक्तिले टिकट पाउँछन् भन्ने भ्रमलाई चिरेर हामीले पार्टीका स्थानीय निकायबाट नै सिफारिस भएका र जनताको नजिक रहेका व्यक्तिलाई टिकट दिनुपर्छ। यस्तो गर्नसक्यौं भने सहजरुपमा विजय हासिल गर्न सकिन्छ,’ उनले भने।

उनले पार्टी निर्वाचनमा विजयी वा उपविजयी हुँदैमा जिम्मेवारी कम बढी नहुने धारणा राखेका छन्। ‘केन्द्रीय समिति निर्वाचनमा परिणाम मेरो पक्षमा नआए पनि यस क्षेत्र र देशभरका नेताकार्यकर्ताहरूले देखाउनु भएको विश्वास र सहयोगका लागि म कृतज्ञ नै छु। जित वा हारले मेरो सक्रियतामा कुनै असर नगर्ने म विश्वास दिलाउन चाहन्छु। यस क्षेत्रको विकास र नेपाली कांग्रेसको संगठन बलियो बनाउन कटिवद्ध भएर लाग्ने विश्वाससमेत व्यक्त गर्दछु,’ उनले भने।
बिष्ट यतिबेला आफ्नो निर्वाचन क्षेत्रमा जनतासँग भेटघाट गरिरहेका छन्। उनले जनताका कुरा सुन्ने र जनताको आवाज सरकार समक्ष पुर्याउने उद्देश्यका साथ जनतासँगको भेटघाटलाई निरन्तरता दिइरहेको बताए।
यसैक्रममा बिष्ट कैलाली क्षेत्र नम्बर ४ का पालिका स्थतरीय शुभकामना आदान प्रदान कार्यक्रममा सहभागी भएका थिए। उनी कांग्रेस चुरे गाउँपालिका, कांग्रेस गौरीगंगा नगरपालिका, कांग्रेस गोदावरी नगरपालिकाले आयोजना गरेका कार्यक्रममासमेत सहभागी भएका थिए।
त्यसक्रममा बिष्टले चाडपर्वहरू केवल चाडपर्व मात्र नभएर सामाजिक सद्भाव, धार्मिक सहिष्णुता, आपसी एकताको प्रतिकका रुपमा रहेको बताए। ‘यस्ता पर्वले हामीहरूबीचमा एकता र सद्भाव कायम गर्छ। हामीलाई एक ठाउँमा ल्याउने काम गर्छ। हाम्रा चाडपर्वको आफ्नो मौलिकता र विशिष्टता छ। म सबैमा शुभकामनासमेत व्यक्त गर्न चाहन्छु,’ उनले भने।

कार्यक्रममा कैलाली-४ का क्षेत्रीय सभापति सुरत कार्कीले क्षेत्रका सबै नेताकार्यकर्ताहरूको भावनाको सम्मान, योग्यता र क्षेमताको कदर हुने गरी काम गर्ने प्रतिवद्धता व्यक्त गरेका छन्।
कार्यक्रममा राष्ट्रिय सभाका पूर्वसांसद हिरादत्त भट्ट, पूर्वक्षेत्रीय सभापति बसन्त रोकाया ‘ललित’, कांग्रेस कैलाली सचिव केशव मिश्र, सचिव नृप सुनार, पूर्वसचिव पूर्ण कुँवर, महाधिवेशन प्रतिनिधि लोकराज पाण्डेय ‘आगो’, पूर्वक्षेत्रीय सभापति दीनेशराज जोशी र भीम गौतमको सहभागीता रहेको थियो।
यस्तै, नेताहरू पदम भट्ट, खेम साउद, विक्रम खड्का, पुष्पराज जोशी, बिष्णु भाट, भोजबहादुर बम, पालिका सभापतिहरू रविन्द्र शाही ‘गुड्डु’, हृदय थापा, खकेन्द्र खडायत, प्रदेश सभापतिहरू हेमन्त जोशी, भरत खड्का, क्षेत्र र नगरका पदाधिकारी, महाधिवेशन प्रतिनिधिहरू, वडासभापतिहरू, जनप्रतिनिधि र पार्टीका भ्रातृ तथा शुभेच्छुक संस्थाका प्रतिनिधिहरू सहभागि थिए।

No ads found for this position



डिसी नेपाल
Facebook Comment