विश्व बैंकको बैठकमा भाग लिन अर्थमन्त्री अमेरिका प्रस्थान

डिसी नेपाल
२८ असोज २०७६ १९:३८

काठमाडौं । अर्थमन्त्री डा युवराज खतिवडा विश्व बैंक समूह र अन्तर्राष्ट्रिय मुद्राकोषको संयुक्त वार्षिक बैठकमा सहभागी हुन आज संयुक्त राज्य अमेरिका प्रस्थान गरेका छन्।

संयुक्त राज्य अमेरिकाको वाशिङटन डीसीमा आयोजना हुने बैठकका अतिरिक्त विश्व बैंक समूह तथा अन्तर्राष्ट्रिय मुद्राकोषका वरिष्ठ अधिकारीहरुसँग द्विपक्षीय छलफल गर्ने कार्यक्रम रहेको उनको सचिवालयले जनाएको छ।

मन्त्री खतिवडाले अन्तर्राष्ट्रिय विकास संस्थाबाट नेपालको नीतिगत सुधारका लागि प्राप्त हुँदैआएको सहायतालाई थप प्रभावकारी बनाउने उपायलगायत सहायताका थप क्षेत्र र सम्भावनाबारे विस्तृत छलफल गर्ने कार्यक्रम तय भएको छ।

उनले सङ्घीयता कार्यान्वयनको क्रममा नेपालले हासिल गरेका अनुभवको आदानप्रदान गर्ने कार्यक्रममा समेत सहभागिता जनाउने भएका छन्। साथै विश्व बैंकको अन्तर्राष्ट्रिय विकास संस्थासँग नेपालको सहकार्य ५० वर्ष पुगेको अवसरमा आयोजना हुने कार्यक्रममा सहभागी हुनेछन्।

नेपाललाई सहयोग गरिरहेका अन्य दातृ मुलुक तथा संस्थाका उच्च पदाधिकारीहरुसँग पनि उनले द्विपक्षीय भेट गर्नेछन्।

दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) को अध्यक्षता हाल नेपालले गरिरहेको परिप्रेक्ष्यमा सार्कका अर्थमन्त्रीहरु सम्मिलित अनौपचारिक बैठकको अध्यक्षतासमेत अर्थमन्त्री डा खतिवडाले गर्ने कार्यक्रम तय भएको छ।

प्रतिनिधिमण्डलमा अर्थ मन्त्रालय, अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखाका सहसचिव श्रीकृष्ण नेपालसमेत सहभागी हुनेछन्। अर्थमन्त्री डा खतिवडा कात्तिक ६ गते स्वदेश फर्किने कार्यक्रम छ। रासस


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *