एनआरएनएको मतदान शुरु नभएपछि प्रतिनिधिहरु आक्रोशित, कुर्सी तोडफोड
काठमाडौं। काठमाडौंमा जारी गैरआवासीय नेपाली संघको विश्व सम्मेलनका क्रममा बुधबार दिउँसो तीन बजे शुरु हुने भनिएको मतदान राती ८ बज्न लाग्दासम्म शुरु नभएपछि प्रतिनिधिहरु आक्रोशित भएका छन्।
सम्मेलन स्थल होटल ह्यातमा बुधबार सात बजेपछि सम्मेलनका लागि विश्वका विभिन्न मुलुकबाट आएका गैरआवासीय नेपालीहरुले मतदान शुरु नभएकोमा आक्रोश पोख्दै तोडफोड शुरु गरेका हुन्।
प्रतिनिधिहरुले विभिन्न उम्मेदवारहरुका प्रचारका लागि राखिएका ब्यानरसमेत च्यातेका छन्। संघको नयाँ नेतृत्वका लागि कुल आचार्य र कुमार पन्त नेतृत्वका दुई वटा समूह चुनावी मैदानमा छन्। विभिन्न ४२ पदाधिकारीका लागि दुई समूहले उम्मेदवारी दिएका छन्।

निर्वाचन कार्यतालिका अनुसार बुधबार दिउँसो मतदान शुरु हुने बताइएको थियो। तर, यतिबेलासम्म मतदान शुरु हुन सकेको छैन। कतिबेला मतदान शुरु हुन्छ भन्ने पनि कुनै टुंगो लागिसकेको छैन। संघको विश्व सम्मेलनका लागि विभिन्न ४९ देशका करिब ३ हजार गैरआवासीय नेपालीहरु काठमाडौंमा छन्। सम्मेलन मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गरेकी थिइन्। बिहीबार सम्मेलन समापन हुने कार्यक्रम छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment