प्रहरी नायव निरीक्षक ६० हजार नगद घुससहित पक्राउ

डिसी नेपाल
१४ कार्तिक २०७६ १५:५५

काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एकजना प्रहरी नायव निरीक्षक (सई)लाई बिहीबार ६० हजार रुपैयाँ घुससहित रंगेहात पक्राउ गरेको छ।
अख्तियार प्रवक्ता प्रदीपकुमार कोइरालाले बाराको गञ्जभवानीपुर प्रहरी चौकीमा कार्यरत प्रहरी नायब निरीक्षक जटाशंकरप्रसाद कलवारलाई घुससहित प्रक्राउ गरिएको जानकारी दिएका छन्।

सई कलवारले भारतबाट मालसामान ल्याउन सहज गराई दिने भनी सेवाग्राहीसँग घुस मागेको सूचनाका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, हेटौडाले उनलाई सेवाग्राहीबाट ६०,००० रुपैयाँ घुस लिइसकेको अवस्थामा कलैया उपमहानगरपालिका वडा नं. ४ स्थित, श्रीराम खाद्य उद्योग अगाडिबाट बिहीबार पक्राउ गरेको प्रवक्ता कोइरालाले जानकारी दिएका छन्।

उनी हाल अख्तियारको हिरासतमा रहेका छन्। यो विषयमा अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *