एसीसी इमर्जिङ कपका लागि पारस र सन्दीपबिनाकै नेपाली राष्ट्रिय टिम घोषणा

डिसी नेपाल
२० कार्तिक २०७६ २२:१४

काठमाडौं। नेपाल क्रिकेट संघ (क्यान)ले बुधबार एसीसी इमर्जिङ कपका लागि नेपाली राष्ट्रिय क्रिकेट टिम घोषणा गरेको छ।

संघका सचिव तथा प्रवक्ताले बुधबार टिम घोषणा गरिएको जानकारी दिए। उनका अनुसार १५ सदस्यीय टिम, टिम म्यानेजर, प्रमुख प्रशिक्षक, सहायक प्रशिक्षक, भिडियो विश्लेषक र टिम फिजियोसमेत घोषणा गरिएको छ।

टिमको कप्तानमा ज्ञानेन्द्र मल्ल रहेका छन् भने उपकप्तानको जिम्मेवारीमा दिपेन्द्रसिंह ऐरी छन्। यस्तै शरद भेषवाकर, सोमपाल कामी, करण केसी, विनोद भण्डारी, रोहितकुमार पौडेल, ललितनारायण राजवंशी, पवन सर्राफ, सन्दीप जोरा, सुशान भारी, मोहम्मद आरिफ शेख, अभिनाष बोहोरा र कुुसल भुर्तेल छन्।

टिमको प्रमुख प्रशिक्षकमा उमेश पटुवाल छन् भने सहायक प्रशिक्षकमा दिपेन्द्र प्रताप सिंह रहेका छन्। यस्तै रमन शिवाकोटी टिमको भिडियो विश्लेषक छन् भने टिम म्यानेजरको जिम्मेवारीम प्रशान्त विक्रम मल्ल छन्। फिजियो विक्रम न्यौपाने छन्।

टिममा दुई महत्वपूर्ण खेलाडी भने छैनन्। पूर्वकप्तान पारस खड्का र लेग स्पीनर सन्दीप लामिछाने टिममा नरहेका हुन्। उनीहरु दुबैजनाले यूएईको आबुधाबीमा हुने टि टेन लिग खेल्न नेपाली राष्ट्रिय टिमबाट विदा मागेका थिए। क्यानले उनीहरुको विदा स्वीकृत गर्दै नो अब्जेक्शन लेटर दिएको छ।

क्यान फुकुपवापछि पहिलो पटक क्यानले टिम घोषणा गरेको हो। यसअघि क्यानको निलम्बन फुकुवा भइसकेपछि पनि अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिलले २ पटक नेपाली टिम घोषणा गरेको थियो।

इमर्जिङ एसिया कप १४ नोभेम्बरमा सुरु हुँदैछ । पहिले नेपाल यो प्रतियोगितामा थिएन तर प्रतियोगितामा भएको टिम युनाइटेड अरब इमिरेट्स नखेल्ने भएपछि नेपालले उसको स्थानमा मौका पाएको हो । अब यूएईको ठाउँमा नेपालले यो प्रतियोगिता खेल्नेछ । बंगलादेशमा हुने यो प्रतियोगितामा नेपालले पहिलो खेल भारतको अण्डर २३ टिमसँग १४ नोभेम्बरमा खेल्नेछ ।

नेपालले दोस्रो खेल नोभेम्बर १६ मा हङकङसँग खेल्नेछ । तेस्रो खेलमा नेपालले १८ नोभेम्बरमा बंगलादेशको अण्डर २३ टिमसँग खेल्नेछ । समूह चरणको खेलबाट माथि जान सकेमा नेपालले श्रीलंका, पाकिस्तान, अफगानिस्तानजस्ता अन्य टेस्ट मान्यता प्राप्त देशका अण्डर २३ टिमसँग समेत खेल्न पाउने सम्भावना रहनेछ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *