भारतले जारी गरेको नक्साप्रति नेविसङ्घको आपत्ति
काठमाडौँ । नेपाली काङ्ग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी सङ्घ (नेविसङ्घ) ले भारतीय नक्सामा नेपाली भूमि समावेश गरिएकामा आपत्ति जनाउँदै विरोध प्रदर्शन गरेको छ।
नेविसङ्घले भारत सरकारले भर्खरै जारी गरेको नक्सामा नेपाली भू-भाग कालापानी र लिपुलेकलाई भारतको नक्सामा समावेश गरेको भन्दै विरोध गरेको हो। नेविसङ्घले आज त्रिचन्द्र क्याम्पस अगाडि विरोध प्रदर्शन गरेको छ।
कार्यक्रममा नेविसङ्घका नेता दिपक भट्टराईले भारत सरकारले मिचेको नक्साप्रति नेपाल सरकारले कूटनीतिक तवरले समस्याको समाधान गर्नुपर्ने बताए।
नेविसङ्घ त्रिचन्द्र क्याम्पसका नेता सान शिवाकोटीले भारत सरकारले नेपाली भूमिमाथि अतिक्रमण गरेर नेपाल-भारत सम्बन्धलाई बिथोल्न खोजेको आरोप लगाए।
विद्यार्थीले नेपाललाई पानीजहाज र रेलभन्दा पनि लिपुलेक र कालापानी आवश्यक रहेको बताएका थिए। कार्यक्रममा नेविसङ्घका निवर्तमान सहमहामन्त्री ललिता सुनुवार, निवर्तमान केन्द्रीय सदस्य कल्पना खड्कालगायत त्रिचन्द्रका विद्यार्थीको सहभागिता थियो। रासस
No ads found for this position

डिसी नेपाल
Facebook Comment