उपनिर्वाचन २०७६ : राप्रपा संयुक्त र आमूल परिवर्तन पार्टीको उम्मेदवारी खारेज
काठमाडाैं। आगामी मङ्सिर १४ गते हुने भक्तपुर क्षेत्र नं १ प्रदेशसभा (क) को उपनिर्वाचनका लागि नाम दर्ता गराएका दुईको उम्मेदवारी खारेज गरिएको छ। मुख्य निर्वाचन अधिकृतको कार्यालयले उम्मेदवारको छानबिनका क्रममा प्रदेश निर्वाचनमा समानुपातिकतर्फको बन्दसूचीमा भएकाले पनि उम्मेदवारी दिएको पाएपछि उम्मेदवारी खारेज गरिएको मुख्य निर्वाचन अधिकृत जगतनारायण श्रेष्ठले जानकारी दिए।
उम्मेदवारी खारेज हुनेमा राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) का उम्मेदवार रामशरण लामिछाने र आमूल परिवर्तन पार्टीका उम्मेदवार डिल्लीप्रसाद चौलागाईँ रहेका उनले जानकारी दिए। अघिल्लो निर्वाचनको समानुपातिकतर्फको बन्दसूचीमा नाम भएकाले उपनिर्वाचनमा उम्मेदवारी दिन नपाउने व्यवस्था रहेकाले उम्मेदवारी खारेज गरिएको उनको भनाइ थियो।
दुईको उम्मेदवारी बदर भएपछि नौ दलका नौ र स्वतन्त्र १० गरी १९ को उम्मेदवारी कायम रहेको मुख्य निर्वाचन अधिकृत श्रेष्ठले जानकारी दिए। निर्वाचन कार्यक्रम तालीकाअनुसार आज उम्मेदवारविरुद्ध दाबी उजुरी दिने, शनिबार मनोनयनपत्र र उजुरीउपर जाँचबुझ हुनुका साथै त्यसै दिन उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिनेछ।
त्यस्तै यही कात्तिक २४ गते बिहान १०ः०० देखि दिउँसो १ः०० बजेसम्म उम्मेदवारी फिर्ता लिने, सोही दिन दिउँसो ३ः०० देखि ५ः०० बजेभित्र उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिने मुख्य निर्वाचन अधिकृत श्रेष्ठले बताए। उम्मेदवारलाई कात्तिक २५ गते निर्वाचन चिह्न प्रदान गरिने छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment