प्रतिबन्धित लागुऔषधसहित ३ युवक पक्राउ

डिसी नेपाल
२५ कार्तिक २०७६ ९:३२

लहान । प्रतिबन्धित लागुऔषधसहित सिरहा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। लागुऔषधसहित सिरहाको बरियारपट्टी गाउँपालिका– १ कचनारीबाट मोरङको मिक्लाजुङ गाउँपालिका– ७ निवासी १८ वर्षीय रोशन खड्का, सोही ठाउँका ३० वर्षीय गोविन्द नेपाल र भारतको जिल्ला मधुवनी थना लौकाहा खुटौना फूलपरास निवासी १८ वर्षीय मोहम्मद रियाजलाई पक्राउ गरेको हो।

प्रहरी चौकी कचनारीबाट खटिएको टोलीले बिआर ३२ यू ४७९९ नंकोे मोटरसाइकललाई जाँच गर्दा तीनै जनाको साथबाट नाइट्रोभेट १४ पत्ता, स्पास्मो पाँच पत्ता र गाँजा १० ग्राम फेला परेको प्रहरीले जनाएको छ।

पक्राउ परेका तीनैजनालाई आवश्यक कारवाहीका लागि इलाका प्रहरी कार्यालय सिरहामा ल्याई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता प्रहरी नायब उपरीक्षक अपिलराज बोहराले जानकारी दिए ।

अदालतबाट सजाय पाएर फरार एक पक्राउ

बहुविवाह मुद्दामा अदालतबाट कैद सजाय पाएर फरार रहेका एक युवकलाई गएराति सिरहा प्रहरीले पक्राउ गरेको छ। बहुविवाह मुद्दामा जिल्ला अदालत सिरहाबाट ११ महिना २० दिनको कैद सजाय पाएर फरार सिरहाको भगवानपुर गाउँपालिका– २ नहरा निवासी ३५ वर्षीय रामविलास साहलाई प्रहरीले पक्राउ गरेको हो।

अस्थायी प्रहरी पोष्ट भगवानपुरबाट खटिएको गस्ती टोलीले साहलाई घरमा लुकिछिपी बसिरहेको अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ।

पक्राउ परेका साहलाई आवश्यक कारवाहीका लागि जिल्ला अदालत सिरहामा बुझाइने प्रहरी नायब उपरीक्षक अपिलराज बोहराले जानकारी दिए । रासस


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *