यसरी फसिन अघोरी बाबाकी पत्नी

डिसी नेपाल
२५ कार्तिक २०७६ २१:१०

काठमाडौं। आफूलाई ‘अघोरी बाबा’ बताउने विजय केसीकी श्रीमती शारदा पाण्डेविरुद्ध ठगीको आरोप लागेको छ । चितवनकी एक महिलाबाट विदेश लगिदिन्छु भनी ठगी गरेको आरोपमा कारवाहीको माग गर्दै ठाडो निवेदन परेकाले सोधपुछका लागि उनलाई नियन्त्रणमा लिइएको महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता होबिन्द्र बोगटीले जानकारी दिए।

उनलाई अहिले महानगरीय प्रहरी वृत्त बौद्धमा राखिएको छ । उनको विषयमा पूर्ण जाहेरी नपरेकाले जाहेरी परेपछि त्यसैको आधारमा अनुसन्धान अघि बढ्ने बौद्ध प्रहरीले जनाएको छ । पाण्डेले पछिल्लो समयमा ‘अघोरी बाबा’सँग बिहे गरेको भन्दै यूट्यूबमा अन्तरवार्ता दिँदै आएकी थिइन् । उनीहरुको बिहे भएको भनेर लिइएको अन्तरवार्ताको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो ।

गाडी र घरका सिसा तोडफोडमा संलग्न पक्राउ

पार्किङ गरी राखिएको सवारी साधन तथा घरको सिसा तोडफोड गरेको आरोपमा प्रहरीले सोमबार दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बूढानीलकण्ठ नगरपालिका–११ प्रगति चोक बस्ने रामेछाप रामपुर नगरपालिका–५ घर भएका २० वर्षीय प्रकाश तामाङ र सोही ठाउँ बस्ने सुनसरी धरान उपमहानगरपालिका–११ का २० वर्षीय निमा शेर्पा रहेका छन् ।

काठमाडौँ महानगरपालिका–६ सरस्वती नगरदेखि बूढानीलकण्ठ नगरपालिका–११ कपन पयौंँटारसम्म पार्किङ गरी राखेका सवारी साधन र सोही क्षेत्रमा रहेको घरका सिसा तोडफोड गर्दै गरेको अवस्थामा उनीहरुलाई महानगरीय प्रहरी प्रभाग कपनबाट खटिएको प्रहरीले पक्राउ गरेको प्रहरी प्रवक्ता विश्वराज पोखरेलले जानकारी दिए। उनीहरुलाई सोमबारै अहिले महानगरीय प्रहरी वृत्त बौद्ध पठाइएको महानगरीय प्रहरी प्रभाग कपनले जनाएको छ । रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *