बेलायतमा गाडीमा ३९ जनाको मृत्यु प्रकरण, गाडी चालकले आरोप स्वीकारे

डिसी नेपाल
९ मंसिर २०७६ २१:२०

लण्डन (बीबीसी) । यूकेको एसिक्समा ३९ वटा शव भेटिएको लरीका चालकले अवैध रूपमा मानिस ओसारपसार गर्ने योजनामा आफू संलग्न भएको स्वीकार गरेका छन्।

अदातलमा मोरस रोबिन्सनले अरू मानिससँग मिलेर मे १, २०१८ देखि अक्टोबर २४, २०१९ सम्म आफूले अवैध आप्रवासनको षड्यन्त्रमा सहयोग पुर्‍याएको स्वीकारेका हुन्।

पच्चीस वर्षीय रोबिन्सनलाई गैरकानुनी रूपमा विदेशी नागरिकहरूलाई यूके ल्याउने एउटा ठूलो योजनामा सहभागी भएको आरोप लागेको छ। तर उनलाई ३९ जनाको हत्याको अभियोग स्वीकार्न भनिएको थिएन।

गत अक्टोबर २३ मा ग्रेज वाटरग्लेड औद्योगिक क्षेत्रमा रोकेर राखिएको एउटा लरीमा ३९ जना भियतनामी नागरिकको शव फेला परेका थिए। तीमध्ये केही किशोरकिशोरीका शव पनि थिए।

सोमवार उनलाई भिडिओमार्फत् अदालतमा पेस गरिएको थियो। उनले आफ्नो नाम बताएका थिए र आफू ब्रिटिश नागरिक भएको पुष्टि गरेका थिए।

उनले गत वर्ष मे महिनादेखि यो वर्ष अक्टोबर महिनासम्म अपराध गरेबापत रकम लिएको स्वीकारे। उनलाई मानव तस्करी र कालोधन स्थानान्तरण गरेका अभियोगहरू लगाइएको छ।

उनी डिसेम्बर १३ मा अर्को सुनुवाइ नभएसम्म हिरासतमा रहनेछन्। लरीमा आठ महिला र दुई १५ वर्षे किशोरसहित ३१ पुरुष थिए।

नोर्दर्न आयरल्यान्डका २३ वर्षीय क्रिस्टोफर केनेडीलाई पनि मानव तस्करीको मुद्दा लगाइएको छ।

उनलाई ती मृत भियतनामीको यात्राको बन्दोबस्त मिलाएको र यूकेको आप्रवासन कानुन उल्लङ्घन गरेको अभियोग पनि लगाइएको छ। उक्त घटनामा संलग्न भएको आशङ्कामा पक्राउ परेका अन्य तीन जना धरौटीमा छुटेका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *