प्रधानमन्त्री ओलीको स्वास्थ्यबारे जानकारी लिन प्रचण्ड मनमोहन सेन्टरमा

डिसी नेपाल
१३ मंसिर २०७६ २१:५७

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्थाबारे जानकारी लिन नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड शुक्रबार साँझ ओली उपचाररत मनमोहन सेन्टर पुगेका छन्।

प्रधानमन्त्री ओलीका प्रेस सल्लाहाकार सूर्य थापाले प्रचण्ड प्रधानमन्त्री ओलीको स्वास्थ्यबारे जानकारी लिन मनमोहन सेन्टर पुगेको जानकारी दिए।

सो अवसरमा ओली र दाहालबीच ओलीको स्वास्थ्यबारे छलफलसमेत भएको जनाइएको छ। प्रेस सल्लाहाकार थापाले भनेका छन्, ‘दुई अध्यक्षबीच मूलतः स्वास्थ्य उपचारकै बारेमा कुराकानी भयो।’

अध्यक्ष प्रचण्डले प्रधानमन्त्री ओलीको स्वास्थ्यमा धेरै राम्रो प्रगति भएको आफू पाएको बताएका छन्। प्रधानमन्त्री ओलीले उपचुनाव, पार्टी गतिविधि लगायतका विषयमा प्रचण्डसँग जिज्ञासा राखेको जनाइएको छ।

देश तथा विदेशमा रहेका सम्पूर्ण नेता, कार्यकर्ता, शुभेच्छुक÷शुभचिन्तक जनसमुदायले प्रधानमन्त्री ओलीको स्वास्थ्यस्थितिबारे चासो र चिन्ता व्यक्त गरेको र स्वास्थ्यमा आएको क्रमिक सुधारको समाचारले सबैमा खुसीको सञ्चार भएको भेटका क्रममा अध्यक्ष प्रचण्डले उनलाई बताएका थिए।

सो अवसरमा अध्यक्ष प्रचण्डले बाहिर पार्टी कामको कुनै चिन्ता नलिई आफ्नो स्वास्थ्य ख्याल गर्न प्रधानमन्त्रीसँग आग्रह गरेका थिए।

प्रधानमन्त्री ओलीको हालै एपेन्डिक्सको शल्य क्रिया भएको थियो। त्यसपछि ओली मनहोमन सेन्टरको सघन कक्षमा छन्। मिर्गौलालेसमेत काम गर्न छाडेपछि नियमित डायलसिस गराइरहेका प्रधानमन्त्री ओलीलाई अकस्मात एपेन्डिक्सको समस्या देखिएको थियो।

प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्थामा उल्लेख्य सुधार भएको उपचारमा संलग्न चिकिस्तकहरुले शुक्रबार बिहान पत्रकार सम्मेलन गरेरै जानकारी दिएका थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.