विराट साधना र स्नेहको आलोकमा डा. माधव पोखरेल

ज्ञानेन्द्र विवश
१३ असार २०८३ ८:१६

नेपाली निबन्ध परम्पराका सर्वोच्च शिखर, विशिष्ट निबन्धकार शङ्कर लामिछानेको ९६औँ जन्मजयन्तीको त्यो दिन मेरो स्मृतिमा सधैँ एउटा सुनौलो पृष्ठ बनेर अंकित छ। २०७९ साल चैत ५ गते, शंकर लामिछाने प्रतिष्ठानको त्यस गरिमय मञ्चमा उहाँप्रति भावपूर्ण श्रद्धाञ्जली र योगदानको स्मरण भइरहँदा मेरो हृदयमा गर्वको छुट्टै तरंग उम्लिरहेको थियो।

नेपाली साहित्यका आदरणीय अग्रजको नाममा स्थापित पुरस्कारबाट सम्मानित हुन पाउनु आफैँमा असीम गौरवको कुरा त थियो नै, त्यसमाथि मेरो त्यो खुसीलाई दोब्बर बनाउने अर्को सुन्दर संयोग पनि त्यहाँ जोडिएको थियो।

भाषाविद्, समालोचक, अनुवादक एवं निबन्ध लेखनका स्थापित सर्जक प्रा. डा. माधवप्रसाद पोखरेलजस्तो विराट व्यक्तित्वसँगै मैले पनि पुरस्कृत हुने सौभाग्य प्राप्त गरेको थिएँ। त्यो क्षण मेरो साहित्यिक यात्राको एउटा अविस्मरणीय र आनन्ददायी अध्याय थियो।

जीवनको गोरेटोमा कहिलेकाहीँ यस्ता केही दुर्लभ र सुखद संयोगहरू आइपर्छन्, जसले मनको गहिराइमा अमिट छाप छाडेर जान्छन्। प्रा. डा. माधवप्रसाद पोखरेल नेपाली भाषा र साहित्यको फराकिलो आकाशका चहकिला नक्षत्र हुनुहुन्छ।

उहाँजस्तो आदरणीय विद्वान्, भाषाविद् र निबन्ध साहित्यका अग्रज प्रेरणादायी व्यक्तित्वसँगै एउटै मञ्चमा ‘शङ्कर लामिछाने पुरस्कार’ बाट सम्मानित हुन पाउनु मेरो साहित्यिक यात्राको गौरवपूर्ण क्षण थियो। त्यही सामीप्य र उहाँप्रतिको अगाध श्रद्धाले मलाई एउटा आत्मीय हक जताउने साहस दियो।

उहाँ नेपाली वाङ्मयका त्यस्ता साधक हुनुहुन्छ, जसको उचाइ र योगदानलाई कुनै एउटा सम्मानले मात्र बाँध्न सक्दैन। सोही वर्ष उहाँले दायित्व वाङ्मय प्रतिष्ठानबाट ‘कुमार–सरस्वती पुरस्कार’ समेत ग्रहण गर्नुभएको थियो। यस्ता बौद्धिक र सम्मानित व्यक्तित्वको सान्निध्य पाउनु आफैँमा एउटा ठूलो सिकाइ र प्रेरणाको स्रोत हो।

कृतज्ञताको त्यो पावन सन्ध्या

समयको आफ्नै गति छ, तर केही भेटहरूले समयलाई पनि सार्थक र सुन्दर बनाइदिन्छन्। गत वैशाख ९ गतेको सन्ध्याकाल त्यस्तै एउटा पावन र तृप्तिको क्षण बनेर आयो। उहाँको बाफलस्थित निवासमा पुग्दा मनमा अगाध श्रद्धा र उत्साह थियो।

जब मैले आफ्नो निबन्ध सङ्ग्रह ‘इन्द्रेणी सौन्दर्य’ उहाँकै हातमा समर्पण गरेँ, मेरो अन्तरमनमा छाएको सन्तुष्टिको गहिराइलाई शायदै शब्दमा व्यक्त गर्न सकिएला! यसै कृतिको पानामा उहाँले कोरिदिनुभएको शुभेच्छाको शुभकामना मन्तव्य मेरो निबन्ध सङ्ग्रहको अमूल्य सम्पत्ति बनेर सजिएको छ।

मेरो नयाँ निबन्ध सङ्ग्रह ‘इन्द्रेणी सौन्दर्य’ ले आकार ग्रहण गर्दै गर्दा र यस कृतिका पानाहरूमा मेरो अनुभूतिको रङ पोतिँदै गर्दा, यसको निधारमा माधव सरको समीक्षात्मक मन्तव्यको चन्दन लगाउन पाए कति जाती हुन्थ्यो भन्ने एउटा हुटहुटी मनमा जाग्यो। उहाँको व्यस्तता मलाई राम्ररी थाहा थियो।

तापनि, एक प्रकारको संकाेच र ढुकढुकीका बीच मैले उहाँलाई विनम्र अनुरोध गरेँ। उहाँले आफ्नो अमूल्य र व्यस्त समयबाट केही पल झिकेर मेरा निबन्धहरू पढिदिनुभयो र अत्यन्तै सारगर्भित मन्तव्य लेखेर पठाइदिनुभयो। उहाँको त्यो स्नेह र बौद्धिक आशीर्वादले म कृतज्ञताको भारीले आह्लादित भएँ।

नियतिको निष्ठुर चक्र र शोकको घडी

तर, समयको चक्र कति निष्ठुर हुन्छ! जीवन र मृत्युको रहस्यमय दोसाँधमा मानिस कति विवश छ। माधव सरले मेरो प्रकाशोन्मुख कृतिका लागि मन्तव्य मेल गर्नुभएको केही दिन मात्र बितेको थियो, एकाबिहानै एउटा हृदयविदारक अशुभ समाचारले मलाई नराम्ररी झस्कायो। उहाँकी जीवनसङ्गिनीको असामयिक निधनको खबरले मेरो मनमा गहिरो सन्नाटा छायो। जुन हातहरूले भर्खरै मेरा लागि आशीर्वादका शब्दहरू कोरेका थिए, तिनै हातहरू आज शोकको सागरमा डुबेका थिए।

त्यो भावविह्वल अवस्थामा मैले उहाँप्रतिको हार्दिक श्रद्धाञ्जली र समवेदनाको विनम्र अनुभूतिस्वरूप एउटा निबन्ध लेखेँ— ‘शोकको घडीमा समवेदनाको सान्त्वना’। त्यो निबन्ध शब्दहरूको सँगालो मात्र थिएन, मेरो मनबाट माधव सरको दुःखमा जोडिएको मेरो हृदयको एउटा निश्छल भावनाको भेल थियो।

समय आफ्नै गतिमा बगिरह्यो। अन्ततः माधव सरको त्यो स्नेहिल मन्तव्यसहित मेरो निबन्ध सङ्ग्रह ‘इन्द्रेणी सौन्दर्य’ ले मुद्रणको रूप लियो। पुस्तक हातमा पर्नासाथ मेरो मनमा एउटै मात्र हतारो थियो-माधव सरलाई भेट्ने र सधन्यवाद यो कृति उहाँकै हातमा टक्राउने।

तर, उहाँ सानेपाको पुरानो बसाइबाट बाफल सर्नुभएको रहेछ। दूरी र समयको प्रतिकूलताले मलाई त्यहाँसम्म पुग्न रोक लगाइरहेको थियो। तापनि, मनभित्रको कृतज्ञताको भारी नबिसाई मलाई कतै शान्ति मिल्नेवाला थिएन। नगई सुखै थिएन।

भाषिक साधक र जीवन्त विश्वविद्यालय

एउटा परिपक्व विद्वान् लेखकको एकान्त बसाइ र उहाँको सौम्य मुहार नियाल्दा मलाई लाग्यो- यी आँखाहरू एउटा व्यक्ति मात्र होइनन्, सिङ्गो भाषा र संस्कृतिको इतिहास बोकेको जीवन्त विश्वविद्यालय हुन्। वि.सं. २००५ सालमा धरानको ऐतिहासिक विजयपुरको माटोमा जन्मनुभएका प्रा. डा. माधवप्रसाद पोखरेलले भाषाविज्ञानमा विद्यावारिधि गरेर आफ्नो जीवनको ऊर्जावान् समय प्राध्यापनमा व्यतीत गर्नुभयो।

आज सेवानिवृत्त जीवन बिताइरहँदा पनि उहाँको लेखन, कठोर अनुसन्धान र अध्ययनको भोक उत्तिकै तन्नेरी र सक्रिय छ। नेपालका भाषाविद्हरूको अगुवा पङ्क्तिमा उहाँको नाम सधैँ सगरमाथाझैँ चुलिएको छ।

अहिलेको लेखन, प्रकाशन र प्रसारणमा देखिएको भाषिक विचलनको वैराग्यपूर्ण अवस्थाप्रति सचेत भाषाविद् पोखरेललाई पनि चिन्ता लाग्नु स्वाभाविक हो। उहाँका अनुसार नेपाली भाषा र व्याकरणको वैज्ञानिक अध्ययन हुन अझै बाँकी छ र अहिलेसम्म लेखिएका नेपाली वर्णविन्यासका नियम तथा व्याकरण संस्कृत र अङ्ग्रेजी व्याकरणका आधारमा तयार गरिएका छन्।

उहाँ भन्नुहुन्छ- “अहिलेका विद्वान्हरूले पनि तिनै पुराना परम्परालाई निरन्तरता दिँदै आएका छन्। त्यसैले अब नेपाली भाषा र व्याकरणबारे गहन अध्ययन र अनुसन्धान गरी मौलिक व्याकरण निर्माणतर्फ लाग्नु आवश्यक छ।”

उहाँकै मुख्य सम्पादकत्वमा ‘जगदम्बा नेपाली साहित्यको बृहत् इतिहास’ नामक गहन ग्रन्थका पाँचवटा ठेलीहरू प्रकाशन भएका छन्।

विमर्शकै क्रममा विश्व साहित्यको तुलनामा नेपाली भाषाको समृद्धिका बारेमा उहाँले व्यक्त गर्नुभएको एउटा गम्भीर चिन्ता मेरो मानसपटलमा अझै ताजा छ। राणाकालमै ‘भाषानुवाद परिषद्’ ले विश्व साहित्यका कालजयी र आदर्श कृतिहरूलाई नेपाली भाषामा अनुवाद गर्ने जुन सुन्दर परिपाटी बसालेको थियो, त्यसको दुर्भाग्यवश अन्त्य भएकोमा उहाँ निकै अफसोस मान्नुहुन्छ।

उहाँको विचारमा, त्यो परिपाटी रोकिँदा नै नेपाली भाषाका आम पाठकहरू विश्व साहित्यका विशिष्ट चेतना र आदर्श कृतिको रसास्वादन गर्नबाट वञ्चित भए। विश्व साहित्यका ती आदर्श र युगान्तकारी कृतिहरूको गहन अध्ययन र अनुवाद नगरी हाम्रो आफ्नै साहित्यको स्तर माथि उठ्न सक्दैन भन्ने उहाँको दृढ धारणाले मलाई निकै घत पारेको थियो।

कृतिको गहिराइ र प्राज्ञिक क्षितिज

मैले उहाँका फुटकर रचनाहरू मात्र होइन, उहाँका बेजोड निबन्ध सङ्ग्रहहरू ‘मेरो मान्छे’, ‘नागदहको स्थिति’ र ‘गार्गीको गाँठो’ लाई अत्यन्तै घनीभूत भएर, मनैदेखि पढेको छु। उहाँका यी निबन्धहरूभित्र एउटा प्रखर बौद्धिक पक्ष, विचारको सघन घनत्व र शैलीगत नवीनताको यस्तो जीवन्त प्रवाह भेटिन्छ, जसले पाठकको चेतनालाई नयाँ उचाइमा पुर्‍याउँछ।

निबन्ध विधामा मात्र होइन, उहाँले आफ्नो लामो अध्ययन र कठोर अनुसन्धानबाट ‘नेपाली समालोचनाको विस्तृत ग्रन्थ’ समेत तयार पार्नुभएको छ, जुन नेपाली वाङ्मय र समालोचनाको इतिहासका लागि एउटा अमूल्य नासो र मार्गदर्शक सिद्धान्त हो।

डा. पोखरेल त्रिभुवन विश्वविद्यालय, कीर्तिपुरको केन्द्रीय भाषाविज्ञान विभागलाई उचाइमा पुर्‍याउने मुख्य खम्बा हुनुहुन्छ। उहाँको मातहतमा रहेर दर्जनौँ शोधकर्ताहरूले विद्यावारिधि (पीएचडी) र एमफिल उपाधि हासिल गरेका छन्। नेपालमा आधुनिक भाषावैज्ञानिकहरूको एउटा सिङ्गो पुस्ता तयार पार्ने श्रेय उहाँलाई नै जान्छ।

निबन्ध सङ्ग्रहहरूका अतिरिक्त प्राज्ञिक र प्राविधिक रूपमा उहाँका ‘नेपाली वाक्यव्याकरण’, ‘ध्वनिविज्ञान र नेपाली भाषाको ध्वनिपरिचय’, ‘भाषाविज्ञानका सिद्धान्त’ आदि कृतिहरू प्रकाशित छन्। नेपालको भाषिक योजना र नीति निर्माणमा उहाँको योगदान महत्वपूर्ण रहेको छ।

नेपालका लोपोन्मुख र अल्पसङ्ख्यक भाषाहरूको अभिलेखीकरण गर्ने र तिनलाई कानुनी एवं व्यावहारिक रूपमा संरक्षण गर्ने राष्ट्रिय कार्यदलहरूमा उहाँले सदैव प्राज्ञिक नेतृत्व प्रदान गर्नुभयो। नेपाली भाषाको मानक वर्णविन्यास (हिज्जे) लाई लिएर केही वर्षपहिले सिर्जना भएको विवादमा उहाँले भाषाको ऐतिहासिकता र वैज्ञानिकता मर्न दिनु हुँदैन भनेर बलियो अडान राख्नुभयो।

उहाँको जीवनीबाट खुल्ने अर्को सुन्दर पाटो के हो भने, उहाँ पाणिनिको संस्कृत व्याकरण (पूर्वीय दर्शन) र पश्चिमा जगत्का आधुनिक भाषावैज्ञानिक सिद्धान्त दुवैका गम्भीर ज्ञाता हुनुहुन्छ। उहाँले यी दुवै धारलाई समन्वय गरेर नेपालका रैथाने भाषाहरूको गहिरो अध्ययनमा प्रयोग गर्नुभएको छ।

बहुभाषाविद् हुनुको नाताले उहाँले विभिन्न अन्तर्राष्ट्रिय मञ्चहरू (विशेषगरी जापान, चीन र युरोपेली मुलुकहरू) मा नेपालका रैथाने भाषा र तिनीहरूको संकटापन्न अवस्थाबारे प्राज्ञिक कार्यपत्रहरू प्रस्तुत गरेर विश्वको ध्यानाकर्षण गराउनुभएको छ।

माधव सरको प्राज्ञिक उचाइ बुझ्न उहाँको अर्को अद्वितीय पाटोलाई हेर्नुपर्छ। उहाँले नेपालका लेख्य परम्परामा नै नआएका, ओझेलमा परेका भाषाहरूसहित ६९ वटा मातृभाषाका वर्णमाला निर्माण गरेर तिनलाई अक्षरको संसार दिनुभएको छ। मातृभाषाहरूको वर्णनिर्धारण र वर्णमालाको विकासमा उहाँले गर्नुभएको योगदान ऐतिहासिक छ। भाषासँगै जोडिएर आउने रैथाने संस्कृतिहरूको अन्वेषणमा उहाँ अहोरात्र खटिनुभएको छ।

माधव सरको जीवनी एक व्यक्तिको जीवनकथा मात्र होइन, यो नेपालको भाषिक विविधतालाई लिपिबद्ध गर्ने एउटा अथक ‘साधनाको दस्तावेज’ पनि हो भन्ने मलाई लाग्छ।

मनको हलुका भारी

फर्किँदै गर्दा मेरो मन असाध्यै हलुका भएको थियो। छातीमाथिको एउटा मीठो र गह्रौँ भारी बिसाएजस्तो अनुभूति भइरहेको थियो। अग्रज स्रष्टाप्रति समयमै आफ्नो कृतज्ञता अर्पण गर्न पाएकोमा मेरो अन्तरमन खुसीले रमाइरहेको थियो। साँच्चै, सम्मान र कृतज्ञताको यो आदान-प्रदान नै त साहित्यको सबैभन्दा सुन्दर ‘इन्द्रेणी’ रहेछ।

बाफलको त्यो साँझ, उहाँको सामीप्य र उहाँबाट प्राप्त आशीर्वाद मेरो साहित्यिक जीवनको अजम्बरी ऊर्जा हो। अग्रजको यो विराट साधना र स्नेहको आलोकमा आफ्नो ‘इन्द्रेणी सौन्दर्य’ सुम्पेर घर फर्किँदा बल्ल मेरो मन असाध्यै हलुका र हँसिलो भयो। माधव सर जस्तो शब्द-ब्रह्मको छत्रछाया पाउनु र उहाँप्रति कृतज्ञता व्यक्त गर्न पाउनु नै मेरो लेखन यात्राको सार्थक विन्दु हो भन्ने गहिरो अनुभूति मलाई भएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *