सामूहिक बलात्कारपछि डाक्टर युवतीलाई जलाउनेहरुलाई प्रहरीले खुवायो मासुभात

डिसी नेपाल
१६ मंसिर २०७६ १७:५१

हैदराबाद (एजेन्सी) । भारतको हैदराबादमा महिला डाक्टरमाथि क्रुरताको विरुद्ध देशभर प्रदर्शन भइरहेको छ । सडकमा उत्रिएका नागरिकले महिला सुरक्षामाथि प्रश्न उठाएका छन् । यता पुलिको जाँचमा कैयौं खुलासा भएका छन् । घटनाका बेला भएका विभिन्न गतिविधिका भिडियोसँगै घटना विवरण पनि खुलेको आज तकले समाचार लेखेको छ ।

यहीबीचमा आरोपी चारै जनालाई प्रहरीले मासुभात खुवाएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन्। प्रहरीले उनीहरुलाई कडा सुरक्षाकाबीच एक जेलमा राखेको छ। प्रहरी हिरासतमा रहेका उनीहरुलाई खानाको सेड्युलअनुसारै मासुभात दिइएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन्।

पुलिसका अनुसार २७ नोभेम्बरका दिन महिला डाक्टरलाई ट्रक ड्राइभर र उनका साथीहरुले अपहरण गरे । आरोपीहरुले पीडितलाई सुनसान ठाउँमा लिएर गए र उनलाई जबरजस्ती रक्सी खुवाए त्यसपछि सामूहिक बलात्कार गरे । एक आरोपीले मुख र नाक दबाएर पीडितको ज्यान लिए । त्यसपछि त्यहाँबाट २७ किलोमिटर टाढा लगेर पेट्रोल हालेर लाश जलाए । शवको नजिकै पीडितको फोन घडी लुकाए । चारैजना आरोपी बाल्यकालका साथी हुन् । आरोपी मोहम्मद आरिफ ट्रक ड्राइभर हुन् । बाँकी तीनैजना क्लिनर हुन् । आरोपी नम्बर १ – नाम मोहम्मद आरिफ, उमेर २६ वर्ष, पढाइ १० कक्षा पास । आरोपी नम्बर २ – नाम शिवा, उमेर २० वर्ष । आरोपी नम्बर ३ – नाम नवीन कुमार, उमेर २० वर्ष, नवीन र शिवाको आपसमा नाता पर्छ । आरोपी नम्बर ४ – नाम चेन्ना केशवल्लु, उमेर २१ वर्ष, परिवार खेली गरेर गुजारा गर्छ, एक वर्ष पहिले उनको बिहे भएको थियो ।

पुलिसका अनुसार शिवाले सबैको लागि रक्सी ल्याएका थिए । आरिफले पीडितलाई सबैभन्दा पहिले जबरजस्ती बलात्कार गरेका थिए । आरिफ, नवीन शिवा तीनजना मिलेर पीडितलाई उठाएर सुनसान ठाउँमा लिएर गएका थिए । आरिफले नै उनको मुख र नाक दबाएर हत्या गरेका थिए । उनैले पेट्रोल खन्याएका थिए र शिवाले आगो लगाएका थिए । हैदराबाद केसको जाँचको क्रममा जो खुलासा भएका छन् त्यसबाट यही देखिएको छ कि रक्सीको नशामा लठ्ठ आरोपीहरुले डरलाग्दो घटना यसरी घटाए मानौं केही भएकै छैन । सबैजना पीडितलाई मारेर आगो लगाइ आरामसँग घर गए । पुलिसले पीडितको शव समसाबादको बाहिरी इलाकामा भेट्टाएको थियो । पुलिसको रिमाण्ड कपीका अनुसार २७ नोभेम्बरको रात १० बजेदेखि बिहान ४ बजेसम्म पूरै वारदातको घटना घटाइएको थियो । पुलिसको हिरासतमा रहेका चारैजना आरोपीलाई १४ दिनका लागि पुलिस हिरासतमा राखेर अनुसन्धान गर्ने समय दिइएको छ । मुद्दाको सुनुवाइ फास्ट ट्रयाक अदालतमा हुनेछ ।

डाक्टरसँग सामूहिक बलात्कार त्यसपछि शव जलाएको घटनाबाट देशभरमा आक्रोश छ । हैदराबादमा जुन पुलिस थानामा आरोपीहरुलाई राखिएको छ त्यसको सूचना पाएपछि केहीबेरमै सयौं मानिसहरुले थाना घेरेका थिए । हैदराबादबाट ५० किलोमिटर टाढा रहेको यो थानाअगाडि ‘हामीलाई न्याय चाहिन्छ’को नारा लगाउँदै स्थानीयले धर्ना बसे जसमा महिलाहरु र विद्यार्थीहरु पनि थिए । उनीहरु आरोपीहरुलाई बिना सोधपुछ र बिना सुनुवाइ छिटोभन्दा छिटो फाँसीमा झुण्ड्याउन माग गरेका छन् । घटनाले देशको राजधानी दिल्लीमा पनि आक्रोश छ । यो क्रुरताको विरुद्ध अनु दुबे नामकी युवती संसद भवन अगाडि धर्नामा बसेर रुन थालिन् । अनु दुबेको विरोध प्रदर्शनलाई निर्भयाकी आमाले पनि साथ दिइन् । निर्भयाकी आमाले हैदराबादको घटनाले फेरि २०१२ को याद ताजा गरेको बताइन् । २०१२ मा निर्भयालाई पनि बलात्कारपछि हत्या गरिएको थियो जुन घटनाले सिंगो देश हल्लिएको थियो ।

दिग्गज अभिनेता चिरञ्जीवीले एक भिडियो सन्देशमा भनेका छन् ‘यो तारिफको कुरा हो कि कम समयमै चारैजना आरोपीलाई समातियो । अब सडकमा फाँसी दिनु एकदमै सही तरिका हो, ती मानिसमा डर पैदा गराउने जो यस किसिमको सोच राख्छन् । अक्ष्य कुमार, शबाना आजमी, यामी गौतम, सलमान खान लगायतले पनि यस विषयमा प्रतिक्रिया दिँदै आक्रोश व्यक्त गरेका छन् । डाक्टरलाई न्याय दिलाउने अभियान तीब्र हुँदै गएको छ । यसको लागि ट्वीटरमा ह्याशट्याग आरआइपी प्रियंका रेड्डी ट्रेण्ड गरिरहेको छ । उनीमाथि क्रुरताविरुद्ध आक्रोश र पीडा चारैतिर देखिएको छ । मानिसहरु यतिसम्म आक्रोशित छन् कि चारैजना आरोपीलाई बिना दलिल–अपिल अन द स्पट फाँसी दिन माग गरिरहेका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *