उपनिर्वाचनको परिणामबारे काँग्रेस के भन्छ?

डिसी नेपाल
१६ मंसिर २०७६ १९:०६

काठमाडौं। काँग्रेस प्रवक्ता विश्वप्रकास शर्माले उपनिर्वाचनको परिणामले सरकारप्रति जनताको असन्तुष्टि बढेको पुष्टि भएकोे बताएका छन्।

मंसिर १४ गते भएको उपनिर्वाचनको अन्तिम परिणाम पछि कांग्रेसले गरेको पत्रकार सम्मेलनमा प्रवक्ता शर्माले सरकारप्रति असन्तुष्टि बढ्दै गएको पुष्टि उपनिर्वाचनले गरेको बताए। उनले कांग्रेसले उपनिर्वाचनमा परिणामलाई भन्दा निर्वाचनको प्रक्रियालाई ध्यान दिँदा निस्पक्ष र भयरहीत वातावरणमा निर्वाचन भएको बताए।

उनले सरकार निर्वाचनलाई भयरहीत र निस्पक्ष बनाउन भन्दा निर्वाचन आयोगको आचारसंहितालाई उलंघन गरी प्रदेश प्रमुखहरुको पदलाई रिक्त गर्ने र नयाँ नियुक्त गर्ने तथा मन्त्री मण्डलको पुनर्गठन गर्न केन्द्रित भएको आरोप समेत लगाए।

यस्तो अवस्थामा कांग्रेसले केही स्थानीय तह गुमाएको भएपनि उपत्यकाको भक्तपुर र धरान उपमहानगरपालिका लगायतका महत्वपूर्ण स्थानमा जित हासिल गरेको बताए। प्रवक्ता शर्माले उपनिर्वाचनको परिणामले कांग्रेस कहाँ छ भन्नेहरुलाई जवाफ दिएको समेत बताए।

उनले मतदाताले दुरगामी अर्थ राख्नेगरी सन्देश दिएको भन्दै नेपाली कांग्रेस हरेक मतप्रति प्रतिवद्ध रहेको समेत बताए।

काँग्रेसको विज्ञप्तिः
१६ मंसिर २०७६

उपनिर्वाचन परिणाम पश्चात
नेपाली कांग्रेसको पत्रकार सम्मेलन

आदरणीय पत्रकार साथीहरू,

उपनिर्वाचनको अन्तिम परिणाम प्राप्त भए पश्चात नेपाली कांग्रेसद्वारा आयोजित यो पत्रकार सम्मेलनमा म यहाँहरुलाई हार्दिक स्वागत गर्दछु ।

उपनिर्वाचन मार्फत् एक ढंगको जनमत सर्भेक्षण सार्वजनिक भएको छ यसलाई विश्लेषण र आत्मसात गर्दै अघि बढ्नु हामी सबैको कर्तव्य हो । जे जस्तो वातावरण र परिस्थितिमा निर्वाचन भएपनि लोकतान्त्रिक अभ्यासबाट प्राप्त परिणामलाई शिरोधार्य गर्ने नेपाली कांग्रेसको संस्कार र परम्परा अनुरुप हामीले त्यही रुपमा मंसिर १४ को परिणामलाई ग्रहण गरेका छौं ।

१ प्रतिनिधिसभा सदस्य, ३ प्रदेश सभा सदस्य, १ उपमहानगरपालिका प्रमुख, ३ गाउँपालिका अध्यक्ष, १ उपाध्यक्ष र ४३ वडाध्यक्ष सहित जम्मा ५२ स्थानमा भएको उपनिर्वाचनको गणितीय र राजनीतिक दुवै विश्लेषण हामी सार्वजनिक गरिरहेका छौं ।

नेपाली कांग्रेसले कहाँ उपलब्धि हासिल ग¥यो, कहाँ गुमायो, विगतमा भन्दा मतान्तर नेकपासँगको मतान्तर प्रतिस्पर्धामा कति घट्यो, कहाँ बढ्यो, तथ्याङ्कका अलवा आजको पत्रकार सम्मेलन मार्फत् हामी उपनिर्वाचनले समग्रमा प्रतिपक्ष र सरकारलाई दिएको सन्देश राखिरहेका छौँ ।

उपनिर्वाचन र नेपाली कांग्रेस
१ परिणामको खोजीअघि प्रकृयामा सतर्कता विशेष रुपले राख्नु पर्ने सन्देश हामीले यो निर्वाचनबाट ग्रहण गरेका छौँ । विगतमा नेपाली कांग्रेसको सरकारले आफ्नो पार्टीको पराजयको पूर्वानुमानका बावजुद स्वस्थ, निष्पक्ष निर्वाचन गराएको निकट इतिहासको साक्षी सिंगो देश छ । तर वर्तमान सरकार त्यो कर्तव्य निर्वाहमा भन्दा आफ्नो पार्टीलाई जिताउने ध्याउन्नमा मनोवैज्ञानिक, राजनैतिक र प्राविधिक बन्दोबस्तमा केन्द्रित देखियो । यसका अनेक उदाहरण यसबीचमा सार्वजनिक भइसकेकै छ । सरकारको यो प्रवृत्ति सच्याउन पर्याप्त जन दबाब विकसित गर्नु पर्ने देखिएको छ ।

२ अनेक प्रतिकूलताका बीच मतदाताले मत प्रदान गरेर नेपाली कांग्रेसलाई विगतमा भन्दा समग्रमा बढी मत दिनुको अर्थ हो बितेको २१ महिनामा कांग्रेसले प्रस्तुत गरेको जिम्मेवार र शालिन प्रतिपक्षी भूमिकाको अनुमोदन ।

३ समग्रमा मत बढे पनि कतिपय भू–भागमा मत घट्नुको आन्तरिक सांगठनिक समीक्षा गहिरोसँग गरेर आगामी दिनको तयारी गर्नु पर्ने टड्कारो आवश्यकताको सन्देश पनि हामीले प्राप्त गरेका छौं । ०७४ को तुलनामा नेपाली कांग्रेस र नेकपाका बीचको मतान्तर ०७६ मंसिर १४ मा आइपुग्दा घटेको छ । यसले एकातर्फ नेपाली कांग्रेसको सांगठनिक आत्मबलमा अभिवृद्धि गराएको छ भने अर्कोतर्फ आगामी निर्वाचनको लक्ष्य हासिल गर्ने दृढतामा अघि बढ्न उपनिर्वाचनको मैदानको झै ‘बाहिर गति र भित्र अन्तर्विश्वास’ बढाउन खुला सन्देश सिंगो पार्टी पंक्तिलाई प्राप्त भएको छ ।

४ उपनिर्वाचनमा हामीले १ गाउँपालिका अध्यक्ष, १ उपाध्यक्ष र केही वडाध्यक्ष गुमाएका छौं । त्यसमा हाम्रो सांगठनिक कमजोरीको समीक्षा हामी गर्नेनै छौं । तर प्रदेश २ को रौतहट, सुदूरपश्चिम प्रदेशको बैतडी, प्रदेश ५ को अर्घाखाँची अनि प्रदेश ३ को चितवन, प्रदेश १ को धरान र उपत्यकाको भक्तपुरमा प्राप्त परिणामले नेपाली कांग्रेसलाई विशेष रुपले उत्साही तुल्याएको त छ नै मुलुक समक्ष मतदाताले दूरगामी अर्थ राख्ने भिन्न सन्देश ती ठाउँहरुबाट सम्प्रेषण गरेको हाम्रो मूल्याङ्कन छ । ती स्थानहरु सँगै समग्रमा प्राप्त विजय रहरेक मतप्रति नेपाली कांग्रेस प्रतिवद्ध रहनेछ ।

सरकारलाई सन्देश
उपनिर्वाचन सरकार बनाउन या बदल्न भइरहेको छैन तर तपाईको एक मतले सरकारलाई सच्याउन योगदान गर्न सक्छ भनेर हामीले मतदातालाई अपिल गरेका थियौं । मंसिर १४ को उपनिर्वाचनले सरकार सच्चीनु पर्ने सन्देश प्रष्ट सँग दिएको छ ।

१ २१ महिनामा सरकारप्रति मतदाताको असन्तुष्टी बढेको पुष्टी ०७४ को चुनावमा रहेको मतको अग्रता घट्नुले गरेको छ । त्यसबेला एमाले र माओवादी भिन्न दुई नाम र भिन्न दुई चुनाव चिन्ह मैदानमा थिए । तर त्यतिबेलाको जति मत एउटै पार्टी र एउटै चुनाव चिन्ह हुँदा प्राप्त नहुनु ‘मतदाताको मन बदलिंदै गएको प्रष्ट चित्र हो’ ।

२ एक गाउँपालिका अध्यक्ष, एक उपाध्यक्ष र केहि वडाध्यक्षको अंक हासिल भएको तथ्य अघिल्तीर राखेर सरकारका पक्षमा जनमत जस्ताको तस्तै कायम छ भन्ने आत्मसन्तोष लिन सकिने सुविधा सरकार या नेकपासँग छँदैछ । तर त्यसभन्दा व्यापक प्रभाव राख्ने केहि सन्देशमूलक वडा, एक उपमहानगरपालिका नेतृत्व अनि एक प्रदेश क्षेत्रको परिणामले नेकपालाई ‘आजै सच्चिने की भोलि सक्कीने’ सन्देश दिएको छ । ‘सक्कीने’ शब्दलाई भोलिको परिणाम झनै प्रतिकूल आउने तर्फ गरिएको संकेत भनेर प्रष्ट्याई रहनु नपार्ला ।

३ बाग्लुङको प्रदेशसभा क्षेत्र जनमोर्चालाई छाड्नु परेको स्थिति र कठिनाईले प्राप्त विजय । कास्की र दाङमा वस्तुगत राजैतिक प्रभाव भन्दा सहानुभूतिमा मत संयोजन गर्नु परेको अवस्था । परिणाम हासिल नगरे पनि कांग्रेसले ती तीनै क्षेत्रमा मतान्तर घटाएको चित्र । सरकार सच्याउनकै लागि पढ्न जरुरी पाठ हुन नेकपाका लागि ।

अन्त्यमा, उपनिर्वाचनमा रुख चिन्हमा मतदान गर्नु हुनेहरु सँगै निर्वाचनमा सहभागी सबै आदरणीय मतदातामा नेपाली कांग्रेस धन्यवाद र आभार प्रकट गर्दछ । प्रतिस्पर्धाको लोकतान्त्रिक अभ्यासबाट विजयी सबैलाई बधाइ ज्ञापन गर्दै प्रतिस्पर्धी समेत सबैलाई नेपाली जनताको सेवामा समर्पित रहेर कार्य गर्न पनि नेपाली कांग्रेस हार्दिक अपिल गर्दछ ।

निर्वाचन आयोग, राष्ट्रसेवक कर्मचारी, सुरक्षा निकाय, संचारकर्मी सबैलाई हामी आफ्नो भूमिकाका लागि बधाई ज्ञापन गर्दछौं ।

जय नेपाल
विश्वप्रकाश शर्मा
प्रवक्ता




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *