गण्डकी प्रदेशसभाः मन्त्रालयगत विनियोजन शीर्षकमाथि छलफल जारी

डिसी नेपाल
१० असार २०८३ २२:४५

गण्डकी। गण्डकी प्रदेशसभाको आजको बैठकमा आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमा भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयसँग सम्बन्धित विनियोजन शीर्षकमा छलफल भएको छ। छलफलमा भाग लिने प्रदेशसभा सदस्यहरूले बजेट विनियोजनका सबल र सुधार गर्नुपर्ने पक्षबारे आफ्ना धारणा राखे।

प्रदेशसभा सदस्य अशोककुमार श्रेष्ठले भौतिक मन्त्रालयले जिल्लागत रूपमा सन्तुलित ढङ्गले बजेट विनियोजन गर्न नसकेको बताए। उनले मन्त्रीले आफ्नो जिल्लामा मात्र बजेट केन्द्रित गर्ने प्रवृत्ति अन्त्य हुनुपर्ने धारणा राखे। प्रदेशसभा सदस्य लिलबहादुर थापाले प्रदेश सरकारले पुँजीगत खर्चको क्षमता बढाउनुपर्ने बताए।

प्रदेशसभा सदस्य रेशमबहादुर जुग्जालीले अहिलेको बजेटमा पनि टुक्रे योजनामा बजेट विनियोजन गरिएको बताए। छलफलमा भक्तबहादुर कुँवर, बिन्दु पौडेललगायत प्रदेशसभा सदस्यले बजेटको प्रभावकारी कार्यान्वयनमा जोड दिए।विनियोजन विधेयकअन्तर्गत मन्त्रालयत शीर्षकमाथिको छलफल मङ्गलबारदेखि सुरु भएको हो।

आर्थिक मामिलामन्त्री जितबहादुर शेरचनले गत शुक्रबार प्रदेशसभामा प्रस्तुत गर्नुभएको आगामी आवको सेवा र कार्यका लागि प्रदेश सञ्चित कोषबाट रकम विनियोजन र खर्च गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथिको सामान्य छलफल सकिएपछि मन्त्रालयगत विनियोजन शीर्षकमा छलफल सुरु भएको हो।

मङ्गलबारको बैठकमा उद्योग तथा पर्यटन मन्त्रालय, कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालय र ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालयसँग सम्बन्धित विनियोजन शीर्षकमा छलफल सुरु भएको थियो। गण्डकी प्रदेश सरकारले यही असार १ गते रु ३२ अर्ब ९९ करोड ९९ लाखको बजेट सार्वजनिक गरेको थियो। विनियोजन विधेयकमाथि प्रदेशसभामा छलफल जारी छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *