रास्वपा केन्द्रीय सदस्य निर्वाचन : मतदानको समय पुनः सर्यो
चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को जारी महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि हुने मतदानको समय पुनः सरेको छ। बन्द सत्रको समापनसँगै निर्वाचन प्रक्रिया अघि बढे पनि प्राविधिक तयारीका कारण मतदानको समय परिवर्तन गरिएको हो।
यसअघि साँझ साढे ७ बजेका लागि तय गरिएको मतदानको समयलाई सारेर अब बेलुकी साढे ८ बजेबाट सुरु गर्ने निर्णय भएको केन्द्रीय निर्वाचन आयोगले जनाएको छ।
निर्वाचन आयोगका अनुसार मतदानलाई छिटो र व्यवस्थित बनाउन ७५ वटा विद्युतीय मतदान मेसिन (ईभीएम) को व्यवस्था गरिएको छ। पार्टी प्रवक्ता मनिष झाले दिएको जानकारी अनुसार एकजना मतदाताले मतदान प्रक्रिया पूरा गर्न करिब ७ देखि १० मिनेटको समय लाग्ने अनुमान गरिएको छ। आयोगले मतदान सम्पन्न गर्न कुल ४ घण्टा लाग्ने प्रक्षेपण गरेको छ।
यस पटकको केन्द्रीय सदस्य निर्वाचनमा कुल ३८४ जनाले उम्मेदवारी दर्ता गराएका छन्। ठूलो संख्यामा उम्मेदवार रहेकाले मतदान प्रक्रियालाई चुस्त बनाउन आयोगले विशेष सुरक्षा र व्यवस्थापकीय तयारी गरेको जनाएको छ।
मतदान प्रक्रिया सकिएको करिब २ घण्टाभित्रै मतगणना सम्पन्न गरी निर्वाचनको अन्तिम नतिजा सार्वजनिक गरिसक्ने योजना रहेको प्रवक्ता झाले बताएका छन्। महाधिवेशन प्रतिनिधिहरू अहिले मतदानका लागि तयारी अवस्थामा रहेका छन्।






डिसी नेपाल





Facebook Comment