प्राविधिक समस्याका कारण रास्वपा महाधिवेशनको मतदान राति १० बजेदेखि
चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को चितवनमा जारी प्रथम महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्य पदका लागि आज हुने भनिएको मतदान प्रक्रिया प्राविधिक कारणले स्थगित हुँदै राति १० बजेका लागि सारिएको छ।
निर्वाचन समितिका अनुसार बिहान साढे ८ बजेदेखि मतदान सुरु गर्ने कार्यतालिका थियो। तर, विद्युतीय मतदान प्रणाली (इलेक्ट्रोनिक भोटिङ मेसिन) को व्यवस्थापन र परीक्षणमा प्राविधिक तयारी पूरा हुन नसकेपछि निर्धारित समयमा मतदान सुरु हुन सकेन।
निर्वाचन समितिका प्रमुख भुवन केसीले प्राविधिक टोलीले मतदान प्रणालीलाई सुरक्षित र व्यवस्थित बनाउने काम गरिरहेकाले प्रक्रियामा ढिलाइ भएको जानकारी दिए। समितिको निर्णयअनुसार अब मतदान आज राति १० बजेदेखि सुरु भई भोलि बिहान १० बजेसम्म सञ्चालन हुनेछ।
महाधिवेशनमा सहभागी प्रतिनिधिहरूको उच्च संख्या र विद्युतीय माध्यमबाट गर्नुपर्ने मतदानका कारण प्रक्रिया लामो हुने देखिएको छ। समितिका अनुसार एक जना प्रतिनिधिले आफ्नो मताधिकार प्रयोग गर्न करिब १० देखि १५ मिनेटसम्म लाग्ने अनुमान गरिएको छ। त्यसैले मतदानलाई १२ घण्टा लामो समयका लागि खुला राखिएको छ।
आइतबारदेखि सुरु भएको यस महाधिवेशनलाई रास्वपाले आफ्नो सांगठनिक सुदृढीकरण र नयाँ नेतृत्व चयनको महत्त्वपूर्ण कडीका रूपमा लिएको छ। निर्वाचन समितिले मतदान कार्य सम्पन्न भएसँगै मतगणना सुरु गरी नतिजा सार्वजनिक गरिने जनाएको छ।






डिसी नेपाल





Facebook Comment