फिलिपिन्समा कामुरी आँधीबाट ११ जनाको मृत्यु

डिसी नेपाल
१८ मंसिर २०७६ १३:२६

मनिला । फिलिपिन्समा गत सोमबारबाट आएको आँधीका कारण कम्तीमा ११ व्यक्तिको मृत्यु भएको उद्धारकर्मीहरुले बताएका छन्।

गत सोमबार शुरु भएको ‘कामुरी’ नामको सो आँधीबाट हजारौँको संख्यामा स्थानीयबासी विस्थापित भएका छन्।

फिलिपिन्सको मौसम विज्ञान विभाग (पागासा) का अनुसार स्थानीय समयानुसार बुधबार बिहान ४ बजे कामुरी आँधी दक्षिणपश्चिम समुद्रबाट २० किलोमिटर प्रति घण्टाका दरले दक्षिण चीन सागरतर्फ सरेको छ।

यो शक्तिशाली आँधीबाट राजधानी मनिलामा हुन लागेको दक्षिण पूर्वी एसियाली खेलकूदको आयोजनामा पनि असर परेको छ।

अधिकारीहरुले सो क्षेत्रबाट कैयौँ व्यक्तिलाई उद्धार गरी अन्यत्रै सारेका छन्। गत १२ घण्टाभित्र निनोय अक्वीनो अन्तर्राष्ट्रिय विमानस्थलमा ३ सय २९ आन्तरिक उडान र १ सय ९२ अन्तर्राष्ट्रिय उडान बुधबार बिहान ११ बजेसम्म रद्द गरिएको छ।

फिलिपिन्समा हरेक वर्ष शक्तिशाली आँधी आउने गर्दछ । यहाँ बर्सेनि साना ठूला गरी २० ओटा जति आँधी आउने गरेका छन् । त्यसैले यस समयमा यहाँका सुरक्षा अधिकारीहरुले पनि व्यापक तयारी गर्ने गरेका छन्।

सन् २०१३ मा आएको हायान नामक आँधीका कारण कम्तीमा पनि ७ हजार ३०० नागरिकको मृत्यु भएको या हराएका थिए।

यसबाट फिलिपिन्सको इतिहासमा नै निकै ठूलो भौतिक क्षति पुगेको थियो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *