साउनमा चलेनन् नेपाली चलचित्र

डिसी नेपाल
३० साउन २०७५ ५:३१

काठमाडौं। साउन महिनामा झण्डै एक दर्जन नेपाली चलचित्र प्रदर्शनमा आए। केही चलचित्रले औसत व्यापार गरेपनि अरुको अवस्था भने विजोग नै रह्यो। साउन ४ गते भैरे, पण्डित बाजेको लौरी र चक्कर प्रदर्शन भए। भैरेले औसत व्यापार गरेपनि अन्य दुई चलचित्रले पानी पनि पाउन सकेनन्। साउन ११ मा रोमियो एण्ड मुना, चि मुसी चि र सुकुलगुण्डा प्रदर्शन भए।

रोमियो एण्ड मुनाले समीक्षकको सकारात्मक प्रतिक्रिया पनि बटुल्यो तर सफल हुन सकेन। त्योसँगै दोस्रो शुक्रबार प्रदर्शनमा आएका ३ वटै चलचित्र असफल रह्याे।

त्यस्तै साउन १८ गते कायरा र झमकबहादुर प्रदर्शनमा आए। आर्यन सिग्देल र साम्राज्ञी राज्यलक्ष्मी शाह पहिलोपटक एकसाथ पर्दामा देखिएकाले पनि कायराप्रति दर्शक प्रतिक्षित थिए। तर अन्नत: दर्शक निराश हुनुपर्यो। औसत व्यापार गरेको बताइए पनि कायराले न समीक्षकको नै राम्रो प्रतिक्रिया पायो न दर्शकले नै चलचित्र रुचाए।

साउन २५ मा कहीँ कतै, टिन एज र पिरिम पर्या छन् गरी ३ चलचित्र प्रदर्शनमा आए। यी बक्स अफिसमा महिनाका सबैभन्दा कमजोर चलचित्र सावित भए। यसरी सरसर्ती हेर्दा साउन महिना चलचित्रका लागि असफल महिना सावित भयो।

भैरे र कायराले देश र विदेश प्रदर्शनबाट लगानी मात्र उठाउन सक्लान्। तर ति बाहेक अन्य चलचित्र घाटामा गए। वर्षाको भेल सरह यी चलचित्र आए अनि गए। केही एउटै हातको औलामा गन्न सकिने चलचित्रबाहेक अरु चलचित्र हलमा लागेको दर्शकले पत्तो समेत पाएनन्। साउन महिनामा नयाँ कलाकारदेखि स्टारकै कलाकारलाई पनि दर्शकले पत्याएनन्। चलेका निर्माता, निर्देशकका चलचित्र पनि नराम्रोसँग पछारिए।

दर्शकले रुचाएका नायक–नायिका नै निर्माताको पहिलो रोजाइमा पर्छन्। चलचित्रमा उनीहरुलाई राखे चलचित्र हिट हुने विश्वास धेरै निर्माता, निर्देशकमा हुन्छ। तर अब चलेकै कलाकारका चलचित्र पनि फ्लप भएपछि निर्माता, निर्देशकले टाउको समात्नु शिवाय विकल्प रहेन्।

हप्तामा ३ देखि ४ वटासम्म चलचित्र रिलिज भइरहेका छन्। तर महिनामा एउटा चलचित्र पनि सफल नहुनु लाजमर्दो छ। बैशाखदेखि नै दर्शक नआएर हलको अवस्था विजोग छ।

यसरी लगातार एकपछि अर्को चलचित्र चिप्लिदाँ दर्शक किन हलसम्म आएनन् भन्ने प्रश्न फेरि चलचित्र बजारमा उब्जनु जरुरी छ। सुस्ताएको नेपाली चलचित्रको व्यापार अव कुन चलचित्रले उकास्ने हो? के भदौले हल संचालकहरुलाई राहतको श्वास फेर्ने मौका देला? त्यसका लागि भने केही समय कुर्नुपर्ने छ।

–डिसी नेपालबाट साभार




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *