रियालिटी शोको नाममा इण्डियन आइडलमा हुन्छ यस्तो काम, नेपाल आइडल अछुतो होला ?

डिसी नेपाल
९ भदौ २०७५ १३:०७

काठमाडौं। टिभीमा आउने रियालिटी शोले प्रतिभालाई अगाडि बढाउने दावी गर्छन् । उनीहरुले प्रतिभा भएकाहरुको लागि आफ्नो रियालिटी शो सपना पूरा गर्ने सही माध्यम भएको दावी गर्छन् । आम दर्शकले पनि यो कुरालाई पत्याउँछन् । तर, भारतमा चलिरहेको गायनको रियालिटी शो इण्डियन आइडलका एक सहभागीले निकै आश्चर्यजनक खुलासा गरेका छन् । उनले रियालिटी शो प्रतिभा अगाडि बढाउने नभइ आफूसँग भएको सपना नष्ट गर्ने ठाउँ भएको बताएका छन् ।

इण्डियन आइडलमा २०१२ मा अडिसन दिन पुगेका निशान्त कौशिक नामका युवकले ट्वीट गरेर शोको बारेमा निर्क आश्चर्यजनक खुलासा गरेका छन् । उनले लेखेका छन् ‘मानिन्छ कि यो शो प्रतिभा अगाडि बढाउने सही ठाउँ हो तर मलाई लाग्छ यो आफ्नो सपना नष्ट गर्ने ठाउँ हो । २०१२ मा मुम्बइमा अडिशन आयोजना गरिएको थियो । जहाँ म केवल रमाइलोका लागि गएको थिएँ । यहाँ करिब २ किलोमिटर लामो लाइन लागेको थियो । मैले ख्याल गरें केहीमा निकै जोश थियो । उनीहरु आफ्ना सपना पूरा गर्न यहाँसम्म पुगेका थिए ।’

निशान्तले अगाडि लेखेका छन् ‘म बिहान ७ बजे लाइनमा बसें । यहाँ केही यस्ता थिए जो बिहान ७ बजेदेखि लाइन लागेका थिए । यतिमात्र होइन केही त रातीदेखि नै लाइनमा थिए । तबसम्म कसैले यो बताएको थिएन कि यहाँ पहिले आउनेको पालो पहिले आउने सिस्टम छैन । घण्टौं प्रतिक्षा गरेपछि दिउँसो १ बजे बल्ल ढोका खोलियो । घण्टौं पर्खिनुपर्ने थियो तर त्यहाँ शौचालयको समेत व्यवस्था थिएन । न कुनै खानपिनको व्यवस्था थियो । लाइन छोडेर गयो भने आफ्नो ठाउँ गुम्थ्यो ।’

निशान्त अगाडि लेख्छन् ‘त्यसोभए के १ बजे हाम्रो पर्खाइ सकियो ? गलत । १ बजे त हामीलाई भेडाबाख्राको बथानजस्तै स्कुलको ग्राउण्डमा पठाइयो । केही बेरमा अघिल्लो वर्षको विजेता श्रीराम आए । उनले स्पिकरमा बजिरहेका गीतमा केवल आफ्नो ओठ हल्लाए । यो सब साँझ ५ बजेसम्म चलिरह्यो । त्यही बेला मैले ख्याल गरें त्यहाँ यति ठूलो भीडको लागि एक ट्यांक पानी र एउटा शौचालय थियो । त्यही बेला मैले आयोजकमध्येका १ सँग सोधें के हामी खान वा पानीको लागि जान सक्छौं ? उनले अडिसन कुनै पनि बेला सुरु हुन सक्ने बताउँदै आफ्नो रिस्कमा जान सक्ने बताए ।

साँझ ८ बजेसम्म अडिसन सुरु भएन । हामीलाई अन्य स्टेजमा लगियो र त्यहाँ चिच्याउन लगाइयो ‘वि लभ इण्डियन आइडल ।’ निशान्तले अगाडि लेखेका छन् ‘म तीन राउण्डपछि अडिसनबाट आधारातमा बाहिरिएँ । तर म घर आएर खुसी छु । कुनै पनि कलाकारले आफ्नो प्रतिभा अगाडि बढाउन परिवार साथीहरुको सहयोग लिनुपर्छ न कि यी रियालिटी शोको । यी रियालिटी शोलाई कुनै हक छैन कलाकारको यसरी बेइज्जती गर्ने । टिआरपीका भोका यी शोलाई ट्यालेन्टसँग कुनै मतलब छैन।’

अहिले इण्डियन आइडलको दशौं सिजन र नेपाल आइडलको दोस्रो सिजन चलिरहेको छ । यही बीचमा इण्डियन आइडलका सुरुका सिजनकी होस्ट मिनी माथुरले पनि निशान्तको कुराको समर्थन गरेकी छिन् । उनले समेत रियालिटी शोमा के हुन्छ भन्ने आफूलाई राम्रोसँग थाहा भएको र यही कारण आफूले इण्डियन आइडल छोडेको बताएकी छिन् । उही फ्रेन्चाइज शोको भारतमा भएको यो विवादले नेपाल आइडलको विश्व्सनीयता समेत घटाउने देखिएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *