अध्यक्ष ओलीको प्रतिवेदनमा एमाले बैठकको सहमति, बुधबार सचिवालय बैठक
काठमाडाैं। नेकपा एमालेका महासचिव शंकर पोखरेलले आफूले अध्यक्ष केपी शर्मा ओलीलाई पदबाट हटाउन नखोजेको र पुनर्गठनका लागि दिएको सुझावलाई गलत रूपमा बुझिएको प्रष्टीकरण दिएका छन्।
ललितपुरको भनिमण्डलस्थित रामबाग महलमा जारी एमाले केन्द्रीय कमिटी बैठकको दोस्रो दिन सम्बोधन गर्दै महासचिव पोखरेलले अध्यक्ष र आफूबीच फाटो ल्याउने प्रयास भइरहेको बताए।
उनले भने, “अध्यक्षज्यूले मैले उहाँलाई हटाउन खोजेको रूपमा बुझ्नुभएछ। कार्यदलमा आएको सुझावको आधारमा अब सबैजना कोर्स करेक्सनमा जानुपर्छ मात्रै भनेका हौँ। उहाँ र मेरो बीचमा दूरी बढाउन खोजियो।”
बैठकमा महासचिव पोखरेल र उपाध्यक्ष विष्णु पौडेल दुवैले अध्यक्ष ओलीको राजनीतिक प्रतिवेदनप्रति समर्थन जनाएका छन्। उपाध्यक्ष पौडेलले अध्यक्षको प्रतिवेदनको ‘स्पिरिट’ सही रहेको र यसमा समावेश मुख्य १५ वटा योजनाअनुसार पार्टी अगाडि बढ्नुपर्ने धारणा राखेकाे सहभागी एक नेताले जानकारी दिए।
यस्तै महासचिव पोखरेलले अध्यक्षले गर्नुपर्ने आत्मसमीक्षा र महसुस प्रतिवेदनमा गरिसकेकाले अब यसमा कुनै विमति नरहेको बताए। “अध्यक्षको प्रतिवेदनलाई संश्लेषण गरेर अगाडि जानुपर्छ। म आफू अध्यक्ष हुन खोजेको पनि होइन र अध्यक्षलाई हटाउन खोजेको पनि होइन,” उनकाे भनाइ थियाे।
अध्यक्ष ओली आफैंले सञ्चालन गरिरहेको उक्त बैठकमा पदाधिकारीहरूका लागि १५ मिनेटको समय छुट्याइएको थियो भने केन्द्रीय सदस्यहरूलाई वर्णानुक्रमअनुसार बोल्न ३ मिनेटको समय दिइएको छ।
केन्द्रीय कमिटी बैठकमा उठेका विषयहरूलाई संश्लेषण गर्न र छलफललाई निष्कर्षमा पुर्याउन अध्यक्ष ओलीले बुधबारका लागि केन्द्रीय सचिवालयको बैठक आह्वान गरेका छन्।
No ads found for this position



डिसी नेपाल
Facebook Comment