यु-१६ महिला च्याम्पियनसिप : म्यानमारसँग नेपालको लज्जास्पद हार
काठमाडौँ । म्यानमारसँग भारी गोलअन्तरले पराजित भएसँगै नेपाल एएफसी यू–१६ महिला च्याम्पियनसिप छनोटबाट बाहिरिएको छ। समूह चरणको दोस्रो खेलअन्तर्गत आज म्यानमारसँग भएको खेलमा नेपाल ११–१ गोल अन्तरले पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको हो।
हलचोकस्थित सशस्त्र प्रहरी बलको मैदानमा भएको खेलमा नेपालले पहिलो हाफमा १० गोल खाएको थियो। दोस्रो हाफमा भने केही सम्हालिएर खेलेको नेपालले एक मात्र गोल खायो। खेलको शुरुआती छ मिनेटमा तीन गोल गर्दै म्यानमारले नेपाललाई पहिलो हाफमा निकै दबाबमा राख्यो। ७४औँ मिनेटमा नेपालका लागि निकिता थोकरले एक गोल गर्न सफल भइन्।
म्यानमारका लागि सुई और माङले एक्लैले पाँच गोल गरिन्। यस्तै म्यात नाउ हिनले ह्याट्रिक पूरा गर्न सफल भइन्। हिन मार तोई, ह्वाई पो इयान र पोन्ट पोन्टले एक÷एक गोल गरे। समूह ‘इ’बाट फिलिपिन्स र म्यानमारले समान ६ अङ्क जोड्दै अघिल्लो चरण पुग्ने सम्भावना बलियो बनाएका छन्। नेपालले समूह चरणको अन्तिम खेलमा आइतबार मलेशियासँग प्रतिस्पर्धा गर्नेछ।
समूहको शीर्ष दुई टोलीले अर्को वर्ष थाइल्याण्डमा हुने एएफसी यू–१६ महिला च्याम्पियनसिपको यात्रा तय गर्नेछन्। फाइनल चरणमा आठ टोलीले खेल्नेछन्। आयोजक थाइल्याण्डसहित, जापान दक्षिण कोरिया र उत्तर कोरिया फाइनल चरणका लागि यसअघि नै छनोट भइसकेका छन्।
समूह चरणको पहिलो खेलमा बुधबार फिलिपिन्ससँग ४-० ले पराजित भएको थियो । नेपालले समूह चरणको अन्तिम खेलमा आइतबार मलेशियासँग प्रतिस्पर्धा गर्नेछ। आइतबारको खेल नेपालका लागि प्रतिष्ठाको लडाइँ मात्र हुनेछ।
No ads found for this position



डिसी नेपाल
Facebook Comment