पर्दाकी ‘चम्सुरी’, रेष्टुरेण्ट साहुनी !

डिसी नेपाल
२५ असार २०७६ ११:१५

काठमाडौं। ‘चम्सुरी’को नामले परिचित छिन्, हाँस्य कलाकार पल्पसा डंगोल। टेलिसिरियल ‘मेरी बास्सै’मा अभिनय गरेपश्चात उनी पर्दाकै नामले परिचित बनिन्।

‘मेरी बास्सै’ बाहेक उनले थुप्रै टेलिसिरियल, चलचित्र तथा म्युजिक भिडियोमा अभिनय गरेकी छिन्। यो धेरैलाई थाहा भएको कुरा हो। तर यो धेरैलाई थाहा छैन्, उनी व्यवसाय पनि उत्तिकै सक्रिय छिन्।

काठमाडौंको लाजिम्पाटस्थित होटल रेडिसन अगाडि एउटा रेष्टुरेण्ट छ, –‘नेपाली भोजन’। यही रेष्टुरेण्टकी साहुनी हुन् पल्पसा।
डिसी नेपालसँगको भेटमा उनले आफ्नो कलाकारिता बाहेकको यात्राबारे यसरी सुनाइन्।

निःसन्देह मेरो मुख्य पेशा कलाकारिता हो। यो बाहेक व्यावसायमा पनि आवद्ध छु। काठमाडौंको लाजिम्पाटमा ‘नेपाली भोजन’ नामको रेष्टुरेण्ट संचालनमा ल्याएकी छु। यो मेरो एक्लो प्रयास भने होइन। सम्पूर्णदेव थापा, विष्णु पौडेल, आरसी पन्त यसमा साझेदारी हुनुहुन्छ। हामीले यसमा १ करोड रुपैयाँ बढी लगानी गरेका छौं।

२०७१ सालको अन्त्यतिरबाट हामीले ‘नेपाली भोजन’ संचालनमा ल्याएका हौं। पैसा कमाउने भन्दा पनि विदेशी पर्यटकलाई नेपाली संस्कृति देखाउने हाम्रो प्रयास हो।

शुरुमा कल्चर प्रोग्राम मात्रै गर्ने उद्देश्य राखेका थियौं। पछि यसलाई रेष्टुरेण्टका रुपमा पनि विकास गर्यौं। मिस नेपालमा भाग लिएर रंगमञ्चमा आएकी हुनाले शुरुदेखि नै धेरैले ब्यूटी प्याजेन्टका कार्यक्रमहरुमा बोलाउनुहुन्थ्यो। अहिले पनि बोलाउनुहुन्छ।

त्यस्ता कार्यक्रमहरुमा जजको रुपमा सहभागी हुन्छु। मैले पहिले धेरै स्कूलहरुमा डान्स सिकाउँथे। अहिले त्यसलाई कम गरेकी छु। त्यस्तै धेरै रेष्टुरेण्टहरुमा धेरै वर्ष कल्चर प्रोग्राम चलाएँ। अहिले यही रेष्टुरेण्टमै कल्चर प्रोग्राम संचालन हुन्छ। रेष्टुरेष्ट संचालनमा गर्नुको उद्देश्य पनि कल्चर प्रोग्राम थियो।

विस्तारै यसलाई ब्यवस्थित र सुविधा थप्दै गएका हौं। यसमा सबै गरेर २५ जनाजति स्टाफ हुनुहुन्छ। हाम्रो रेष्टुरेण्टको विशेषता भनेकै नेपालीपन हो। पाहुनाहरुले नेपाली खाना/खाजाको स्वाद लिन पाउनुहुनेछ। त्यस्तै, नेपालीपन झल्किने कला संस्कृतिसंग रमाउन पाउनुहुनेछ। रेष्टुरेण्टमा स्टाफहरु समेत नेपाली पोशाकमा उपस्थित हुनुहुन्छ।

म पनि सुटिङ, विदेशका कार्यक्रम नभएको समयमा साँझमा प्रायः यही आउँछु। तीन महिना अघिसम्म तीनवटा सिरियल ‘कन्टिन्यू’ गरेकी थिए। अहिले २ वटा छाडेँ। ‘मेरी बास्सै’मा मात्र अभिनय गरेकी छु।

अब तीज शुरु भएसँगै तीजका गीतमा केही ब्यस्त बन्न थालेकी छु। आउँदा दिनमा कलाकारिता त भैहाल्यो। त्यो बाहेक रेष्टुरेण्टलाई अझ राम्रो बनाउँदै अगाडि बढने सोचेकी छु।

प्रस्तुती : सुशील नेपाल


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *