एनआरएनए कतारको अध्यक्षमा मुक्तदाको उम्मेदवारी

डिसी नेपाल
१७ साउन २०७६ १७:५७

दोहा । गैरआवासीय नेपाली संघ (एनआरएनए) को नवौ सम्मेलनको मिति नजिकिँदै गर्दा अहिले विभिन्न देशमा रहेका राष्ट्रिय समन्वय परिषद्ले धमाधम अधिवेशन गर्दै नयाँ नेतृत्व चुनिरहेका छन्।

त्यसै सिलसिलामा एनआरएनए कतारले पनि आफ्नो अधिवेशन आउँदो ३० अगष्ट र कार्यसमिति चयनका लागि निर्वाचन २३ अगष्टमा गर्ने भएको छ ।

चुनावी सरगर्मी बढेसँगै एनसीसी कतारको विभिन्न पदका लागि आकाङ्क्षीहरूले आ–आफ्नो दाबेदारी प्रस्तुत गर्न थालेका छन्।

यसै क्रममा गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद (एनआरएनए/ एनसीसी) कतारको आगामी कार्यकाल २०१९–०२१ को  लागि अध्यक्षमा मुक्तदा मुसलमानले उम्मेदवारी घोषणा गरेका छन् । उनले बिहीवार साँझ दोहामा एक कार्यक्रमकाबीच अध्यक्ष पदमा आफ्नो उम्मेदवारी घोषणा गरेका हुन् ।

विगत १७ वर्षदेखि कतारलाई कर्मथलो बनाएका मुक्तदा एनआरएनए कतारको सल्लाहकार पनि हुन् । उनी अन्तर्राष्ट्रिय नेपाली मुस्लिम समाजका निवर्तमान अध्यक्षसहित अन्य विभिन्न सामाजिक संघसंस्थामा क्रियाशील छन् ।

एनआरएनए यात्रामा आफ्नो जिम्मेवारी इमानदारीपूर्वक निभाएर मुक्तदाले  सक्रिय व्यक्ति तथा समाजसेवीका रुपमासमेत आफ्नो पहिचान बनाएका छन् ।

मुक्तदाले सकारात्मक सोच र हरेक कामलाई लगनका साथ हेर्नुपर्ने मान्यता राख्दै एनआरएनए कतारले धेरै मुद्दाहरूमा काम गर्न बाँकी रहेको वर्तमान अवस्थामा संस्थालाई गतिशील बनाउदैं प्रभावकारी कार्य दक्षता देखाउन सक्ने अनुभवी नेतृत्व चयन हुनु पर्नेमा जोड दिएका छन्।

एनआरएनलाई नारामा जस्तै सबैको साझा संस्थाको रुपमा विकास गर्ने, सदस्यहरूका भावनाको प्रतिनिधित्व गर्ने, संस्थालाई आर्थिक रुपमा थप सबल बनाउने, संस्थाभित्रका विकृतिहरू हटाउन पहल गर्ने, समाजको बृहत्तर हित र नेपाली समुदायमा जो कोहीलाई पर्न सक्ने दुख र विपदको समाधानको लागि आवश्यक पहल गर्नै जस्ता मुख्य एजेण्डाहरू उनले आफ्नो चुनावी घोषणा पत्रमा अघि सारेका छन् ।

उनले संस्थाभित्र रहेर काम गर्दाको अनुभव र भोगाइबाट संस्थालाई थप गतिशील बनाउन लिइएको लक्ष्य र केही कामको सूची रहेको बताएका छन् । कतारमा आएर नेपालीहरूले प्राप्त गरेको ज्ञान, सीप, क्षमता र अनुभवलाई नेपाल र नेपालीको हितमा जोड्ने कामलाई परिणाममुखी बनाउने उनले प्राथमिक एजेन्डाका रूपमा अगाडि ल्याएका छन्।

त्यस्तै मुक्तदाले वर्तमान कार्यसमितिले सुरुवात गरेका राम्रा कामहरूको निरन्तरता पनि आफ्‍नो प्राथमिकतामा रहने बताएका छन्।

प्रवासमा भावनात्मक तथा एकताको मार्गमासँगै अगाडि वढ्नु पर्छ भन्ने चाहना राख्ने, त्यसको लागि सबै तह तप्काका व्यक्तिहरूसँग समन्वय गरी संस्थालाई एक दरिलो खम्बा बनाउनका लागि प्रणका साथ आफ्नो उम्मेदवारी दिएको डिसी नेपाल प्रतिनिधिसँगको कुराकानीमा मुक्तदाले बताए।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *