कम्प्युटर नचल्ने बनाएर पैसा माग्ने ‘र्‍यान्समवेयर’बाट जोगाउने योजना

डिसी नेपाल
१८ साउन २०७६ १२:५७

जो टाइडी

बीबीसी । साइबर हमलाका पीडितहरूलाई जोगाउने एउटा योजनाले दुई लाख पीडितहरूको कम्तीमा १० करोड आठ लाख अमेरिकी डलर जोगाएको दाबी गरेको छ।

नो मोर र्‍यान्सम परियोजनाले पीडितहरूलाई सल्लाह र सफ्टवेयरहरू दिएर र्‍यान्समवेयर भनिने एकप्रकारको कम्प्युटर भाइरस लागेका कम्प्युटरलाई जोगाउने गर्छन्। गोप्यरूपमा कम्प्युटरलाई कब्जामा लिइ खोल्न र भएका फाइलहरू हेर्न नमिल्ने बनाउने र त्योबाट मुक्ति पाउन पैसा माग्ने भाइरसलाई ‘र्‍यान्समवेयर’ भनिछ।

द नेदरल्याण्डस्‌को प्रहरी युरोपोल र एन्टीभाइसर सफ्टवेयर निर्माता म्याक्याफीले स्थापना गरेको परियोजनामा अहिले संसारभर एक सय ५० साझेदारहरू छन्। सन् २०१९ मा मात्रै १४ वटा नयाँ सफ्टवेयरहरू उपलब्ध गराएको परियोजनाले एक सय नौ प्रकारले काम गर्ने र्‍यान्समवेयरहरूबाट जोगाउन सक्ने युरोपोलले बताएको छ।

 

‘हामीले र्‍यानसमवेयरलाई नजिकबाट नियाल्ने हो भने कुनै पनि उपकरण कति सजिलै केही सेकेण्डमै सङ्क्रमित हुनसक्छ भन्ने देख्नसक्छौँ’ युरोपोलको युरोपियन साइबरक्राइम सेन्टर इसीथ्रीका प्रमुख स्टिभन विल्सनले भने।

‘एउटा गलत क्लीकका कारण कम्प्युटरबाट डेटाहरू, तस्बिरहरू र जीवनका रमाइला सम्झनाहरू सदाका लागि हराउन सक्छ।’ ‘नो मोर र्‍यान्सम परियोजनाले पीडितहरूलाई आशा दिन्छ। अपराधीहरूलाई पनि एउटा स्पष्ट सन्देश पनि दिएको छः अन्तर्राष्ट्रिय समुदायले साझा उद्देश्य राखेर गरिएको कामले अपराधीलाई कानुनको घेरामा ल्याउने छ।’

नो मोर र्‍यान्सम परियोजनाले समाधान गरेको एउटा समस्या सन् २०१८ मा सबैभन्दा बढी आक्रामक भएको ग्यान्डक्र्याब हो। सन् २०१८ को फेब्रुअरीमा ग्यान्डक्र्याब पहिलोपटक सार्वजनिक भएयता ४० हजार मानिसहरूको कम्प्युटरलाई परियोजनाले सफलतापूर्वक मुक्त गरेका थिए। त्यसो गर्दा ह्याकरलाई दिनुपर्ने पाँच करोड डलर जोगिएको थियो।

सन् २०१९ मा र्‍यान्समवेयरबाट ठूला कम्पनीहरूलाई लक्षित गर्न थालिएको छ। नोर्स्क हाइड्रो नामक कम्पनीले गत मार्चदेखि यस्ता हमलाबाट आफ्ना कम्प्युटर जोगाउन छ करोड डलर खर्च गरिसकेको छ।

हमलाका कारण उसका कर्मचारीहरू कम्प्युटर चलाउन नपाउनुका साथै विद्युत उत्पादन पनि रोकिएको थियो। अमेरिकामा र्‍यान्समवेयर हमलाबाट थुप्रै स्थानीय निकायहरू मारमा परेका छन्। ती मध्ये केहीले ह्याकरहरूलाई लाखौँ डलर तिरेका छन्।

साइबर सुरक्षासम्बन्धी कम्पनी इम्सीसफ्टका प्रमुख फबियन वोसरले साइबर अपराधीसँग जुध्न र पीडितलाई मद्दत गर्ने अमेरिकाले धेरै गर्नुपर्ने बताएका छन्।

वोसरले बीबीसी न्यूजलाई भनेः ‘नो मोर र्‍यान्समजस्ता परियोजनाहरू विश्वव्यापी रूपमा र्‍यानसमवेयरसँग लड्नका लागि निकै महत्त्पपूर्ण रहँदै आएका छन्।’ ‘नो मोर र्‍यान्सम परियोजनाको सफलतालाई हेरेर अमेरिकाले त्यस्तै काम गर्ने बेला आएको मान्नुपर्छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *