हतियारको होडबाजी रोक्न नयाँ पारमाणविक सम्झौताको पहल

डिसी नेपाल
१८ साउन २०७६ १८:१९

वाशिङ्टन (एजेन्सी) । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले नयाँ पारमाणविक सन्धिमा रुस र चीनले हस्ताक्षर गरुन् भन्ने आफ्नो चाहना रहेको बताएका छन् । उक्त विषयमा आफूले दुवै देशसँग कुरा गरेको र उनीहरू त्यसबारे ‘निकै उत्साहित रहेको’ ट्रम्पले जानकारी दिए । अमेरिकाले रुससँगको पारमाणविक सन्धि औपचारिकरूपमा तोड्ने निश्चित गरेपछि नयाँ अस्त्र होडबाजी शुरू हुने आशंका गरिएको बेला ट्रम्पले त्यस्तो अभिव्यक्ति दिएका हुन् ।

इन्टरमिडियट–रेन्ज न्यूक्लियर फोर्सेस ट्रिटी आइएनएफ अमेरिकी राष्ट्रपति रोनाल्ड रेगन र तत्कालीन सोभियत संघका नेता मिखाइल गोर्वाचेभले सन् १९८७ मा हस्ताक्षर गरेका थिए । यो सन्धिले ५०० देखि ५,५०० किलोमिटरसम्म प्रहार गर्न सकिने क्षेप्यास्त्रहरूमाथि प्रतिबन्ध लगाउँछ । तर अगस्ट २ मा अमेरिकाले सो सन्धि भङ्ग गरेको छ । यो वर्षको सुरुमा अमेरिका र नेटोले रुसलाई नयाँ खाले क्षेप्यास्त्र प्रयोगमा ल्याएर यो सन्धि तोडेको आरोप लगाएका थिए। मस्कोले भने यो आरोपको खण्डन गरेको थियो ।

सन्धिबाट पछि हटेसँगै पारमाणविक अस्त्रको दौडलाई कसरी निस्तेज बनाउने योजना छ भन्ने प्रश्नमा ट्रम्पले आफ्नो प्रशासनको रुससँग परमाणुसम्बन्धी सहमतिका विषयमा कुराकानी भइरहेको र त्यसले दुवै मुलुकलाई केही हदसम्म डरबाट छुटकारा दिने बताए । ‘हामीले कुनै विन्दुमा चीनलाई पनि समावेश गर्नु पर्ने हुन्छ,’ उनले थपे । त्यस्तो सहमति ‘विश्वका लागि महत्त्वपूर्ण’ हुने उनले बताए । ‘यस विषयमा चीन निकै उत्साहित देखिन्छ । रुसको अवस्था पनि त्यस्तै छ जसकारण कुनै न कुनै समयमा उक्त विषयमा सहमति हुन्छ भन्ने मलाई लाग्छ,’ सञ्चारकर्मीहरूसँगको कुराकानीका क्रममा उनले भने ।

अमेरिकीहरूले रुसले ९एम७२९ क्षेप्यास्त्रहरू विभिन्न स्थानमा तयार राखेको प्रमाण भएको बताएको थियो । त्यही आरोप अमेरिकाले नेटोका सदस्य राष्ट्रहरूसमक्ष राख्दा सबैले समर्थन जनाएका थिए । राष्ट्रपति डोनल्ड ट्रम्पले गएको फेब्रुअरीमा रुसले अगस्ट २ तारिखसम्म यो कदम नसच्याएमा सन्धि तोड्ने बताएका थिए । रुसी राष्ट्रपतिले लगत्तै सो सन्धिबाट रुसको जिम्मेवारीलाई निलम्बन गरेका थिए ।

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेजले ‘पारमाणविक युद्धको एउटा ब्रेक’ हराउन लागेको बताएका छन् । ‘यसले क्षेप्यास्त्रहरूले खतरालाई घटाउने होइजन्, झन बढाएको छ,’ उनले भने । उनले सबै पक्षलाई अन्तर्राष्ट्रिय अस्त्र नियन्त्रण गर्न नयाँ साझा बाटोका लागि सहमति खोज्न अनुरोध गरेका छन् ।

विश्लेषकहरूले ऐतिहासिक सहमति नहुँदा अमेरिका, रुस र चीनबीच अस्त्र होडबाजी शुरू हुने आशंका व्यक्त गरेका छन् । ‘अब यो सन्धि अन्त्य भएपछि हामीले नयाँ अस्त्रहरूको विकास र विस्तार देख्नेछौँ,’ रुसी सैन्य विश्लेषकले एएफपी समाचार संस्थालाई बताए । अमेरिकी राष्ट्रपति रोनाल्ड रेगन र सोभियत सङ्घका नेता मिखायल गोर्वाचेभले सन् १९८७ मा हस्ताक्षर गरेका थिए
सन् १९८७ मा अमेरिका र रुसले सन्धिमा हस्ताक्षर गरेका थिए । सन्धिले समुन्द्रबाट प्रहार गरिने बाहेकका सबै खाले क्षेप्यास्त्रहरूलाई प्रतिबन्ध लगाएको छ । रुसले एसएस(२० क्षेप्यास्त्र तयार राखेपछि चिन्ताग्रस्त अमेरिकाले सन् १९७९ मा युरोपमा पेर्सिङ् र क्रुज क्षेप्यास्त्र राखेको थियो।

सन् १९९१ मा झण्डै २,७०० क्षेप्यास्त्र तयारी अवस्थामा थिए । सन्धि अनुसार दुई देशले एकअर्काको क्षेप्यास्त्र क्षेत्रहरू हेर्न पाउँछन् । सन् २००७ मा पुटिनले सन्धिले रुसलाई फाइदा नगर्ने बताए ।

यो अमेरिकी राष्ट्रपति जर्ज डब्ल्यु बुशले सन् २००२ मा अमेरिकाले क्षेप्यास्त्रसम्बन्धी एक सन्धिबाट हात झिकेपछि भएको थियो । सन् २०१४ मा अमेरिकी राष्ट्रपति बाराक ओबामाले रुसले नयाँ क्षेप्यास्त्र परीक्षण गरेर सन्धि नमानेको आरोप लगाए । तर उनले युरोपेली नेताहरूको दबावका कारण सन्धि तोड्न नसकेको बताइन्छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *