हङ्‌कङमा विरोध प्रदर्शनपछि चिनियाँ सेनाको कडा चेतावनी

डिसी नेपाल
१८ साउन २०७६ २२:१९

हङ्‌कङ (बीबीसी) । हङ्‌कङका प्रहरीले नवौँ हप्तायता प्रदर्शन गर्दै आएका प्रदर्शनकारीमाथि अश्रु ग्यास प्रहार गरेका छन्। विरोध प्रदर्शन शुरू गर्नुअघि प्रदर्शनकारीहरूले मोङ कक जिल्लामा र्‍याली निकालेका थिए।

उनीहरूले शहरभरि गरिने सोमवारको निर्धारित हडतालमा सहभागी हुन आह्वान समेत गरेका छन्। बेइजिङ र चिनियाँ सेनाले हङ्‌कङमा जारी तनावलाई लिएर कडा चेतावनी दिएका छन्।

सरकार र प्रदर्शनकारी दुवै पक्षले आ–आफ्नो अडान कडा पार्दै लगेको पृष्ठभूमिमा सुपुर्दगीसम्बन्धी एउटा विवादास्पद विधेयकलाई लिएर दुई महिनाअघि शुरू भएको प्रदर्शन रोकिने सङ्केत देखिएको छैन।

सरकारले विधेयक तत्कालका लागि स्थगित गरे पनि प्रदर्शनकारीले पूर्ण रूपमा खारेज हुनुपर्ने माग गरेका छन्। उनीहरूको मागको दायरा बढ्दै गएको छ र त्यसमा थप प्रजातन्त्र एवम्‌ नेत्री क्यारी लामको राजीनामाको माग थपिएको छ।

विवादास्पद विधेयकले बलात्कार र हत्याजस्ता अपराधका सन्दिग्धलाई मुख्यभूमि चीन, ताइवान र मकाउसामु सुपुर्दगी गर्न सकिने प्रस्ताव गरेको थियो। हङ्‌कङ सन् १९९७ यता ‘एक देश, दुई प्रणाली’ अन्तर्गत चीनको अङ्ग रहिआएको छ।

त्यसले गर्दा विशेष प्रशासनिक एकाइले न्यायिक स्वतन्त्रतासहित मुख्यभूमिजस्तो नदेखिने स्वतन्त्रता उपभोग गर्दै आएको छ। तर प्रदर्शनकारीहरू सुपुर्दगी विधेयकले हङ्‌कङलाई योजनाबद्ध ढङ्गबाट चीनको पूर्ण नियन्त्रणमा ल्याउन खोजेको भनेर भय प्रकट गर्छन्।

विधेयक निलम्बन गरिएपछि प्रदर्शनकारीका चारवटा खास माग छन्ः

विधेयक पूर्ण रूपमा फिर्ता लिइनुपर्ने

जुन १२ को प्रदर्शनलाई व्याख्या गर्दा प्रयोग गरिएको  दङ्गा शब्द फिर्ता लिनुपर्ने

पक्राउ परेका सम्पूर्ण प्रदर्शनकारीहरू मुक्त गरिनुपर्ने

प्रहरी दमनको अनुसन्धान गरिनुपर्ने

जोस्अ वाङ्क सन् २०१४ को प्रजातन्त्र पक्षधर प्रदर्शनका एकजना नेता हुन् जो १७ जुनमा जेलबाट छिट्टै छुटेका थिए।

जेलबाट छुटेपछि उनले सञ्चारमाध्यम र समर्थकहरूलाई सम्बोधन गर्दै बेइजिङपक्षधर प्रमुख कार्यकारी क्यारी लामले पद छाड्नुपर्ने बताएका थिए।

मुख्य घटनाको समयतालिका

सन् २०१९ मा प्रदर्शनसँग सम्बन्धित हङ्‌कङमा भएका प्रमुख घटनाहरूः

३ अप्रिलः मुख्य भूमि चीनलाई सन्दिग्ध अपराधी सुपुर्दगी गर्न अनुमति दिने गरी कानुन संशोधन गर्न हङ्‌कङ सरकारद्वारा विधेयक प्रस्तुत।

९ जुनः पहिलो पटक अनुमानित १० लाख मानिसहरूको सहभागितामा सरकारको मुख्यालयतर्फ र्‍याली।

१२ जुनः प्रदर्शनकारीहरूले बाटोमा अवरोध गर्दै सरकारी भवनमाथि धावा बोल्ने प्रयास गर्दा प्रहरीद्वारा उनीहरूविरुद्ध अश्रुग्यास र रबरका गोली प्रहार। त्यो थियो उक्त सहरको इतिहासमा दशकौँ अवधिको सबैभन्दा खराब हिंसा।

१५ जुनः हङकङकी नेत्री क्यारी लामद्वारा अनिश्चितकालसम्मका लागि विधेयक स्थगनको घोषणा।

१६ जुनः त्यसपछि पनि विधेयक पूर्ण रूपमा फिर्ता लिनुपर्ने, ुप्रहरी दमनु को अनुसन्धान हुनुपर्ने र नेत्री लामले राजीनामा दिनुपर्ने माग गर्दै अनुमानित २० लाख मानिस सडकमा।

२१ जुनः प्रहरीमाथिको बढ्दो आक्रोशकाबीच प्रदर्शनकारीहरूद्वारा प्रहरी मुख्यालय १५ घण्टा घेराबन्दी।

१ जुलाईः संयुक्त अधिराज्यद्वारा हङ्‌कङ चीनलाई हस्तान्तरण गरिएको वार्षिकीमा प्रदर्शनकारीहरूद्वारा विधानपरिषद्‍को भवनमाथि आक्रमण र तोडफोड।

२१ जुलाईः प्रदर्शनकारीहरूद्वारा हङ्‌कङस्थित चीनको सम्पर्क कार्यालयमा अग्रभागमा छ्यापियो कालो रङ्ग, त्यसै रात सेतो टीशर्ट लगाएका मानिसहरूको समूहद्वारा मुख्य भूमि चीननजिकै रहेको युएन लङ स्टेशनमा प्रदर्शनकारीमाथि आक्रमण।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *