अमेरिका बन्दुक आक्रमण: टेक्सास र ओहायो गोलीकाण्डपछि ट्रम्पले भने ‘घृणालाई ठाउँ छैन’

डिसी नेपाल
२० साउन २०७६ ८:१७

काठमाडौँ । टेक्सास र ओहायोमा २९ जनाको ज्यान जानेगरी गोलीकाण्डहरू भएपछि अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले घृणालाई आफ्नो देशमा कुनै स्थान नभएको बताएका छन्। यस्ता हिंसा रोक्न के गर्न सकिन्छ भन्ने विषयमा ट्रम्पले महान्यायाधिवक्ता, गुप्तचर निकाय एफबीआई र कंग्रेस सदस्यहरूसँग कुरा गरिरहेको बताए।

त्यसबारे उनले सोमवार आफ्नो औपचारिक धारणा सार्वजनिक रूपमा बताउने योजना बनाएका छन्। ट्रम्पले भविष्यमा यस्ता खालका घटना हुन नदिन अझै धेरै गर्नु पर्ने बताए। उनले संवाददाताहरूसँग भने, “हाम्रो देशमा हिंसालाई कुनै स्थान छैन। हामीले यसलाई रोक्नका लागि आवश्यक काम गर्नेछौँ। यस्ता घटना वर्षौँदेखि भइरहेका छन्। अब हामीले यसलाई रोक्नैपर्छ।” उनले अल पासो र डेटनमा भएका घटना “मानसिक रोगको समस्याका कारण” भएको बताए।

नरसंहार

विपक्षी डिमोक्र्याटिक पार्टीका नेताहरूले उनले “गोरो राष्ट्रवाद”को आलोचना नगरेको र आप्रवासी र अश्वेत मानिसहरूबारे उत्तेजना फैलाउने खालका टिप्पणीहरू गर्ने गरेको भन्दै ट्रम्पको आलोचना गरेका छन्। अल पासो नगरमा भएको नरसंहारमा गोरा जातिको सर्वोच्चता चाहने व्यक्ति जिम्मेवार भएको ठानिएको छ।

त्यहाँ २० जनाको ज्यान जानेगरी भएको नरसंहारलाई “आन्तरिक आतङ्कवाद”को घटनाको रूपमा अनुसन्धान भइरहेको बताइएको छ। त्यहाँको घटनाका सन्दिग्ध व्यक्तिले अन्लाइनमा राखेको वक्तव्यमा टेक्सस राज्यमा हिस्पानिक अर्थात् दक्षिण अमेरिकी मूलका आप्रवासीहरूले आधिपत्य जमाएको भन्दै उनीहरूको आलोचना गरिएको छ।

आक्रमणको भत्सर्ना

अर्कोतिर नौ जनाको ज्यान लिने नरसंहार भएको ओहायोको डेटनमा प्रहरीले घटनाबारे थप विवरण सार्वजनिक गरिरहेको छ। उनीहरूका अनुसार त्यो घटनामा आक्रमणकारीकी बहिनीको पनि ज्यान गएको छ। एक मदिरालयमा गोली चलाउने ती बन्दुकधारी घटनालगत्तै प्रहरीको गोली लागेर मारिएका थिए।

अमेरिकासँग सीमा जोडिएको दक्षिणी छिमेकी मेक्सिकोले पनि टेक्ससको अल पासोमा भएको गोलीकाण्ड मेक्सिकोबाट आएका मानिसहरूमा लक्षित रहेको भन्दै मेक्सिकोले त्यो आक्रमणको भर्त्सना गरेको छ। अल पासोमा मारिएका छ जना मेक्सिकोका नागरिक थिए।

मेक्सिकोका परराष्ट्रमन्त्री मार्सेलो एब्रार्दले मेक्सिकोले आफ्नै प्रकारको कानुनी बाटो अवलम्बन गर्ने र सन्दिग्ध व्यक्तिलाई सुपुर्दगी गराउन अनुरोध गर्नेबारे सोचविचार गरिरहेको जनाएको छ। त्यसअघि मेक्सिकोका अर्का नेताले यस्ता खालका घटनालाई उक्साउने खालका अभिव्यक्तिहरू आउने क्रम रोकिनुपर्नेमा जोड दिएका थिए। बीबीसी




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *