‘एल पासो गोलीकाण्ड आतंकवादी कार्य हो’

डिसी नेपाल
२० साउन २०७६ १७:२४

मेक्सिको सिटी (रासस/एएफपी) । मेक्सिकोका विदेशमन्त्री मार्सेलो एब्रार्डले अमेरिकाको एल पासोमा भएको गोलीकाण्डलाई मेक्सिकोका नागरिकले आतंकवादी कार्यका रुपमा लिएको बताएका छन् । उनले एल पासो गोलीकाण्डमा केही मेक्सिकाली नागरिकको पनि मृत्यु भएकाले गोली चलाउने व्यक्तिलाई मेक्सिको सुपुर्दगी गर्न अमेरिका समक्ष आग्रह गरिने जानकारी दिएका छन् ।

अमेरिकाको टेक्सासस्थित एल पासोको एक वाल्मार्ट सपिङ मलमा शनिबार एक व्यक्तिले गोली चलाउँदा २० जनाको मृत्यु भएको थियो । मारिएका व्यक्तिमध्ये सात जना मेक्सिकाली मूलका व्यक्ति परेका थिए । मेक्सिकोका महान्यायाधीवक्ताले गोली चलाउने व्यक्तिलाई सुपुर्दगी गराउने विषयमा सम्भावित कानुनी बाटो खोजी गरिरहेको विदेशमन्त्री एब्रार्डले बताए। गोली चलाउने व्यक्ति हाल अमेरिकी प्रहरीको नियन्त्रणमा रहेका छन् ।

विदेशमन्त्री एब्रार्डले मेक्सिकोले गोली चलाउने व्यक्तिलाई आतंकवादी ठहर गरेको पनि बताए । अर्कोतर्फ, मेक्सिकाली राष्ट्रपति आन्द्रेस म्यानुएल लोपेज ओब्राडोरले एल पासो घटनाका दोषीमाथि कडाभन्दा कडा कारबाही गर्नुपर्ने बताउँदै संयुक्तराज्य अमेरिकामा हतियारको खुलेआम प्रयोगमा नियन्त्रण आवश्यक रहेको बताएका छन् । विदेशमन्त्री एब्रार्डले पीडित परिवारसँग भेट गर्न सोमबार एल पासोको भ्रमण गर्न लागेको पनि बताए ।

प्याट्रिक क्रुसियस नाम गरेका २१ वर्षीय एक युवाले टेक्सासमा हिस्पानिक समुदायका व्यक्तिको आप्रवासन बढेको भन्दै एल पासोस्थित वाल्मार्ट सपिङ मलमा अन्धाधुन्ध गोली चलाएका थिए । मेक्सिकोसँगको सीमा नजिक अमेरिकाको एल पासोमा ल्याटिनो समुदायका मानिसको बाक्लो बसोबास छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *