अब संसद अवरोध नहुने व्यवस्था गर्छौ : नेम्वाङ

डिसी नेपाल
२० साउन २०७६ १९:२४

काठमाडौं। प्रतिनिधिसभाले सोमबार गठन गरेको संसदीय विशेष समितिका संयोजक सुवाष नेम्वाङले संसद बैठक अवरुद्ध नहुने गरी अध्ययन प्रतिवेदन तयार पारी संसदमा पेश गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।

सत्तारुढ नेकपा संसदीय दलका उपनेता समेत रहेका संयोजक नेम्वाङले संविधान, नियम र स्थापित परम्परालाई समेत ध्यानमा राखेर संसद अवरुद्ध नहुने गरी आवश्यक सुझाव संसदमा पेश गर्ने गरी प्रतिनिधिसभाले आफू नेतृत्वको विशेष समितिलाई कार्यादेश दिएको पनि बताए।

संघीय संसदको प्रतिनिधि सभाले प्रतिनिधिसभा भइरहेको अवरोधका सम्बन्धमा र आगामी दिनमा त्यसो हुन नदिने गरी आवश्यक सुझाव दिन ३० दिनको म्याद दिएर नेम्वाङको नेतृत्वमा काँग्रेस सचेतक पुष्पा भुसाल र नेता मिनेन्द्र रिजाल, नेकपाका प्रमुख सचेतक देवप्रसाद गुरुङ र विन्दा पाण्डे, सत्ता साझेदार समाजवादी पार्टी, नेपालका उमाशंकर अरगरिया र राष्ट्रिय जनता पार्टी, नेपालका नेता लक्ष्मणलाल कर्ण सदस्य रहेको ७ सदस्यीय संसदीय विशेष समिति गठन गरेको छ । सो समितिले तोकिएको समय भित्र फेरि संसद बैठक अवरुद्ध नगर्ने गरी आवश्यक अध्ययन प्रतिवेदन संसदमा पेश गर्ने समितिका संयोजक नेम्वाङले बताए।

काँग्रेस सचेतक एवम् सो समितिकी सदस्य पुष्पा भुसालले सर्लाही घटनाका सम्बन्धमा पनि समितिले अध्ययन प्रतिवेदन तयार पारी संसदमा पेश गरेर सरकारलाई आवश्यक निर्देशन दिने बताइन्। उनले सरकारलाई संसदप्रति जवाफदेही बनाउन पनि सो समिति उपयोगी हुने विश्वास पनि व्यक्त गरिन्।
समितिका अर्का सदस्य एवम् राष्ट्रिय जनता पार्टी, नेपालका नेता लक्ष्मणलाल कर्णले संसद फेरी अवरुद्ध हुन नदिन आवश्यक सुझाव दिन सो समिति गठन गरिएको स्पष्ट पारे । उनले सो समितिले सर्लाही घटना र गिरिशचन्द्र लाल आयोगको प्रतिवेदनबारे पनि अध्ययन गरी संसदमा प्रतिवेदन पेश गर्ने विश्वास पनि व्यक्त गरे।

प्रमुख प्रतिपक्ष नेपाली काँग्रेस र राष्ट्रिय जनता पार्टी, नेपालले सर्लाहीमा गैरन्यायिक हत्या राज्यपक्षबाटै गरिएको दावी गर्दै छानविनका लागि संसदीय समिति गठन गर्न माग गर्दै प्रतिनिधिसभा बैठक अवरुद्ध पार्दै आएका थिए । सो अवरुद्ध हटाउने क्रममा पूर्व सभामुख समेत रहेका नेम्वाङको नेतृत्वको अब संसद बैठक अवरुद्ध हुन नदिने गरि सुझाव दिन सर्वदलीय संसदीय विशेष समिति गठन गरिएको हो ।

समितिले कार्यविधि तय गरि मंगलबारदेखि आफ्नो कामलाई अघि बढाउने पनि संयोजक नेम्वाङले बताए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *