पाँच बुँदे घोषणापत्र जारी गर्दै अन्तर्राष्ट्रिय सर्प कार्यशाला

डिसी नेपाल
२१ साउन २०७६ १०:५७

रामपुर । पाँच बुँदे घोषणापत्र तयार गर्दै कालीगण्डकी नदी उत्तरबाहिनी क्षेत्रमा चलेको अन्तर्राष्ट्रिय सर्प कार्यशाला सकिएको छ। पाल्पाको रम्भा गाउँपालिका, स्याङ्जाको गल्याङ नगरपालिका, वन तथा कृषि विश्वविद्यालय चितवन रामपुर र कालीगण्डकी ज्ञानविज्ञान प्रतिष्ठानको आयोजनामा कार्यशाला भएको हो । नागपञ्चमीको अवसर पारेर शनिबारदेखि शुरु भएको कार्यशाला सोमबार सकिएको हो।

पाल्पाको रम्भा गाउँपालिका–१ तथा गल्याङ नगरपालिका मालुङको सीमा क्षेत्रमा तीन दिनसम्म चलेको कार्यशालाले नागपञ्चमीको दिनलाई अन्तर्राष्ट्रिय सर्प दिवस मनाउनका लागि नेपाल सरकारमार्फत सम्बन्धित निकायमा पठाउने, ‘सर्पबाट बचौँ, सर्पलाई बचाऊँ’ भन्ने मूल नारालाई साकार बनाउने, अन्तर्राष्ट्रिय सम्मेलन २०७७ को नागपञ्चमीको दिन चितवनमा सञ्चालन गर्ने, कार्यशाला गोष्ठीबाट निस्केका निष्कर्षलाई हुबहु सम्बन्धित निकायमा पठाउने घोषणापत्र तयार पारिएको छ।

घोषणापत्रअनुरुप प्रतिवेदन तयार पार्नका लागि चैतन्य कृष्ण प्रभुको संयोजकत्वमा डा. प्रमोद ढकाल, प्रा. डा. तुलसी खनाल, देवप्रसाद पाण्डे, डा. मोतीप्रसाद ढकाल सदस्य रहेको पाँच सदस्यीय प्रतिवेदन तयारी समिति चयन गरेको रम्भा गाउँपालिकाका अध्यक्ष विष्णुप्रसाद भण्डारीले जानकारी दिए।

समितिले एक महीनाभित्र प्रतिवेदन तयार पार्नेछ। गण्डकी प्रदेशका कृषि तथा सहकारी मन्त्रालयका तालीम शाखा प्रमुख सहसचिव वासुदेव काफ्लेले सर्पलाई चिन्न सके यसको महत्व र मित्रताको सन्दर्भमा जानकारी हुने बताए । कार्यक्रममा अन्तर्राष्ट्रियस्तरमा नागपञ्चमीको परिचय गराउने, सर्पलाई बचाउने, सर्प शत्रु होइन मित्र हो भन्ने जानकारी सबैमा फैलाउन आवश्यक रहेको रम्भा गाउँपालिका पाल्पाका अध्यक्ष विष्णुप्रसाद भण्डारीले बताए ।

नेपालमा ८९ प्रकारका सर्प भएकामा चार प्रकारका मात्रै विषालु रहेको निष्कर्षसहित सबै सर्पका विषयमा यमप्रसाद भण्डारी, डा. देवप्रसाद पाण्डेले सर्पको मुख र यसको विषको विषयमा प्रयोगात्मक ज्ञान, सीपसमेत सिकाएका थिए । सर्पले मुसा, किरा फट्याङ्ग्रा खाएर खेतीपाति जोगाउन मद्दत गर्ने, सर्पका विषलाई प्रशोधन गरेर औषधिको रूपमा प्रयोग गर्न सकिने, धार्मिक दृष्टिले पनि यसको महत्व रहेको पाइन्छ। रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *