कायरोमा २ स्वचालित मोनोरेल बनाउन ४.५ अर्ब डलरको सम्झौता

डिसी नेपाल
२१ साउन २०७६ १२:१२

मन्ट्रियल । क्यानाडाली कम्पनी बम्बार्डियरले इजिप्टको राजधानी कायरोमा दुई वटा स्वचालित मोनोरेल लाइन बनाउन चार अर्ब ५० करोड अमेरिकी डलरमा सम्झौता गरिएको जनाएको छ। राजधानी कायरोको अति व्यस्त सवारी चापको व्यवस्थापनका लागि नयाँ मोनोरेलको निर्माणले ठूलो सहजता ल्याउने बताइएको छ।

यी मोनोरेलबाट प्रतिघण्टा करिब ४५ हजार यात्रुलाई गन्तव्यसम्म पु-याउन सकिने कम्पनीले जनाएको छ । कम्पनीका अध्यक्ष ड्यानी डी पर्नाले कायरोको अस्तव्यस्त ट्राफिकलाई व्यवस्थापन गर्न यस परियोजनाले ठूलो सहयोग पुर्याउने बताए । कम्पनीद्वारा जारी विज्ञप्तिमा आगामी ३० वर्षसम्म मोनोरेलको निर्माण, विकास र मर्मतसम्भारमा तीनवटा कम्पनी मुख्यरुपमा जिम्मेवार रहने उल्लेख छ।

कायरोमा हाल करिब दुई करोडभन्दा बढी मानिसको बसोबास छ। मोनोरेलको पहिलो लाइन ३४ माइल (५४ किलोमिटर) को हुनेछ जसले कायरोको पूर्वी भागबाट नयाँ प्रस्तावित प्रशासकीय राजधानीलाई जोड्नेछ। दोस्रो लाइन भने २६ माइलको हुनेछ, र यसले गिजा नगरलाई जोड्नेछ। बम्बार्डियरले यसअघि ब्राजिलको साओपाउलो, थाइल्यान्डको बैंकक र चीनको उहुमा मोनोरेल निर्माण र सञ्चालन गरिरहेको छ। रासस


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *