भारतीय पूर्व विदेशमन्त्री सुष्मा स्वराजको निधन

डिसी नेपाल
२२ साउन २०७६ ६:०५

नयाँ दिल्ली, भारत । भारतकी पूर्व विदेश मन्त्री सुष्मा स्वराजको ६७ वर्षको उमेरमा मङ्गलबार राति निधन भएको छ । स्वराजको स्वास्थ्यमा एक्कासी समस्या देखिएपछि मङ्गलबार नै अल इन्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्सेस (एम्स) मा भर्ना गरिएको थियो ।

स्वराजलाई संघीय स्वास्थ्य मन्त्री हर्ष बर्धनसहितका आफन्तजनले अस्पतालमा पुर्याएका थिए । उनले मङ्गलबार साँझ नौ बजेसम्म टेलिभिजन हेरिरहेको बताइएको छ । स्वराजको निधनको खबरपछि संघीय मन्त्रीहरू प्रल्हाद पटेल, राजनाथ सिंह, पियुष गोयल र नीतिश गोडकरीसहितका भाजपा नेताहरू तत्काल अस्पताल पुगेका थिए ।

भारतीय जनता पार्टीकी वरिष्ठ नेता स्वराजले मंगलबारदिउँसो संविधानको धारा ३७० खारेज गर्ने साहसिक कदमको स्वागत गर्दै उक्त कदमका लागि प्रधानमन्त्री नरेन्द्र मोदीलाई बधाई दिएकी थिईन् । “प्रधानमन्त्रीलाई धन्यवाद । धेरै धेरै धन्यवाद । म मेरो जीवनमा यो दिन हेर्न पर्खिराखेकी थिएँ ,” स्वराजले सामाजिक सञ्जाल ट्वीटरमा उल्लेख गरेकी छिन् ।

स्वराजले सन् २०१४ मा गठन भएको मोदी सरकारको पहिलो कार्यकालमा विदेश मन्त्री नियुक्त भएकी थिईन् । उनले स्वास्थ्यको कारण देखाउँदै सन् २०१९ को निर्वाचनमा भने लोक सभाका लागि प्रतिस्पर्धाबाट बाहिर बस्ने इच्छा व्यक्त गरे अनुसार उनलाई भाजपाले उम्मेदवार बनाएको थिएन ।

विदेश मन्त्रीका रूपमा स्वर्गीय स्वराजले सफलताका साथ जिम्मेवारी निर्वाह गरेकी थिईन् । उनको वाकपटुता र स्पष्ट भाषण कलाले भारतीय राजनीतिमा भाजपाको प्रसिद्धिमा थप ख्याती मिलेको थियो। यसैबीच प्रधानमन्त्री नरेन्द्र मोदीले पूर्व संघीय मन्त्रीको निधनप्रति दुःख व्यक्त गर्दै भारतीय राजनीतिमा एउटा गौरवपूर्ण अध्यायको अन्त्य भएको बताएका छन् ।

प्रधानमन्त्रीले ट्वीटरमार्फत लेखेको शोक सन्देशमा भनिएको छ, “भारतीय राजनीतिमा एउटा गौरबपूर्ण अध्यायको अन्त्य भएको छ । भारतले उनको सार्वजनिक सेवा र खासगरी गरीब भारतीयको जीवनलाई सही मार्ग दिनका लागि गरेको अद्भुत समर्पणका लागि भारतले उहाँलाई सधैँ सम्झिरहनेछ । उहाँ करौडौँ जनताका लागि प्रेरणाको श्रोत हुनुहुन्थ्यो ।” रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *