कोहलपुर र बैजनाथमा विपद् पूर्वानुमान गर्न सेन्सर जडान

डिसी नेपाल
२२ साउन २०७६ ७:०९

बाँके । विपद् व्यवस्थापनका लागि बाँकेको कोहलपुर र बैजनाथमा सेन्सर जडान गरिएको छ । विपद्सम्बन्धी पूर्वजानकारी दिन बाँकेका आठ स्थानीय तहमध्ये दुई स्थानीय तहमा अत्याधुनिक सेन्सर जडान गरिएको हो। स्थानीय तहसँगको समन्वयमा ताइवानी संस्था नेशनल साइन्स एण्ड टेक्नोलोजी सेन्टर फर डिजास्टर रिडक्सन (एनसिडीआर) को आर्थिक सहयोगमा कोहलपुर र बैजनाथका १२ स्थानमा सेन्सर जडान गरिएको हो।

जडान गरिएका सेन्सरलाई नियन्त्रण गर्नका लागि कोहलपुर नगरपालिका परिसरमा प्राविधिक कक्षसमेत स्थापना गरिएको छ। सेन्सरबाट प्राप्त सूचनाहरुलाई अध्ययन गर्दै सोही कक्षबाट विपद्सम्बन्धी पूर्वानुमान लगाउन सकिने एनसिडीआरका निर्देशक डा चेङ होङले जानकारी दिए ।

एनसिडीआरका निर्देशक डा चेङ होङका अनुसार सेन्सरले विपद् आउनुअघि साइरनमार्फत जानकारी दिनेछ । सेन्सरले विपद्सम्बन्धी सबै सूचना सङ्कलन गरी सर्वसाधारणलाई जानकारी दिने व्यवस्थासमेत मिलाइएको छ। मोबाइल एप्लिकेसनमार्फत मोबाइलबाटै जानकारी लिन सकिने उक्त प्रविधिले सेन्सरबाट ३ रेक्टर स्केलभन्दा बढीको भूकम्प आउँदा, वर्षाको पानी र हावाहुरीसमेत मापन गर्ने जनाइएको छ। करीब तीन महीना लगाएर दुई स्थानीय तहमा सेन्सर जडान गरिएको कोहलपुर नगरपालिकाका प्रमुख लुटबहादुर रावतले जानकारी दिए ।

प्राकृतिक विपद् भूकम्प, बाढी, डुबान, वर्षा र हावाहुरीबारे पूर्वसूचना प्रणालीका लागि कोहलपुर नगरपालिकाका छ स्थान र बैजनाथ गाउँपालिकाकाका छ स्थानमा सेन्सर जडान गरिएको प्रमुख रावतले बताए । बैजनाथ गाउँपालिकाका अध्यक्ष मानबहादुर रुचालले सेन्सर जडानपछि विपद्बाट हुने सम्भावित जोखिम न्यूनीकरणमा मद्दत पुग्ने बताए । सेन्सर जडानका लागि कोहलपुर नगरपालिकाका प्रमुख रावत र बैजनाथ गाँउपालिकाका प्रमुख रुचाल केही समयअघि ताइवान पुगेर ताइवानी संस्था एनसिडीआरसँग सहमति गरेका थिए । रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *