भारतमा बीजेपी हिटलरको बाटोमा हिँड्दैछः इमरान खान

डिसी नेपाल
२२ साउन २०७६ ९:०८

बीबीसी । पाकिस्तानका प्रधानमन्त्री इमरान खानले भारतमा सत्तारुढ भारतीय जनता पार्टी (बीजेपी) ले विगतमा जर्मनीको नाजी पार्टीले जस्तै जातीय श्रेष्ठतावादी विचारधारा बोकेर अघि बढिरहेको आरोप लगाएका छन्।

भारतले जम्मू–कश्मीरको विशेष हैसियत खोसेको विषयमा छलफल गर्न डाकिएको पाकिस्तानी संसद्‌को संयुक्त सत्रलाई सम्बोधन गर्दै खानले कश्मीरका जनतालाई बराबरी नसम्झिएको र त्यसकारण ती निरन्तर दबाइने गरिएको बताए।

यसरी दबाइँदा त्यहाँका जनताले प्रतिक्रिया जनाउने र पुलवामा जस्तो हमला फेरि हुने अनि फेरि पाकिस्तानमाथि दोष लगाइने उनले बताए। कश्मीरमा जातीय सफाया गर्ने र त्यहाँको जनसङ्ख्याको चरित्रलाई परिवर्तन गर्ने तयारी भइरहेको प्रधानमन्त्री खानले बताए।

उनको टिप्पणीबारे भारतले अहिलेसम्म कुनै प्रतिक्रिया जनाइसकेको छैन। कश्मीरको स्वामित्व पाकिस्तानले पनि दाबी गर्दै आएको छ। पाकिस्तानको सिनेटका विदेश मामिला समितिका सभापति मुसाहिद हुसैनले भने, ‘हामीलाई लाग्छ इजरेलका नेतान्याहुले प्यालेस्टाइनको वेस्ट ब्याङ्कमा जसो गरे कश्मीरमा भारतले त्यस्तै गर्न खोज्दैछ।’

‘जस अनुसार त्यहाँका बहुसङ्ख्यक मुस्लिम समुदायलाई अन्यत्रका मानिसहरू खासगरी हिन्दूहरूको बसोबास तीव्र तुल्याएर अल्पसङ्ख्यकमा परिणत गरिनेछ।’ पाकिस्तानका सेना प्रमुख जनरल कमर जावेद बाज्वाले उक्त विवादित क्षेत्रका मानिसलाई समर्थन गर्न सेना जुनसुकै हदसम्म जान सक्ने चेतावनी दिएका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *