सिंगो देश हल्लाउने बलात्कारको घटनाः पीडितको हालत अझै पनि गम्भीर, वकिल कोमामा

डिसी नेपाल
२२ साउन २०७६ १५:०४

काठमाडौं। सिंगो भारत हल्लाउने उन्नाव बलात्कारको घटनाकी पीडितको हालत अझै पनि गम्भीर छ । दुई दिन पहिले उनलाई एयरलिफ्ट गरेर दिल्लीको एम्स अस्पताल पुर्याइएको थियो । अर्कोतर्फ उनका वकिलको हालतमा पनि कुनै सुधार छैन । उनी अहिले पनि कोमामा छन् । एम्स अस्पतालले दुवैको स्थितिको पछिल्लो बुलेटिन जारी गरेको हो ।

अस्पतालका अनुसार पीडितलाई भेन्टिलेटरमै राखिएको छ । उनको रक्तचाप नियन्त्रण गर्ने प्रयास जारी छ । अस्पतालका अनुसार डाक्टरहरुको विशेष टिम यी दुईको रेखदेख गरिरहेको छ । भारतको सर्वोच्च अदालतले पीडित र उनका वकिललाई एम्समा भर्ना गर्न आदेश दिएको थियो । यो आदेशपछि पीडितलाई सोमबार र वकिललाई मंगलबार एयरलिफ्ट गरेर एम्स ल्याइएको थियो ।

के हो घटना ?

यो घटना २०१७ मा सुरु भएको हो । पीडित युवतीले भाजपाका विधायक कुलदीप सेंगर र उनका भाइहरुले ११ देखि २० जूनसम्म आफूलाई सामूहिक बलात्कार गरेको आरोप लगाएकी थिइन् । यसको जाँचको जिम्मा एसआइटीलाई दिइएको थियो । एसआइटीले विधायकविरुद्ध पर्याप्त सबुत नपाइएको भनेपछि अदालतको आदेशमा मुद्दा दर्ता गरिएन । बरु लगत्तै अर्कै मुद्दामा पीडितका पितालाई पक्राउ गरियो । आरोपीको बदलामा आफ्ना पितालाई पक्राउ गरिएपछि पीडित युवतीले मुख्यमन्त्री निवासबाहिर आत्मदाहको प्रयास गरेकी थिइन् ।

घटना जून २०१७ मा सुरु भए पनि मुद्दा अगाडि बढाइएको थिएन । तर, विपक्षी दलहरुको लगातार दबाबपछि इलाहाबाद हाइकोर्टले यो मुद्दामा स्वतः संज्ञान लियो र राज्य सरकारसँग जवाफ माग्यो । अदालतले सरकारसँग सोध्यो कि आरोपी विधायकलाई गिरफ्तार गरिन्छ कि गरिँदैन ? रकारले जवाफमा विधायकविरुद्ध पर्याप्त सबुत नभएको जानकारी दियो । अदालतले यो जवाफमा असन्तुष्टि जनाउँदै ढिलाइ गरेकोमा सरकारलाई चेतावनी दियो । त्यसपछि योगी सरकारलाई यसको जाँचको जिम्मा सिबीआइलाई दियो । त्यपछि सिबीआइले विधायकलाई हिरासतमा लिएर अनुसन्धान सुरु गर्यो ।

यही बीचमा ३ अप्रिल २०१८ मा पीडितका परिवारले विधायकका भाइ र गुण्डाहरुले पीडितका पितालाई बर्बर रुपमा कुटपिट गरेको आरोप लगाए । त्यही दिन हाइकोर्टले सिबीआइलाई प्रगति विवरण दिन भन्यो । त्यसको पर्सीपल्टै ५ अप्रिलमा हातहतियारसम्बन्धी मुद्दामा पीडितका पितालाई पक्राउ गरियो र १४ दिनको लागि हिरासतमा पठाइयो तर त्यसको ४ दिनपछि ९ अप्रिलमा हिरासतमै पीडितका पिताको मृत्यु भयो ।

१२ अप्रिल २०१८ का दिन केन्द्र सरकारले उत्तर सरकारको सिफरिस मन्जुर गर्दै सीबीआइलाई जाँचको मन्जुरी दिएको थियो त्यसपछि सोही रात सिबीआइले आरोपी विधायकलाई हिरासतमा लिएको थियो । १५ अप्रिलका दिन पीडित परिवारले आरोपी विधायक कुलदीप सिंह सेंगरका समर्थकबाट खतरा भएको बताए । काकाले एक भतिजा ४–५ दिनदेखि बेपत्ता भएको बताए । १७ अप्रिलका दिन सीबीआइले आरोपीविरुद्ध चौथो एफआइआर दर्ता गर्यो र बन्द कोठामा न्यायाधीशले पीडितको बयान लिए ।

१८ अप्रिलका दिन सिबिआइले पीडितका पिताविरुद्ध पुलिसले दर्ता गरेको एफआइआर नक्कली भएको प्रमाण फेला पार्यो तर त्यतिबेलासम्म पिताको मृत्यु भइसकेको थियो । भोलिपल्टै १९ अप्रिलमा सरकारले विधायकलाई दिइएको सबै सुरक्षा फिर्ता लियो । १ मेमा पीडित परिवारले पुलिसमाथि केस सिबीआइलाई सुम्पिनुभन्दा पहिले सेंगरलाई बचाउने नियतले उजुरी बदलेको आरोप लगायो । २ मेमा इलाहाबाद हाइकोर्टमा सिबिआइले सिलबन्दी प्रगति विवरण पेश गर्यो ।

८ मेमा आरोपी विधायकलाई उन्नावबाट सीतापुर जेलमा सारियो । १७ मेमा सीबीआइले पीडितका पिताको जेलमा मृत्यु भएको सम्बन्धमा २ पुलिस अधिकारीलाई हिरासतमा लियो । २१ मे २०१८ मा पीडितका पितालाई हतियारसम्बन्धी नक्कली मुद्दामा फसाउने काममा सेंगरको भूमिका भएको प्रमाण फेला पर्यो । त्यसपछि अदालतमा चलिरहेको केसको बीचमा २८ जुलाइका दिन पीडितको कार दुर्घटना भयो । उनको कारलाई एउटा ट्रकले ठक्कर दिएको थियो जका पीडितकी काकी र सानीमाको मृत्यु भयो । पीडित युवती र उनका वकिल गम्भीर अवस्थामा छन् । यो दुर्घटना नभइ सेंगरकै निर्देशनमा उनीहरुलाई मार्नको लागि ट्रकले ठक्कर दिइएको आशंकामा जाँच भइरहेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *