एनआरएनए कतारमा त्रिपक्षीय प्रतिस्पर्धा, कसको पोल्टामा पर्ला त नेतृत्व ?

डिसी नेपाल
२२ साउन २०७६ १६:४८

काठमाडौं । एनआरएनए एनसीसी कतारको अध्यक्ष पदका लागि उम्मेद्वारी दावी गर्ने क्रम शुरू भएको छ। संघको नवौँ विश्व सम्मेलन नजिकिँदै गर्दा विश्वभरका एनसीसीमा नयाँ नेतृत्व चयनको लहर चलेको हो। यही क्रममा कतारमा पनि नयाँ नेतृत्वका लागि दावीहरू भएका हुन्।

मोहमद मुक्तदा मुसलमान, तेज कट्वाल र रामचन्द्र माझी कतारका लागि दावेदारमा देखिएका छन्। यी तीनैजनाको मनोनयन दर्ता भएपछि आफ्नो माहोल बनाउन उनीहरूले सक्रियता बढाएका छन्।

मोहमद मुक्तदा मुसलमान

विगत १७ वर्षदेखि कतारलाई कर्मथलो बनाएका मुक्तदा एनआरएनए कतारको सल्लाहकार पनि हुन्। उनी अन्तर्राष्ट्रिय नेपाली मुस्लिम समाजका निवर्तमान अध्यक्षसहित अन्य विभिन्न सामाजिक संघसंस्थामा क्रियाशील छन्।

नेकपा पार्टीमा बलीयो पहुँच बनाएका मुक्तदाले एनआरएनए अभियानमा अनुभव पनि बटुलेका छन् । उनी अघिल्लो पटक पनि नेतृत्वको लागि प्रतिस्पर्धामा होमिएका थिए। तर जीत भने आफ्नो पोल्टामा पार्न सकेनन्। उनले अघिल्लो  हारलाई उल्टाएर यसपालि एनआरएनए कतारको नेतृत्व सम्हाल्न चुनावी मैदानमा उत्रिएका छन् । उनी आफ्नो पक्षमा बहुमत सदस्य रहेको दावी गर्दै यसपटक नेतृत्वको जिम्मेवारी आफैले पाउनेमा विश्वस्त छन्।

एनआरएनलाई नारामा जस्तै सबैको साझा संस्थाको रुपमा विकास गर्ने, सदस्यहरूका भावनाको प्रतिनिधित्व गर्ने, संस्थालाई आर्थिक रुपमा थप सबल बनाउने, संस्थाभित्रका विकृतिहरू हटाउन पहल गर्ने, समाजको बृहत्तर हित र नेपाली समुदायमा जो कोहीलाई पर्न सक्ने दुःख र विपदको समाधानको लागि आवश्यक पहल गर्ने जस्ता मुख्य एजेण्डाहरू उनले आफ्नो चुनावी घोषणा पत्रमा अघि सारेका छन्।

उनले संस्थाभित्र रहेर काम गर्दाको अनुभव र भोगाइबाट संस्थालाई थप गतिशील बनाउन लिइएको लक्ष्य र केही कामको सूची रहेको बताएका छन्। कतारमा आएर नेपालीहरूले प्राप्त गरेको ज्ञान, सीप, क्षमता र अनुभवलाई नेपाल र नेपालीको हितमा जोड्ने कामलाई परिणाममुखी बनाउने उनको प्राथमिक एजेन्डा रहेको छ ।

त्यस्तै मुक्तदाले वर्तमान कार्यसमितिले सुरुवात गरेका राम्रा कामहरूको निरन्तरता पनि आफ्नो प्राथमिकतामा रहने बताएका छन्।

प्रवासमा भावनात्मक तथा एकताको मार्गमा सँगै अगाडि बढ्नु पर्छ भन्ने चाहना राख्ने, त्यसको लागि सबै तह तप्काका व्यक्तिहरूसँग समन्वय गरी संस्थालाई एक दरिलो खम्बा बनाउनका लागि प्रणका साथ आफ्नो उम्मेदवारी दिएको मुक्तदाले बताएका छन्।

तेज कटुवाल

अध्यक्ष पदकै दावी गरिरहेका अर्का उम्मेदवार तेज कटुवाल पनि नेकपा समर्थित नै हुन्। उनले एनआरएनए कतारको प्रथम उपाध्यक्ष भएकै बेलामा कार्यवाहक अध्यक्षको पद सम्हालिसकेका छन्।कार्यसमिति सदस्य हुँदै कार्यवाहक महासचिव भएर काम गरेका कटुवाल अध्यक्षका दरिलो दावेदार हुन्।

उम्मेदवारी मनोनयन दर्ता गर्दै कटुवालले गैर आवासीय नेपाली संघले अवलम्बन गरेका नीति, नियम र योजनालाई निरन्तरता दिदैं विगतका अनुभवको आधारमा लक्ष्य प्राप्तिका लागि भरपुर प्रयत्न गर्ने प्रतिवद्धतासमेत जनाएका छन् ।

करिव दुई दशकदेखि कतारमा कार्यरत् कटुवाल भन्छन– ‘कतारमा कार्यरत नेपालीका प्रमुख समस्यामा बढी केन्द्रीत हुनेछु । तत्कालीन र दीर्घकालीन समस्याको पहिचान गरी अगाडि बढ्ने प्रतिवद्धता व्यक्त गर्दछु।’

नेपालको सांस्कृतिक तथा पर्यटकीय सम्भावनाको कतारमा प्रवद्र्धन गर्न समन्वयात्मक प्रयास गर्ने विषयलाईसमेत उनले प्राथमिकतामा राखेका छन् ।

एनआरएनए कतारको विभिन्न पदमा रहेर काम गरिसकेकोले आफू एनआरएनए अभियानबाट बाहिर जान नसक्ने बताउँदै भोगेको अनुभवलाई एक कार्यकाल नेतृत्वमा बसेर सेवा गर्ने चाहाना भएकोले शुभेच्छुकहरूको आग्रहमा अध्यक्षमा उम्मेदवारी घोषणा गरेको कटुवालको भनाई छ।

उनले एनआरएनए कतारको छविलाई माथि उकास्ने र एनआरएनएको एक उदाहरणीय राष्ट्रिय समिति (एनसीसी)का रुपमा अघि बढाउने प्रतिबद्धतासमेत व्यक्त गरेका छन् ।

कतारमा रहेका अधिकांश संघसंस्था र अग्रजको साथ रहेकोले नेतृत्व आफ्नै पोल्टामा पर्नेमा ढुक्क रहेको कटुवालले दावी गर्दै आएका छन् ।

रामचन्द्र माझी 

एनसीसी कतारको अध्यक्ष पदमै रामचन्द्र माझिको पनि उम्मेद्धारी परेको छ । उनी लामो समयदेखि  कतारमा कार्यरत छन् । माझीले गत शुक्रबार निर्वाचन समिति संयोजक बिनेश तामाङसमक्ष  अध्यक्ष पदका लागि आफ्नो उम्मेदवारी मनोनयन दर्ता गराएका हुन् ।

माझीले अध्यक्ष पदमा उम्मेदवारी दर्ता गराएपनि चुनावी दौडधूपमा भने व्यस्त देखिंदैनन् । यसअघि उनी विभिन्न संस्थामा काम गरेको बुझिएको छ ।

मुक्तदा, कटुवाल र माझी तीनै अध्यक्षका उम्मेदवार भएपनि प्रवल सम्भावना भने मुक्तदा र कटुवालको देखिएको छ । तर, यि दुईमध्ये बाजी कस्को पोल्टामा पर्छ त्यो भने अहिले ठम्याउन गाह्रो छ। दुवै नेकपा समर्थित भएकोले पनि यसपटको निर्वाचन निकै रोचक हुने देखिएको छ।

कतारमा रहेका एनआरएनका अगुवा तथा पार्टीका नेतृत्व मुक्तदा र कटुवालको पक्षमा बाँडिएकाले माहोल गर्मिएको छ । एकाथरीले मुक्तदालाई जसरी पनि अध्यक्ष बनाउनु पर्ने भन्दै उनको पक्षमा समर्थन जुटाउन हिडेका छन्, भने अर्कोथरी कटुवालको विकल्प नभएको बताउँदै उनको चुनावी प्रचारप्रसारमा दौडधूप गरिरहेका छन् ।

कतारमा ४ लाख नेपालीहरु कार्यरत छन् । त्यसमध्ये करिव ९० प्रतिशत श्रमीकहरु छन् ।

कतारलगायत खाडी मुलुकहरुमा काम गर्ने नेपालीहरूको एनआरएनए प्रतिको सोच सकारात्मक भन्दा नकारात्मक बढी देखिन्छ। बेला बखत विभिन्न टिका टिप्पणीहरु पनि सुनिन्छन्। धेरैले एनआरएनएलाई हुने खाने पैसावालहरुको संस्था भनेर चिन्ने गर्छन्। कतिपयले खाडी मुलकमा एनआरएनएको आवश्यकता नभएको तर्क राख्दै आएका छन्। संघ भित्र दिनानुदिन विकृतिहरु बढ्दै गएको भन्दै चिन्ता प्रकट गर्नेहरु पनि तमाम छन्। यो चुनावि दौडमा जसले बाजी मारेपनि खाडिमा एनआरएनएप्रति देखिएको वितृष्णालाई मेटाउन प्रभावकारी योजना ल्याउनुपर्ने देखिन्छ।

कतारलगायत खाडी मुलुकहरुमा काम गर्ने नेपालीहरूको एनआरएनए प्रतिको सोच सकारात्मक भन्दा नकारात्मक बढी देखिन्छ। बेला बखत विभिन्न टिका टिप्पणीहरु पनि सुनिन्छन्। धेरैले एनआरएनएलाई हुने खाने पैसावालहरुको संस्था भनेर चिन्ने गर्छन्।कतिपयले खाडी मुलकमा एनआरएनएको आवश्यकता नभएको तर्क राख्दै आएका छन्। संघ भित्र दिनानुदिन विकृतिहरु बढ्दै गएको भन्दै चिन्ता प्रकट गर्नेहरु पनि तमाम छन्। यो चुनावि दौडमा जसले बाजी मारेपनि खाडिमा एनआरएनएप्रति देखिएको वितृष्णालाई मेटाउन प्रभावकारी योजना ल्याउनुपर्ने देखिन्छ।

एनआरएनए कतारका लागि तय गरिएको चुनावी क्यालेण्डर अनुसार आगामी अगष्ट २३ तारिखमा मतदान र अगष्ट ३० मा अधिवेशन सभा हुनेछ।कतारमा ४ हजार २ सय ९८ जना मतदाता रहेका छन्।

कतारमा एनआरएनए आधिकारिक रुपमा सूचिकृत भैसकेको छैन। जसले गर्दा निर्वाचन गराउन निकै गाह्रो हुने देखिन्छ । यो निर्वाचनमा मतदाताहरुको संख्या पनि विगतका वर्षको तुलानामा बढी छ ।

कतारस्थित नेपाली दूतावासमा सूचिकृत रहेको यहाँको एनआरएनए नेपाली माझ भने क्रियाशील छ। दूतावाससँगको समन्वयमा यहाँ एनआरएनएका गतिबिधि हुने गरेका छन्। अघिल्लो वर्षको निर्वाचन पनि दूतावासमै भएको थियो । तर, यसपालि मतदाताको संख्या धेरै भएकोले पनि निर्वाचन सम्पन्न गराउनु चुनौतीको विषय बनेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *