लिबिया संकटः सर्वसाधारणमाथि आक्रमण नगर्न युनिसेफको आग्रह

डिसी नेपाल
२२ साउन २०७६ १८:४१

त्रिपोली (रासस/सिन्ह्वा) । संयुक्तराष्ट्र बालकोष (युनिसेफ) ले सर्वसाधारण जनतामाथि जथाभावी आक्रमण नगर्न लिबियाका द्वन्द्वरत पक्षलाई आग्रह गरेको छ । लिबियामा हाल राष्ट्र संघको समर्थनप्राप्त सरकार र पूर्वीक्षेत्रमा सक्रिय विद्रोही लडाकूबीच सशस्त्र संघर्ष जारी छ ।

निसेफद्वारा जारी विज्ञप्तिमा लिबियाको दक्षिणीमा रहेको मुर्जुक शहरमा भएको एउटा आक्रमणमा मारिएका अधिकांश व्यक्तिमा महिला र बालबालिका परेकामा खेद व्यक्त गरिएको छ ।

वक्तव्यमा महिला र बालबालिकासमेतका निहत्था जनतामाथि कुनै पनि किसिमबाट आक्रमण नगर्न युनिसेफ युद्धरत दुबै पक्षसँग आग्रह गर्दछ भनिएको छ । गत आइतबार मुर्जुकमा भएको हवाई आक्रमणमा ४० जनाभन्दा बढी सर्वसाधारणको ज्यान जानुका साथै ५० जनाभन्दा बढी घाइते भएका थिए । लिबिया सरकारले उक्त आक्रमणको निन्दा र भत्र्सना गरेको छ ।

सरकारले राष्ट्रसंघलाई उक्त आक्रमणको स्वतन्त्र छानबिन गरी अपराधीमाथि गम्भीर मानव अधिकार उल्लंघनको आरोपमा मुद्दा चलाउन आग्रह गरेको छ । लिबियाली सेनाले भने शहरमा अखडा जमाएर बसेका चाडका लडाकूलाई केन्द्रित गरेर हवाई आक्रमण गरेको जनाएको छ । सेनाले मुर्जुक शहरलाई गत फेब्रुअरीदेखि नियन्त्रणमा लिइराखेको छ । गत अप्रिलदेखि लिबियाको त्रिपोलीलाई केन्द्र बनाएर भिषण युद्ध जारी छ ।

यसक्रममा एक हजारभन्दा बढीको ज्यान गइसकेको छ भने पाँच हजार ७०० घाइते भएका छन् । युद्धबाट ज्यान जोगाउन करिब एक लाख २० हजार मानिस आफ्ना घर छाडेर अन्यत्र विस्थापित भएका छन् । लिबियाली संकटमा विश्व जनमत नै पूर्वी र पश्चिमी सरकारको समर्थनमा विभाजित छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *