पाकिस्तानी पूर्व प्रधानमन्त्री सरिफकी छोरी पक्राउ

डिसी नेपाल
२३ साउन २०७६ १६:४३

इस्लामावाद (एजेन्सी) । पाकिस्तानमा भ्रष्टाचार नियन्त्रणसम्बन्धी निकाय नेशनल एकाउन्टबिलिटी ब्यूरो एनएबीले पाकिस्तान मुस्लिम लिग नवाजकी उपाध्यक्ष मरियम नवाज शरिफलाई पक्राउ गरेको छ ।

उनी पूर्वप्रधानमन्त्री नवाज शरिफकी छोरी हुन् । एउटा चिनी उद्योगसम्बन्धी मुद्दामा मरियमलाई पक्राउ गरिएको हो । भ्रष्टाचार गरेको आरोप पुष्टि भएपछि जेलजीवन बिताइरहेका आफ्ना बुवा नवाजलाई भेट्न गएको बेला मरियमलाई पक्राउ गरिएको हो ।

एनएबीले बिहीवार दिउँसो तीन बजेसम्म उपस्थित हुन मरियमलाई भनेको थियो । मरियमलाई एउटा प्रश्नावली दिइएको थियो र त्यसमा चौधरी सुगर मिलसँग सम्बन्धित प्रश्नहरू थिए । ती सबै प्रश्नको जवाफ उनले बिहीवार तीन बजेसम्म दिनुपर्ने थियो । पाकिस्तानी सञ्चारमाध्यमहरूका अनुसार मरियमलाई एनएबीको मुख्यालय लगिएको छ । यसअघि नै एनएबीले मरियमलाई उपस्थित हुन पक्राउ पुर्जी जारी गरेको थियो । त्यसअघि जुलाई ३१ तारिखमा उपस्थित भई उनले बयान दिएकी थिइन् ।

चौधरी सुगर मिलमा सन्दिग्ध व्यापारिक लेनदेनबारे उक्त बयान केन्द्रित थियो । चौधरी सुगर मिलमा मरियमको सबैभन्दा धेरै शेयर छ । राजनीतिक अस्थिरिता रहेको पाकिस्तानमा पूर्व राजनीतिकर्मीहरु भ्रष्टाचार आरोपमा लगाता पक्राउ परिरहेका छन् ।

इमरान खान प्रधानमन्त्री बनेपछि पूर्वराष्ट्रपति असर्फ अली जर्दारी पछि पक्राउ पर्ने मरियम दोस्रो ठूली नेता रहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले बताएका छन् । मरियमका बाबु हाल जेलमा छन् । उनी पनि पटक पटक पक्राउ परेका थिए ।

पाकिस्तानीमा राजनीतिक प्रतिशोध साध्न पनि विपक्षी नेताहरुललाई भ्रष्टाचार आरोपमा पक्राउ गर्ने गरिएको विपक्षीहरुले सरकारमाथि आरोप लगाउँदै आएका छन् । इमरान सरकारले भने भ्रष्टाचारविरुद्ध कडा कारबाही गरिने भन्दै अभियान नै थालेको बताउने गरेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *