संसदमा सांसदका रोचक प्रस्तुति : एसी बिग्रेकोदेखि मन्त्रालय छिर्न नपाएको गुनासो

डिसी नेपाल
२३ साउन २०७६ १८:२८

काठमाडौं। प्रतिनिधिसभाको शून्य समयमा बोल्दै सांसदहरुले बैठक कक्षको एअर कण्डिसन बिग्रिएको देखि शून्य र विशेष समयमा उठेका विषयमा सरकार र सम्बन्धि मन्त्रीबाट सम्बोधन हुन नसकेको भन्दै सम्बन्धीत निकायलाई निर्देशन दिन सभामुखको ध्यानाकर्ष गराएका छन् ।

प्रतिनिधिसभाको विहीबारको बैठकको शुन्य समयमा बोल्दै काँग्रेस सांसद सुजता परियारले प्रतिनिधिसभा बैठक कक्षको एअर कण्डिसन बिग्रिएकातर्फ सभामुखको ध्यानाकर्षण गराउँदै सम्बन्धित निकायलाई तत्काल निर्देशन गर्न माग गरिन् ।

उनले भनिन्, ‘सुनिन्छ एसिमा पानी छैन । पानी सकिएर एसि नचलेको । सचिवालयबाट लिएको भाडाले पानी किन्न नसकेको हो कि ? पानी पेट्रोल भन्दा महंगो भएको हो ? तीन–तीन दिनसम्म पनि एसि बनाउन नसक्नु सरासर लापरवाही हो । त्यसैले सभामुख मार्फत तत्काल सम्बन्धीत निकायलाई निर्देशन होस भनि अनुरोध गर्न चाहन्छु ।’

काँग्रेस कोषाध्यक्ष सिता देवी यादवले बाढी प्रभावितका लागि सरकारले उचित व्यवस्था गर्न नसकेको भन्दै अबिलम्ब राहतको व्यवस्था गर्न माग गरिन्।

सांसद सुदन किराँतिले सबैतर्फ वेथितिहरु देखा परेको भन्दै ‘वेथितिले सिमा नाघ्यो । सहने शक्ति कहाँबाट आर्जन गरुँ ?’ भनी प्रश्न गरे । उनले भने, ‘आज ११ बजेर ३० मिनेट जादा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय पुगेको थिएँ । कर्मचारीहरुले मन्त्रालय पस्ने बाटो अवरुद्ध गरेर पस्न दिएनन् । किन भने गाउँपालिका र नगरपालिकाले उहाँहरुलाई हाजिर गराउनुभएको रहेनछ ।’

उनले थेप, ‘दुरदराजका वडाहरुमा कर्मचारीको अभावमा ६ वटा वडा एउटै सचिवले चलाउनुपरिरहेको र कर्मचारीको अभावमा जनताको नाममा गएको बजेट फ्रिज भएको छ । काठमाडौंभन्दा १० गुणा ठूलो एउटा वडा पहाडमा छ । जहाँ यातायात छैन र टेलिफोन सम्पर्क पनि समयमा हुन सक्दैन । जनताले तिरेको करबाट तलब खाने नेपाल सरकारको कर्मचारीलाई देशको कुना कन्दरामा छिटो पठाउनुपर्यो । होइन भने जागिरबाट २४ घण्टा भित्र बरखास्त गरेर हजारौं बेरोजगार युवाहरुलाई करारमा भर्ना गरेर देशलाई अगाडि बढाउनुपर्यो ।’

सांसद स्मृतिनारायण चौधरी ले बाढी पहिरो र डुबानका कारण सबै भन्दा प्रदेश नम्बर २ प्रभावित भएको भन्दै प्रभावितलाई उपयुक्त किसिमको राहत उपलब्ध गराउन सरकारसंग माग गरे।

सांसद ज्ञान कुमारी छन्त्यालले साउन १८ गते रातीदेखि मध्य पहाडी लोकमार्गको झण्डै २ सय मिटर सडक भत्किएका कारण सवारी साधन संचालनमा समस्या देखिएको भन्दै त्यस तर्फ सरकारको गम्भीर ध्यानाकर्षण गराइन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *