मोदीको सम्बोधन, देशवासीमा एकताको आव्हान, पाकिस्तानबारे बोलेनन्

डिसी नेपाल
२३ साउन २०७६ २१:०५

नयाँ दिल्ली। जम्मू कश्मीरको विशेषाधिकार खारेजपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पहिलो पटक देशवासीका नाममा सम्बोधन गर्दै राष्ट्रिय एकताको आव्हान गरेका छन्। बिहीबार अबेर देशवासीका नाममा सम्बोधन गरेका मोदीले जम्मू कश्मीर र लद्दाखमा छिटै चुनाव गराउने प्रतिवद्धतासमेत गरेका छन्। उनले जम्मू कश्मीरको विकासका लागि नयाँ व्यवस्था गरिएको दावीसमेत गरेका छन्।

मोदीले सरकारले गरेको नयाँ व्यवस्थाले जम्मू कश्मीरलगायत पूरा भारतको विकास हुनेसमेत दावी गरे। उनले जम्मू कश्मीरको विकासको बाधाका रुपमा रहेको संवैधानिक व्यवस्था हटाएको भन्दै सो विषयमा राष्ट्रिय एकताको आवश्यकता रहेको बताएका छन्।

उनले संसदमा पक्षविपक्षमा भए पनि जम्मू कश्मीरको अवस्था सुधार गर्न सबैको एकता हुनुपर्नेमा जोड दिएका छन् । उनले भनेका छन्, ‘संसदमा पक्ष विपक्षमा भए पनि अब आगामी दिनका लागि एकजुट हुनुपर्ने आवश्यकता छ । सदनमा भएको मतभेद र देशमा रहेको मतभेदको सम्मान गर्छु । तर, देशको हितलाई सर्वोपरी राखेर चल्नु पर्छ।’

मोदीले जम्मू कश्मीरको अवस्था छिटै सुधार आउने भन्दै केही समयका लागि दुबै नयाँ प्रदेश केन्द्र शासित रहने बताए । उनले अवस्थामा सुधार आएपछि चुनाव हुने भन्दै त्यसपछि केन्द्र शासित नहुनेसमेत बताएका छन्।

करिब ४० मिनेको सम्बोधन गरेका मोदीले आफ्नो सम्बोधनका क्रममा पाकिस्तानबारे भने कुनै चर्चा गरेनन्। भारतले गत सोमबार जम्मू कश्मीरलाई विशेषाधिकार दिने भारतीय संविधानको धारा ३७० खारेज गर्दै जम्मू कश्मीरलाई विभाजन समेत गरेको थियो। जम्मू कश्मीरलाई विभाजन गरेर लद्दाखलाई नयाँ प्रदेश बनाइएको थियो। दुबै प्रदेश केन्द्र शासित रहने विधेयकसमेत भारतीय दुबै सदनबाट पारित भइसकेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *