पहिरोका कारण अन्द्राडीवासीलाई उठीवासको चिन्ता

डिसी नेपाल
२४ साउन २०७६ ११:२३

बाजुरा। गाउँको बीचमा पहिरो बग्न थालेपछि अन्द्राडीको सिङ्गो गाउँमा नै उठीवासको चिन्ता बढेको छ। बाजुराको गौमुल गाउँपालिका–१ मा पर्ने अन्द्राडी गाउँको बीच भागबाटै पाँच दिनयता नियमित पहिरो बग्न थालेपछि सिङ्गो गाउँ नै उठीवास लाग्ने चिन्ता बढेको हो। स्थानीयवासीलाई तत्काल अर्को स्थानमा सार्ने नजिक ठाउँ पनि छैन।

अन्द्राडी जिल्लाकै सर्वाधिक विकट र दुर्गम गाउँ हो । जिल्ला सदरमुकाम मार्तडीबाट पैदल हिँडेरै दुई दिन लाग्ने गर्छ। गाउँपालिकाको केन्द्र घटमुनाबाटै हिँडेर डेढ दिन लाग्ने गरेको अन्द्राडी नजिकै अम्लीसगाउँका स्थानीयवासी हिक्मत रोकायाले बताए। गाउँमा ३५ परिवारको बसोबास छ। तलतिर खोला र माथि जङ्गलसहितको पहाड छ। माथिको पहाड पहिरोसँगै बग्न थालेपछि सिङ्गो गाउँ नै त्रसित बनेको छ । रातभर ननिदाएरै जागराम बस्नुपरेको स्थानीयवासी धनबहादुर बोहराको भनाइ छ।

गएको आइतबार रातिबाट पहिरो बग्न थाले पनि गाउँपालिकालाई दुई दिन ढिलो गरी जानकारी गराइएको हो भने स्थानीय प्रशासन र अन्य निकायले पनि ढिलो गरी जानकारी पाएका हुन्। पहाडको भित्री खोंचमा पर्ने गाउँ टेलिफोन सेवाको समेत पहुँच छैन। टेलिफोन सम्पर्कका लागि अर्को स्थानमा गएर सम्पर्क गर्नुपर्ने बाध्यता स्थानीयवासीसँग रहेको छ।

गाउँका १५ घरपरिवार एकातिर र अरु परिवार एकातिर हुने गरी बीचमा पहिरो बगिरहेको छ। तीमध्ये १३ परिवारले तत्काल घर छाड्नुपर्ने अवस्था छ। नजिकै गोठ छाना पनि नभएको र सबै परिवार गएर बस्न मिल्ने ठूलो चौर नहुँदा घरमै बस्नुपर्ने बाध्यता रहेको स्थानीयवासीको दुखेसो छ।

सिङ्गो घर छोडेर टाढा जाने अवस्था पनि छैन, भएभरको श्रीसम्पत्ति घरमै छ, त्यो सबै त्यागेर अन्यन्त्र जान पनि स्थानीयवासी तयार नरहेको धनबहादुर बोहराले बताए। स्थानीयवासी पानी आए पनि नआए पनि रातको समयमा जागराम बस्ने गरेका छन्। ढिलोचाँडो जे भए पनि सिङ्गो गाउँ पहिरोसँगै बग्ने अवस्था छ।

गाउँपालिका उपाध्यक्ष सीता थापा भने पहिरोको अवस्था अध्ययन गरेर फर्किएकी छन्। अन्द्राडीसहित अन्य धेरै गाउँहरु उच्च जोखिममा रहेकाले गाउँ कार्यपालिकाको बैठक बसेर आवश्यक पहल गरिने उपाध्यक्ष थापाले बताए। स्थानीय पहिरोको पर्खाइमा बस्नुपरेको जस्तो अवस्था छ। गौमुल गाउँपालिका–६ टुनिमा पहिरो गएर दुई आमाछोरीको मृत्यु भएको दुई दिनपछि अन्द्राडीमा पहिरो बग्न शुरु भएको हो।

घाम लागेको बेला रोकिएजस्तो भए पनि पानी पर्ने बित्तिकै पहिरो बग्ने गरेको छ। जोखिम बढ्दै गएकाले स्थानीयवासीलाई अर्को स्थानमा सार्न पहल थालिएको वडा सदस्य हर्क बोहराले जानकारी दिए। पहिरोकै कारण यतिबेला जिल्लाका सयौँ बस्ती उच्च जोखिममा छन् । एकीकृत बस्ती विकास गर्ने भनिए पनि राज्य मौन देखिएको छ। रासस


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *